कुन फिल्डमा गए हाकिम ?

  प्रकाशित मिति
१३ बैशाख २०७३, सोमबार ०३:४०


bhu samraksan

विर्तामोड, १३ बैशाख । आइतवार विहान ११ः१५ बजेतिर विर्तामोडस्थित लोकतन्त्रको कार्यालयमा फोन आयो–‘भूसंरक्षण कार्यालयमा कर्मचारी छैनन्, मिडियाले पनि हेरिदिनु पर्यो ।’

फोन गर्ने व्यक्ति भूसंरक्षण कार्यालय पुगेकी महिला सेवाग्राही थिइन् । काम विशेषले त्यहाँ जाँदा कर्मचारी नभेटिएपछि लोकतन्त्रले समाचार लेखोस् भन्ने सोचेर पत्रिकाको कार्यालयमा फोन गरेकी रहिछन् ।

‘कति जना छन् त कार्यालयमा अहिले ?’–यताबाट सोधियो ।

उनले भनिन्–‘एक जना पियन महिला मात्र उपस्थित हुनुहुन्छ, जम्मा कर्मचारी १० जना अरे ।’

‘तपाई त्यहाँ कतिबेर पुग्नु भएको हो ?’–फेरि सोधियो ।

‘म १० बजे नै आइपुगेको हुँ, एक घण्टा भइसक्यो कुरेर बसेको, कोही पनि आउँदैनन्’–सेवाग्राहीले सुनाइन् ।
उनैले दिएको सूचना पछ्याउँदै विर्तामोडबाट चन्द्रगढी गइयो । भूसंरक्षण कार्यालयको लेखा फाँटमा पुग्दा १२ः१० बजेको थियो ।
‘हाकिम सा’प हुनुहुन्छ ?’–कुर्सीमा बसेका एक जनालाई सोधियो ।

‘फिल्डमा जानु भएको छ’–जवाफ सुनियो । उनी लेखापाल बाबुराम पोखरेल रहेछन् । सरल, मिजासिला स्वाभावका उनले हाँस्तै हाँस्तै बताए ।

‘म चाहिँ पत्रकार हुँ, लोकतन्त्र पोस्टको’, परिचय बताउँदै भनियो–‘कार्यालयमा कर्मचारी उपस्थित छैनन् भन्ने सूचना आएपछि के भएको रहेछ भनेर बुझ्न आएको नि !’

उनले चिया खाने प्रस्ताव राखे । हुँदैन भनिएन, कुरो खोज्न पनि छाडिएन । अलि बढी जानकारी दिनका लागि कार्यालयकै कर्मचारी प्राविधिक सहायक सीता गुरागाइँ अघि सरिन् । जिविस र पत्रकार महासङ्घ झापाले हालसालै सूचना अधिकृतका लागि आयोजना गरेको कार्यशालामा भाग समेत लिएको बताउने गुरागाइँले फटाफट सूचना दिइन् ।

उनको जानकारीबाट पनि पुष्टि भयो विहान कार्यालय खुलेको धेरैबेरसम्म कार्यालयमा कमला यादव नामकी करारमा नियुक्त कार्यालय सहायक मात्र हाजिर थिइन् । अरु कर्मचारी कोही हस्पिटल, कोही कोलेनिका, कोही फिल्ड र कोही विदामा गएको बुझियो ।

वीएन्डसी हस्पिटलमा उपचारका लागि पुगेर फर्किएको जानकारी दिदै प्राविधिक सहायक गुरागाइँ साढे ११ बजेतिर मात्र कार्यालयमा आइपुगेकी थिइन् भने कोलेनिका पुगेर फर्किदा ढिलो भएको बताउने लेखापाल पोखरेल पनि त्यही समयमा कार्यालयमा आएका थिए ।

२ जना करारका गरी कूल १० जना कर्मचारी कार्यरत रहेको जिल्ला भूसंरक्षण कार्यालय झापामा सहायक भूसंरक्षण अधिकृत हरिबहादुर योञ्जन र इन्जिनियर नागेन्द्र साह ६ दिने घर विदामा बसेको र शुव्रmवार विदा सकिएकाले आइतवार हाजिर भइसक्नु पर्ने कर्मचारी गुरागाइँले बताइन् ।

कुराकानी चल्दाचल्दै एक बजजेतिर सहायक भूसंरक्षण अधिकृत योञ्जन टुप्लुक्क आइपुगे । अर्का इन्जिनियर साहको पत्तो थिएन ।
नायव सुव्वा इन्द्रप्रसाद शिवाकोटी अख्तियारको निलम्वनमा परेका रहेछन् भने कार्यालय सहयोगी गोमा आचार्य पाठेघर सम्बन्धी समस्याका कारण उपचारका लागि १५ दिने विदामा रहिछन् । कार्यालयका सवारी चालक लक्ष्मीकान्त फँुयल हाजिर गरेर प्राय घरमै बस्ने गरेका रहेछन् ।
कार्यालयको गाडी बिग्रिएर थन्किएकाले चालक फुँयल काम नभएर घर बस्ने गरेका रे । ‘काम पर्दा र बोलाउँदा उहाँ पनि कार्यालयमा आउनु हुन्छ’–घर बसीबसी सरकारी जागिर खाँदै आएका फुँयलको बारेमा जानकारी पाइयो ।

अब बाँकी रहे–कार्यालयका हाकिम प्रमुख भूसंरक्षण अधिकृत हृदयकुमार झा र कार्यालय सहायक बेदप्रसाद गौतम । ‘बेदप्रसादलाई साथमै लिएर हाकिम सा’प फिल्डमा जानु भएको छ’–लेखापाल बाबुराम पोखरेल र प्राविधिक सहायक सीता गुरागाइँको एउटै स्वर थियो ।
‘कुन फिल्डमा के कामले जानु भएको हो ?’–हाकिमको ड्युटीतिर प्रश्न सोझ्याइयो ।

लेखापाल पोखरेलले खुदुनावारी र प्राविधिक सहायक गुरागाइँले शनिअर्जुनतिर फिल्डमा कार्यालय प्रमुख झा गएको फरक फरक दावी गरे ।
‘हाजिर गरेर जानु भएको हो कि ?’–प्रश्न थप गरियो ।

हतारिदै प्राविधिक सहायक गुरागाइँले जवाफमा भनिन्–‘तपाइँले सोधी हाल्नु भयो कि सर, फिल्डमा जाँदा हाजिर गर्नु पर्दैन । एकैचोटी फिल्ड रिपोर्ट ल्याउँदा भइहाल्छ ।’

लेखापाल पोखरेलले हरेक दिन फिल्डमा जाँदा हाकिमले १६०० रुपैयाँ, प्राविधिक सहायक गुरागाइँले १२०० रुपैयाँ र अरु तल्ला स्तरका कर्मचारीलेले १००० रुपैयाँ फिल्ड भत्ता पाउने जानकारी दिए ।

शनिअर्जुनको सिंहवाहिनी जल उपभोक्ता समितिले ड्याम बनाउनु पर्ने भएकाले नापजोख गर्न सहयोगीसहित कार्यालय प्रमुख झा हिजैदेखि फिल्डमा गएको प्राविधिक सहायक गुरागाइँले दोहोर्याइन् ।

‘त्यसो भए सिंहवाहिनी समितिका अध्यक्षको फोन नम्वर पाउँ, म आफै बुझ्छु, हाकिम सा’प के कति कामले जानु भएको रहेछ’–उनलाई भनियो ।

सुरुमा त नम्वर छैन भनियो, तर फेरि मागेपछि मोवाइल ओपन गरेर गुरागाइँले ‘त्यहाँ नभए उता पनि जानु भएको हुनसक्छ’ भन्दै खुदुनावारीको हलुवागढ सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष चव्रm तामाङको ९८१५९८९५५०, शनिअर्जुनको डीएमसीका अध्यक्ष केदार पराजुलीको ९८५१११३०९९ र सिंहवाहिनी जल उपभोक्ता समितिका अध्यक्ष रेशमबहादुर पौडेलको ९८४४६८६२१७ नम्वरको फोन उपलब्ध गराइन् ।

भूसंरक्षणकै कार्यालयमा बसेर तीनै वटा ठेगानामा फोन घुमाइयो । ‘भूसंरक्षण कार्यालयका हाकिम सा’प काम विशेषले त्यहाँ आउनु भएको छ ?’–पालैपालो सोधियो ।

‘गर्मी भएर रुखको छायाँतिर शितल हावा खाँदै पो बसिरहेको छु, भूसंरक्षणका हाकिम सा’प त यता आउनु भएकै छैन’–सिंहवाहिनीका अध्यक्ष रेशमबहादुर पौडेलले आइतवार मध्यान्ह १२ः३५ बजे फोन सम्पर्कमा लोकतन्त्रसँग भने ।

त्यसैगरी, लगत्तै १२ः४६ बजे हलुवागढका अध्यक्ष चव्रm तामाङलाई पनि फोन सम्पर्कमा सोधियो–‘भूसंरक्षणका हाकिम सा’प त्यता आउनु भएको सुनियो, के कामले आउनु भएको होला ?’

अध्यक्ष तामाङले आफु अलि बिसञ्चो भएको जनाउँदै जवाफ दिए–‘कहाँबाट यहाँ आउनु र, म त विरामी भएर आराम गरिरहेको छु ।’
डीएमसीका अध्यक्ष केदार पराजुलीले पनि भूसंरक्षण कार्यालयका प्रमुख झा आफ्ना ठाउँतिर नआएको जानकारी दिए ।

‘हो रहेछ नि फिल्डमा जानु भएको ?’, कार्यालयका प्राविधिक सहायक गुरागाइँले हौसिदै भनिन्–‘अझै नपत्याए हाकिम सा’पलाई पनि फोन गर्नु भए हुन्छ ।’

कार्यालय प्रमुख झाको ९८५२६७८९१६ नम्वरमा सम्पर्क गरेर सोधियो–‘नमस्ते है हाकिम सा’प, हजुर कता हुनुहुन्छ ?’
सोध्नेको परिचय लिइसकेपछि कार्यालय प्रमुख झाले नलप्काइकन भने–‘अहिले म सिंहवाहिनीको फिल्डमा छु ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: