दमक, ३ चैत । कोरोनाको संक्रमणदर जिल्लामा शुन्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । जसले कुरिलो खेती गर्ने किसानहरु चिन्तित बनेका छन् ।
जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यवसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । जसबाट विगतमा मनग्य आम्दानी समेत गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् ।
दमक नगरपालिका–३ मा योङहाङ एग्रो फर्म प्रालिले दैनिक जसो ५० केजी बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । तर, कोभिडको संक्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए ।
“कोरोना कालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे” उनले भने, “अरु तरकारीको तुलनामा महंगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वको बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो ।”
योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो । सुरुका दिनमा प्रतिकेजी रु एक हजार ४०० मा बिक्री गरेको कुरिलो हाल होलसेल मूल्य ४०० ले बिक्री गरिरहेको उनीहरुको भनाई छ ।
योङहाङले दैनिक जसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्ला बाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए ।
उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने भए पनि अन्य तरकारीको तुलनामा महंगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए ।
उनले मिहनेत गरेर उत्पादन गरेको कुरिलोको टुसा नास हुन नदिनका लागि सस्तो दर रेटमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको बताए ।
“खेर जान दिनु भन्दा त सस्तो मूल्यमा बिक्री गरे पनि थोरै आम्दानी त हुन्छ”, उनले भने, “निरास छैनौं बजारको खोजीमा छौं । कुरिलोको गुण र महत्वको बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छौँ ।’