जन्मपछि अनि मृत्युअघि जीवन जिउने व्रmममा मानिसका बेग्लै भोगाई छन् । जीवन जिउने अनि जीवन भोग्ने यो अनुभवलाई मानिसले फरक फरक दृष्टिकोणका साथ आफ्नो जीवन समीक्षा गर्छन् । सम्पन्नतादेखि विपन्नतासम्मको दुरी अनि खाडलको आआफ्नै व्याख्या अनि परिभाषा भए पनि हिन्दी फिल्म ‘तित्ली’ले चाहिँ विशुद्ध विपन्नताको कथा फलाक्छ ।
राजश्री प्रोडक्सनको फिल्ममा झै तित्लीका परिवार तन, मन, अनि धनले खुसी छैनन् । सुरज बडजात्या निर्देशित फिल्मका पात्र झै मनमुटावविहिन अनि नैतिकताले ओतप्रोत पात्र यहाँ खोजेर पाइँदैनन् । निर्देशक कनु बहल निर्देशित ‘तित्ली’का परिवार अभाव, सङ्कट अनि द्वन्द्वमा जीवनयापन गरिरहेको छ । वैज्ञानिक चाल्र्स डार्विनले भने झैँ अस्तित्वको लडाई लड्न तित्लीको परिवार दिनरात सङ्घर्षरत छ । द्वन्द्वको यो श्रृङ्खला दिनानुदिन बढ्दो छ । कारण समय, व्यवस्था अनि नैतिक स्तरको खाल्डो दिनानुदिन गहिरिँदो छ । यो परिवारको हिंसाको दृश्य हेर्न सिनेमा हलमा उपस्थित दर्शक डिस्टर्ब हुन्छन् अनि यिनीहरूको उपस्थिति दर्शकको निम्ति खतरा अनुभूत हुन्छ ।
दिल्लीको एउटा परिवारमा तिन भाइ मध्येको कान्छो भाइको नाम हो तित्ली (शंशाक अरोरा) । उसकी आमाले दुई छोरा पश्चात तेस्रो सन्तानको रुपमा छोरीको चाहना राखेकोले छोरा नै जन्मदा उसको नाम छोरीको झैँ ‘तित्ली’ राखेर मन बुझाउँछे । ‘तित्ली’ अर्थात् ‘पुतली’ जसको शाब्दिक अर्थ नै श्रृङ्गारसँग जोडिएको छ, तर फिल्म हेरेपछि दर्शकले ‘तित्ली’ शब्दको विपरीत अर्थ पाउँछन् । पर्दामा देखिने ‘तित्ली’मा सौन्दर्य हैन, वल्की हिंसा सल्वलाउँछ । जेठा छोरा विव्रmम (रणवीर शौरी) र माहिला छोरा बावला (अमित सियाल) सानोतिनो काम गर्दा जिविका नचल्ने ठानेर हाइवेमा लुटपाट मच्चाउन सिक्छन् । अनि बेलामौकामा उनीहरूको साथ दिने एक पात्र हुन्छ ‘तित्ली’ । तर, तित्ली हिंसाको यो दलदलबाट उम्कन चाहन्छ । दुई भाइलाई तित्लीको यो कुराको आभाष हुन्छ अनि उनीहरूले तित्लीको बिहे नीलु (शिवानी रघुवंशी)सँग गरिदिन्छन् । तित्लीको बिहेको पछि उनीहरूको उद्देश्य तित्लीलाई घरबाट भाग्न नदिनु अनि आफ्नो टिममा एउटी केटीको माग पनि पुरा गर्नु हो । तर नीलु यसमा सहमत छैन । कारण उसको यो बिहे जबरदस्ती भएको छ । ऊ तित्लीलाई हैन प्रिन्ससँग प्रेम गर्छे । यसैबिच तित्ली र नीलुबिच एउटा सहमति हुन्छ जसको उद्देश्य यस नारकीय जीवनबाट मुक्ति मिलोस् भन्ने हुन्छ ।
निर्देशक कनु बहल र शरत कटारियाले मिलेर लेखेको यो कथाले जिन्दगीमा बढिरहेको असमानता अनि भविष्यमा देखा पर्न सक्ने भयावह पारिवारिक सामाजिक स्थितितर्फ इशारा गर्दछ । समाजमा धनी र गरीबबिच खनिएको अनि दिनानुदिन बढिरहेको खाडलले उब्जाएका समस्याको ऐना हो ‘तित्ली’ । धनी अझ धनी बन्दै जाने अनि गरीब अझै गरीब बन्दै जाने हाम्रो अर्थनीति, राजनीति अनि सामाजिक परिवेशको प्रतिबिम्ब हो ‘तित्ली’ । हाम्रो समाजमा जतिसुकै सपिङ कम्प्लेक्स अनि सुन्दर हाइवेको निर्माण भए पनि त्यसमा दबिएका घृणा, शोषण अनि अत्याचारले समाजलाई कुन दिशा तर्फ अग्रसर बनाइरहेको छ, त्यस तर्फ कुनै सामाजिक अनि राजनीतिक अगुवाहरूको ध्यान गएको छ ? यो प्रश्न उजागर गरेको छ ‘तित्ली’ले । यसतर्फ बेलैमा ध्यान नगए कहाँसम्मको दुर्र्दशा बेहोर्नु पर्ने हो विचारणीय छ ।
परिवार अनि पारिवारिक सदस्य गलत हुँदैनन्, गलत हुन्छ त परिस्थिति जसको कारण उनीहरू घिनलाग्दा अनि डरलाग्दा बन्छन् । अस्तित्वको लडाईमा जुनसुकै पनि कदम उठाउन मानिस विवश बन्छ । टाउको फुटाउनु, लुटपाट मच्चाउनु, हत्या गर्नु बाहेक पैसाको निम्ति आफ्नै श्रीमतीको हात भाँच्न पनि पछि पर्दैन मान्छे । पैसा अनि समृद्ध जीवनको निम्ति आफ्नी श्रीमतीलाई परपुरुषको अँगालोमा देख्न पनि मानिस पछि पर्दैन । जब मान्छेलाई विवशताले घेर्छ ।
निर्देशक कनु बहलले फिल्मलाई भरसक वास्तविकतासँग राख्न सफल भएका छन् अनि यो वास्तविकताले दर्शकलाई विचलित बनाउन सक्छ । फिल्मले दर्शकलाई सोच्ने गरी धेरै कुराहरू छोडेर जान सफल भएको छ । फिल्मको ब्याकग्राउन्ड सङ्गीत नगण्य रहेको छ । वातावरणमा आउने आवाज नै यसका ब्याकग्राउन्ड सङ्गीत हुन् । जसले फिल्मलाई अझ वास्तविक बनाएको छ । फिल्ममा दर्शकले सकरात्मक पात्र पाउँदैनन् । सबै पात्र आफूमै अल्झिएका छन् अनि यो उल्झनबाट निस्कन जुनसुकै हदसम्म गिर्न सक्छन् । अन्त्यमा तित्ली र नीलुले जिन्दगीलाई नयाँ शुरुवातसँग जिउने निर्णय गर्नाले धेरथोर फिल्म आशावादी सन्देशको साथ टुङ्गिन्छ ।
अभिनयको मामलामा कसैको अभिनयलाई दर्शकले अभिनयभन्दा मान्न सक्दैनन् । पात्र आफै जीवन्त छन् । रणवीर शौरी बाहेक अन्य कलाकार नयाँ लाग्छन् । यो नै कथाको डिमान्ड थियो भन्न सकिन्छ ।
सन् २०१४ मै बनेको ‘तित्ली’को ‘बलिउड रिलिज’ ३० अक्टुवर २०१५ मा भएको थियो । कान्स फिल्म फेस्टिवलमा समेत केही विधामा पुरस्कार जित्न सफल ‘तित्ली’ले रिजिल भएको पहिलो सातामै पौने २ करोड भारु कमाउन सफल भएको थियो ।
साहरुख खानको ‘दिलवाले’, रणवीर सिंहको ‘बाजीराव मस्तानी’ हेर्न उर्लेको भीडबाट बचेर ‘तित्ली’ हेर्न जो कसैको बसमा छैन । कारण समाजको विकृत रुप हेर्ने हिम्मत जो कसैसँग नहुन पनि सक्छ ।