कुसन बनाउने तालिम सकियो

  प्रकाशित मिति
८ श्रावण २०७३, शनिबार १६:०८


बिर्तामोड । बिर्तामोडस्थित उन्नतिशील महिला बचत समूहको आयोजनामा महिलाहरुको आर्थिक तथा सीप विकासका लागि एक महिने गुडिया तथा कुसन बनाउने तालिम शनिबार सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा बचत समूहका २० जना महिलाले तालिम लिएका थिए । उनीहरुलाई बन्दना नेम्वाङले एक महिनासम्म तालिम दिएकी हुन् । ‘अरुको घरमा गुडिया देख्दा बनाउन सिकौँ जस्तै लाग्थ्यो, अहिले घरमा ८÷१० प्रकारका गुडिया सजाएर राख्न सक्ने भएकी छु,’ तालिममा सहभागी अस्मिता खनालले भनिन्, ‘मलाई मेसिन चलाउनसम्म आउँदैन थियो, अहिले म सक्षम भएकी छु ।’

समूहलाई बिर्तामोड नगरपालिकाले विभिन्न समयमा तालिमका लागि आर्थिक सहयोग गर्दै आएको छ । महिला समूहका सदस्यले नगरपालिकाको सहयोगको प्रशंसा गरे । तालिममा सहभागी तारा कटुलालले भनिन्, ‘म आफैँ केही नजान्ने थिएँ, तन्द्रयाङ र तुन्द्रुङ, सियो र धागो बेकारको तालिमजस्तो लाग्थ्यो, दुई दिनसम्म गरिहेर्दा त मलाई पनि आउन पो थालेछ ! साथीहरुले बनाएजस्तै गुडिया बनाउन सक्ने पो भएँ ।’ तालिमकी प्रशिक्षक बन्दना नेम्वाङले आफूभन्दा ठूलो उमेरका महिलालाई केही कुरा सिकाउन पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘उहाँहरु घरको काम छोडेर आएर भएपनि सिक्नुभयो, यो एकदम राम्रो पक्ष हो ।’

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले महिला समूहलाई च्याउ खेतीका साथै नेतृत्व तथा क्षमता विकास तालिम लिनसमेत आग्रह गरे । तालिम समापन कार्यक्रममा समूहका महिलाले ‘जता हेरे पनि हजुर पूर्वै रमाईलो’ बोलको गीतमा नृत्य गरेका थिए । प्रमुख अतिथि बाँस्तोलाले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

समूहकी अध्यक्ष पार्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कृष्ण बस्नेत, मीना थापा, मैया ढुङ्गेल, पत्रकार लक्ष्मी काफ्ले लगायतले बोलेका थिए । मुना कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन उमा मिश्रले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: