कुस्तीकी ‘गोल्ड मेडलिस्ट’ सदीक्षा राई

  प्रकाशित मिति
२४ फाल्गुन २०७४, बिहीबार ०९:४१


कुस्ती खेलाडी सदीक्षा राईले यसै साता हेटौँडामा भएको राष्ट्रिय कुस्ती प्रतियोगितामा गोल्ड मेडल जितेपछि उनको चर्चा मुलुकभर चुलिएको छ ।
मेचीनगर–२ बाहुनडाँगी घर भएकी १५ वर्षीया सदीक्षा स्थानीय युनाइटेड अङ्ग्रेजी सेकेन्डरी स्कुल बाहुनडाँगीमा कक्षा १० मा अध्ययनरत् छिन् ।
दुई महिना अघिदेखि मात्र प्रतियोगितामा उत्रिन थालेकी उनले छोटो समयमा यति ठूलो सफलता हात पर्ला भनेर कल्पना समेत गरेकी थिइनन् ।
‘मैले मिहेनतपूर्वक खेलेको थिएँ’, कुस्तीप्रति अति समर्पित उनी भन्छिन्–‘गोल्ड मेडल पाएँ ।’

हेटौँडामा ६९ केजी तौलतर्फ उनले कुस्तीको गोल्ड मेडल पाएकी थिइन् । उनको जीवनको यो पहिलो ठूलो सफलता थियो ।
बुबा टिकाराम राई र आमा मालती राईकी छोरी सदीक्षाको जन्म २०५९ कात्तिक २५ गते बाहुनडाँगीमा भएको थियो ।

उनी पढाइमा पनि अब्बल छिन् । पढाइका अलवा भलिबल, व्याडमिन्टन, फुटबल, नृत्यमा पनि उनको उत्तिकै रुची छ । विद्यालयले आयोजना गर्ने खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा उनी सँधैँ अग्रपङ्तिमा हुन्छिन् ।

आगामी बैशाखमा पोखरामा हुने राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारीमा उनी यतिबेला काठमाडौँमा भइरहेको बन्द प्रशिक्षणमा व्यस्त रहेको झापा जिल्ला कुस्ती सङ्घका अध्यक्ष सुदीप थापा मगर बताउँछन् ।

‘सदीक्षाले भविष्यमा अन्तर्राष्ट्रिय ख्याति पाउने छिन् भन्नेमा म ढुक्क छु’, उनका प्रशिक्षक उमेश भण्डारी भन्छन्–‘उनमा अदम्य उत्साह, आत्मविश्वास र मिहेनती स्वभाव छ ।’

खेल र पढाइलाई सँगसँगै अघि बढाउने सोचाइ राखेकी सदीक्षा नेपाली नारीहरुले अवसर पाउने हो भने पुरुषको भन्दा राम्ररी जुनसुकै जिम्मेवारी सम्हाल्न सक्ने बताउँछिन् ।

‘स्वास्थ्यभन्दा ठूलो अर्को धन छैन’, गोल्ड मेडलिस्ट सदीक्षा नारी दिवसको अवसरमा भन्न चाहन्छिन्–‘कुस्ती नै खेल्नु पर्छ भन्ने होइन, तर नारीहरुले पनि खेलकुदको मैदानमा उत्रिनु पर्छ, किनकि यसबाट मेडल मात्र होइन, स्वस्थ जीवनको ग्यारेन्टी पाउन सकिन्छ ।’
खेलकुदप्रति आकर्षित हजारौँ किशोरीहरुको रोलमोडल बनेकी सदीक्षा झापाली खेलकुद जगतकी उदाउँदो तारा भएको बताउँछन् झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा । केही दिन अघि उनलाई समितिले उत्कृष्ट झापाली प्रतिभाको रुपमा सम्मान समेत गरेको थियो ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: