कृषिमन्त्रीलाई मोहित तुल्यायो केशर खेतीले

  प्रकाशित मिति
७ कार्तिक २०७७, शुक्रबार ०८:११


झापा, ७ कार्तिक । प्राकृतिक रुपमा सुन्दर इलाममा पर्यटकीय आकर्षण थप्दै झापा र इलामका युवाले सुरु गरेको केशर खेतीले मन्त्रीलाई पनि मोहित पारेको छ ।

माइजोगमाई गाउँपालिका वडा नं. २ थुम्केमा ६९ रोपनी क्षेत्रफलमा लगाइएको केशरखेती अवलोकन गर्न विहीवार प्रदेश नं. कृषि राज्यमन्त्री राम राना गए ।

प्रदेश सांसद् खिन लुम्बा, इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, माइजोगमाईका अध्यक्ष जितबहादुर राईसहितको टोलीमा पुगेका मन्त्री रानाले भर्खर फुल्न थालेको बैजनी रङको केशरको फुलको पराग समेत टिपे ।

विश्वमा दुर्लभ मानिएको केशर लसुन जस्तो बोटमा फुल्ने गर्छ । समुन्द्री सतहभन्दा २००० मिटरको चिसो हिमाली फाँटमा यसको खेतीपाती हुने गरेको छ ।

नेपालमा ४० वर्ष अघि केशरको बोट भित्राइए पनि यसको व्यावसायिक खेती झापाका वीरबहादुर कटुवाललगायत युवा उद्यमीको समूहले इलामको माइजोगमाई र सन्दकपुर जौबारी क्षेत्रमा गत वर्षदेखि थालेको हो ।

फुलेको केशरको पराग संकलन गरेर सुकाइन्छ । त्यही सुकेको सुगन्धित रेसा किलोको १० लाख रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

प्रदेशका कृषि राज्यमन्त्री रानाले केशर खेतीमा राज्यका तर्फबाट सघाउने आश्वासन दिएका छन् । उनले केशर खेती घुमीघुमी हेरेका थिए भने यसको सम्भावना र समस्याका बारेमा जानकारी लिएका थिए ।

सेफ्रोन मल्टी एग्रीकल्चर प्रोडक्सन प्रालिले यसको खेती गरेको हो । कम्पनीका उपाध्यक्ष शंकर भट्टराईले गत वर्ष उत्पादित केशर मेची उद्योग वाणिज्य संघबाट धुलावारीमा आयोजित व्यापार मेलामा प्रमुख आकर्षण बनेको स्मरण गराउँदै यसबाट रोजगारी, पर्यटन र इलामको पहिचानमा ठूलो योगदान पुग्ने बताए ।

कम्पनीका सचिव टुण्डु शेर्पा इलामको हिमाली क्षेत्रमा यसको खेतीको प्रचुर सम्भावना रहेको बताउँछन् ।

उनले केशरको फुल टिप्ने सिजन सुरु भएको र यो क्रम एक महिनासम्म जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: