धुलाबारी, ११ असार । मेचीनगरमा शनिबार वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जीवन दान भन्ने मुख्य नारासहित श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति, नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापाको इकाई समिति धुलावारीको आयोजनामा भएको रक्तदानमा ५५ प्रिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक प्रमिला गौतम खनालले जानकारी दिइन् ।
५१औँ पटक रक्तदान गरेका प्रणामी युवा निर्मल कोइरालाले उद्घाटन गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर र बिर्तामोडको प्राविधिक सहयोग रहेको थियो । सरस्वती आचार्य घिमिरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर वडा नम्बर–१० का वडाध्यक्ष नारायण खनाल थिए ।
श्रीकृष्ण प्रणमी मन्दिर मेचीनगर परिसरमा भएको कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापालाई हस्तान्तरण गरिएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष कृष्ण बजगाईँ, सत्संग परिषदझापाका अध्यक्ष मिलन बस्नेत, युवा परिषद केन्द्रिय उपमहासचिव सुभाश रिजाल, बाइजुराज झापा अध्यक्ष मीरा ओली लगायतले रगतको महोत्वका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले समेत रक्तदान गरेको थियो । समाजसेवीहरु टहलदास मैनाली, अनिल ढुंगाना, मदन अधिकारी, मोहन अधिकारी, डक्टर तिर्थराज आचार्य, दुर्गा खतिवडा, रेनुका डाँगी, सविता भण्डारी, अनिता बंशल, सीता पुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन शीला सापकोटाले गरेकी थिइन् ।