भद्रपुर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं २ ले काङ्ग्रेसको केन्द्रीय सदस्यमा मनोनित नेताहरुलाई सम्मान गरेको छ ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नं २ को आयोजनामा जिल्ला पार्टी कार्यालयमा क्षेत्रीय बैठकका बीच राज्य व्यवस्था समितिको संयोजकमा मनोनित केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित नेताद्वय सुधिरकुमार शिवाकोटी र गोपालकुमार बस्नेत र जेष्ठ राजनीतिज्ञ सभाको केन्द्रीय सदस्यमा मनोनित डिल्ली सिटौलालाई सम्मान गरिएको क्षेत्रीय सचिव किरण श्रेष्ठले जानकारी दिए ।
सम्मानित सबैलाई नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापा, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । मनोनित मध्ये चारजना झापा क्षेत्र नं २ का स्थायी बासिन्दा हुन् ।
झापाबाट विश्वप्रकाश शर्मा यसअघि नै पार्टीको केन्द्रीय प्रवक्तामा मनोनित भएका हुन् । उनलाई पार्टीको प्रचारप्रसार विभाग प्रमुखको पनि जिम्मेवारी दिइएको छ ।
यसैगरी, जेष्ठ राजनीतिज्ञ सभामा झापाका पूर्णानन्द शर्मा, केदारनाथ ढकाल, परमेश न्यौपाने मनोनित भएका छन् । यसैगरी, तत्कालीन लोकतान्त्रिक फोरम नेपाली काङ्ग्रेसमा समायोजन भएपछि भारतेन्दुकुमार मल्लिक पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
काङ्ग्रेस झापा क्षेत्र नं २ का सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न बैठकले यसअघि गत फागुन १७ गते सम्पन्न क्षेत्रीय सम्मेलनको आयब्यय सार्वजनिक गर्नुका साथै सम्मेलन सफल बनाउन सहयोग गर्ने सबै महानुभावमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गरेको क्षेत्रीय सहसभापति धर्म लक्सम्बाले जानकारी दिए ।