‘केही दिनमै सरकारले पूर्णता पाउँदैछ’

  प्रकाशित मिति
२२ श्रावण २०७५, मंगलवार १३:५१


पहिलोपटक मन्त्री हुँदाको अनुभूति कस्तो रह्यो ?
खासै उथलपुथल भएन । जनताका लागि काम गर्ने जिम्मेवारी थपिएको छ भन्ने लाग्यो । चुनावका बेला तपाईहरुको हितमा काम गर्ने छु भनेर खाएको प्रतिबद्धता सम्झना आयो । कुनै असहज महशुस भएन, कुनै आडम्बरपन पनि आएन । तर मन्त्री भएपछि जनताको चाहना अनुसार काम गर्न सकिएला कि नसकिएला भन्ने पीर पो थपियो ।

दलको नेता, सरकारको मन्त्री हुँदा फरक हँुदोरहेनछ ?
मैले राजनीतिक जीवनको हिसावले लामो समय कार्यकर्ता भएर गुजारे । अनेकौ सङ्घर्ष गरे । पार्टी कामको सिलसिलामा म आफनो प्रदेशको सबै भुगोलको अवस्था र समस्यासँग जानकार छु । यसैले समस्याको हिसावले फरक महुस चाहिँ भएन । तर फरक के चाहिँ भने दलको नेता र सरकारको मन्त्रीमा काम गर्ने शैलीमा भिन्नता आउँदोरहेछ । हिजो हुन त प्रदेशभरिको जनजीवन बुझेकोले अहिले सजिलो पनि भैरहेको छ । तर जहाँसम्म उच्च ओहोदामा पुगेपछिको अनुभवको कुरा छ त्यो पनि खासै फरक छैन । मात्र थोरै रिलेसन मेन्टेन गर्नुपर्ने रहेछ । जिम्मेवारी र कामको व्यवस्थापनका लागि । मन्त्री हुनासाथ धेरै काम चाँडो गर्न सकिहालिन्छ भन्ने लाग्थ्यो तर सोचे जस्तो सहज हुँदोरहेन छ । धेरै फ्याक्टरहरुले बाधा पुरयाउँदारहेछन् । हामीलाई चाँडो काम होस् र चाँडो परिणाम आवोस्, जनताले बिकासको अधिकार पाउन् भन्ने लाग्दोरहेछ । तर व्युरोक्रेसी नियम कानुन खोज्दोरहेछ ।

टवाइलेट अनुगमन चर्चामा रह्यो । फ्लोअप गर्नु भएन । चर्चामा आउनका लागि मात्रै अनुगमन गरेजस्तो भएन र ?
जब हामीले सरकार गठन गर्यौ । त्यो बेलामा अघिल्लो सरकारको हेलचेक्राईले गर्दा हामी अलमल्ल पर्ने अवस्था थियो । नत मन्त्रालय नत कर्मचारीको व्यवस्थापन थियो । मन्त्रालयमा बस्ने कुर्सी समेत थिएन । तर पूर्वाधार छैन भनेर चुपलागेर बस्न मलाई मन लागेन । के के तत्काल काम गर्न सकिन्छ भनेर सूची निर्धारण गर्दा शौचालयको अनुगमन पनि एउटा महत्वपूर्ण काम हो भन्ने लाग्यो । किनभने स्वास्थ्यका लागि सरसफाई अति महत्वपूर्ण कुरा हो । यसैले मैले सूची बनाएरै सार्वजनिक ट्वाइलेट अनुगमन गरेर प्रतिबेदन सार्वजनिक गरे । केही सुधार भए, केही भएका छैनन् । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान पनि गरे । जहाँसम्म फ्लो नभएको कुरो छ, फ्लो भैरहेको छ, अब कानून निर्माण भैसकेपछि कडा रुपमा अनुगमन हुन्छ । मैले चर्चाका लागि ट्वाइलेट अनुगमन गरेर पहिलो बिजनेश सुरु गरेकै होइन । उसै पनि धेरै रिजर्व बस्ने मान्छे । अनावश्यक प्रचार प्रसार मलाई मन पनि पदैन ।

औपचारिक भाषणभूषण कार्यक्रममा बढी सहभागी हुनेमा तपाई पनि पर्नु हुन्छ । दिनमा कति वटा कार्यक्रम भ्याउनु हुन्छ ?
म बिहान ५ बजे नै उठ्छु । दैनिक कर्म सकेपछि साढे ६ बजेदेखि नै भेटघाटमा व्यस्त हुन्छु । सबै भन्दा पहिले म मन्त्रालय पुग्छु र कार्य सम्पादन गर्छु । म दैनिक ५ वटासम्म कार्यक्रममा चाहिँ पुगिरहेको छु, कहिलेकाँही ११÷१२ वटा पनि पुग्छन् ।

कार्यक्रममा धेरै जाँदा मन्त्रालयको काम प्रभावित हुँदैन र ?
हँुदैन । एउटा मन्त्रीलाई मन्त्रालयमा बसेर काम गर्न जति आवश्यक छ त्यत्ति नै जनतासँग जोडिएर उनीहरुका समस्या बुझनु र समाधानका लागि उपायहरु सुझाउनु पनि आवश्यक हुन्छ । यसैले पनि औपचारिक कार्यक्रममा जानै पर्ने हुन्छ । मैले फरक फरक समयमा भए पनि चार घण्टा चाहिँ मन्त्रालयमा पुगेर काम गर्नैपर्छ भन्ने रुटिङ बनाएको छु । बिहान पुग्न सकिन भने दिउँसो वा साँझ भए पनि पुगेर कार्य सम्पादन गर्छु, निर्देशन दिन्छु ।

सरकार बनेको ६ महिना बितिसक्यो । बजेट पनि दुई चोटी आइसक्यो । खासै काम केही देखिदैन । कहाँ अल्मलिरहेको छ सरकार ?
हामीले ३ फागुनमा पाँच सदस्यीय सरकार गठन गरेपछिको अवस्था कस्तो थियो सबैलाई थाहा छ । अघिल्लो सरकारले वेवास्ता गर्दा मन्त्रालयका संरचना कर्मचारी केही थिएनन् । ती सबै व्यवस्थापन गर्न निकै चुनौती थियो । तर पनि हामीले कामलाई दृढतासाथ निरन्तरता दियौ । अघिल्लो बर्ष सरकारको काम व्यवस्थित गरेर जनतालाई प्रदेश सरकारको अनुभूति गराउन तीन महिनाका लागि भए पनि बजेट ल्यायौ । त्यसरी बजेट ल्याएर धेरै खर्च गर्न सक्ने एक नम्बर प्रदेश सरकार मात्र हो ।
जहाँसम्म सरकार अझै संयन्त्र अभावले अलमलिरहेको छ भन्ने कुरा छ त्यो सत्य होइन । हामीले सङ्घीय सरकारबाट हस्तान्तरण भएका र आफनै संयन्त्र निर्माण गरेर बजेट खर्च गर्ने ठोस योजना बनाइसकेका छौ । यसका लागि सबै मन्त्रालयका हामी मन्त्री र सचिवहरु सहितको बैठक मुख्यमन्त्रीको कार्यालयमा बसेर ठोस योजना बनिसकेको छ । यसैले अव बजेट खर्च हुँदैन कि भन्ने समस्या रहँदैन ।

सङ्घीय सरकारसँग प्रदेश सरकारले आफ्नो अधिकार लिन सकेन भन्ने आम चर्चा पनि छ ? अहिले हामी सङ्घीयता कार्यान्वयनका लागि सङ्क्रमणकालमा छौँ । कानुनहरु बनिसकेको छैनन् । संयन्त्रहरु भर्खर व्यवस्थित हुँदैछन् । यस्तोमा सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकारको बिषयमा द्वन्द्व हुनु सामान्य कुरो हो । संबिधान अनुसार सबै व्यवस्थापन हुँदै जान्छन् । यसमा केही समय चाहिँ लाग्छ ।

प्रदेश सरकारको काम जनताले महशुस गर्ने गरी कहिलेदेखि प्रभावकारी हुन्छ त ?
प्रभावकारी काम त हामीले सुरुदेखि नै गरिहेका छौँ । हामीले जत्तिको काम अन्य प्रदेश सरकारले गर्न सकेका छैनन् । हामीले तीन महिने बजेट ल्याएर आधा भन्दा बढी खर्च गर्न सफल भयौ । चालु बर्षका लागि पूर्ण बजेट ल्यायौ । हामीले ल्याएको बजेट समाजबादीमुखी बजेटको उदाहरण नै बनेको छ । बिभिन्न काननुहरु निर्माण गराइरहेका छाँै । मस्यौदाहरु धमाधम बनिरहेका छन् । जनताका कामहरु पनि भैरहेका छन् । कामको अनुगमन पनि हामीले चुस्त रुपले गरिरहेका छौँ । अनेकौ चुनौतीका बिच पनि हामीले हरेस नखाई र निराश नभई काम गर्यौँ । हो सङ्क्रमणकालले गर्दा जनताले सोचे जस्तो काम गर्न सकेनौँ तर हामी चालु बर्षभित्र जनताले आफै प्रभावकारी कामको महशुस गर्ने छन् ।

सरकार बनेको छ महिना बितिसक्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, कारण के हो ?
केही दिनमै सरकारले पूर्णता पाउँदैछ । संबिधानले बीस वटासम्म एक नम्बर प्रदेशमा मन्त्रालय स्थापना गर्न सक्ने बताए पनि पार्टीले १० भन्दा बढी नबनाउने निर्णय गरेको छ । यसैले हामीले पनि धेरै मन्त्रालय बनाउने छैनौँ । तर आकांक्षीहरु धेरै भएकोले अव मन्त्रालय सातवटै मात्रै राख्ने कि बढाउने वा राज्य र सहायक मन्त्रीहरु नियुक्त्त गर्ने भनेर हामी छलफल गर्दैछौँ । चाँडै टुङ्गोमा पुग्ने छौँ । मन्त्रालयको सङ्ख्या ११ सम्म पुग्न पनि सक्नेछ वा मन्त्रीको मात्र सङ्ख्या ११ पुग्ने छ ।

तपाईले नेतृत्व गरेको मन्त्रालयको व्यवस्थापन भइसकेको छैन, ढिलासुस्ती किन ?
मैले नेतृत्व गरेको सामाजिक बिकास मन्त्रालयमा शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, महिला बालबालिका, समाज कल्याण, मानव अधिकार आदि धेरै बिषयगत जिम्मेबारीहरु छन् । पहिले धेरै गाह्रो भए पनि अब भने कर्मचारीहरु आइसकेको र अरु पनि आउने क्रममा रहेकोले खासै समस्या छैन । सही व्यवस्थापन भैसकेको र काम पनि सुरु गरिसकेका छौँ । शाखा महाशाखाहरुले व्यवस्थित रुपले काम थालिसकेका छन् । सूचना संयन्त्रहरु बढिरहेका छन् । आफ्नो आफ्नो शाखाको अनुगमन निर्देशन सुरु भैसकेको छ । सुरुका दिनमा कर्मचारी र भौतिक पूर्वाधारले गर्दा ढिलासुस्ती भएको हो । तर अव मन्त्रालयले गति लिएको छ । र, अझै द्रुत गति लिनेछ ।

सामाजिक बिकास मन्त्रालयका मुख्य चुनौतीहरु के हुन् ?
चुनौतीहरु त धेरै होलान् तर हाल चाहिँ कानुनहरुको अभाव नै मुख्य चुनौती हो । प्रदेश कानुनहरु बनिसकेपछि मात्र काम प्रभावकारी ढङ्गले गर्न सकिदोरहेछ ।

मन्त्रालयले कति कानुन बनाउनु पर्छ र कति बनाइसक्यो ?
सामाजिक बिकास मन्त्रालयले जम्मा २२ वटा कानुन बनाउनुपर्छ । अहिलेसम्म हामीले घरेलु हिंसा, प्रदेश नागरिक समाज, अनि प्रदेशको शिक्षाबारे कानुन बनाइसक्यौँ । केही प्रदेश सभामा दर्ता भएर छलफलमा छन् भने केही सरोबारवालाहरुसँग छलफल गरिसकेका छौँ । हामीले असोजभित्र लगभग अति आवश्यक कानुन निर्माण गरिसक्नेछौँ ।

शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारीकरण गर्नुपर्छ भन्ने कुरा उठिरहेका छन् । तर तपाई आफैको लगानीमा बोर्डिङ स्कुल छ नि ?
म एउटा कम्युनिस्ट आर्दशका लागि राजनीतिमा लागिपरेको व्यक्ति हुँ । भूमिगत भएर पनि हिँडे । भोकभोकै पनि काम गरे । पछि जननेता मदन भण्डारीले पार्टीमा बहुदलीय जनबाद लागू गराएपछि कार्यकर्ताहरुले आफैले कमाउने, चन्दामा मात्र भर नपर्ने, उद्यम गर्ने र राजनीति पनि गर्ने भन्ने नीति आयो । मैले पनि सोही नीति अनुसार जीविका चलाउनका लागि व्यापार गरेको मात्र हुँ । भोलि पार्टीले सबै सरकारीकरण गर्ने नीति ल्याउँछ भने म पनि त्यसलाई आत्मसाथ गर्नेछु । यसमा कुनै समस्या हुने छैन । पार्टीको सिपाही हुँ, पार्टी नीतिलाई सर्वोपरि ठान्छु ।

शिक्षा र स्वास्थ्यमा अनेक विकृति छ । तपाईहरुले पानी उद्योग बाहेक अन्यत्र अनुगमनै गरेको देखिदैन नि ?
हामीलाई थाहा छ शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै बिकृति छ भनेर । तर कानुन अभाव भएकोले हामीले अनुगमन थालेका छैनौँ । केही दिनभित्रै प्रदेशको स्वास्थ्य कानुन निर्माण हुन्छ अनि हामी दण्ड र पुरस्कार सहितका लागि चुस्त अनुगमन गर्ने छौँ । स्वास्थ्य र शिक्षामा भएको बेथितिलाई प्रदेश सरकार टुलुटुलु हेरेर बस्दैन । हामीले भर्खरै प्रदेश शिक्षा बिधेयकको मस्यौदामा सरोकारवालासँग छलफल सकेका छौँ । त्यो मस्यौदामा हामीले निजी स्कुललाई पाँच तहमा बर्गीकरण गर्ने, नियमित नपढाउने शिक्षकलाई बर्खास्त गर्नेसम्मका कानुन बनाएका छौँ । स्वास्थ्यमा पनि कडा कानुन बनाइरहेका छौँ । जहाँसम्म पानी उद्योगमा अक्रामक भएर अनुगमन गरेको कुरा सत्य हो । आजकल मान्छेले साह्रै गति छाडेका छन् । पैसाका लागि जे पनि गर्न थालेका छन् । पानी जस्तो सम्बेदनशिल उत्पादनमा पनि जे पायो त्यही गरेर आम उपभोक्त्ताको जीवनमा खेलबाड गरेको गुनासो बढेपछि जथाभावी खोलिएका पानी उद्योगलाई व्यवस्थित गर्न नियमन सुरु गरेका हौँ ।

तपाईले संसदीय दलको नेता छान्न मन्त्री हुने लोभले आफनो लवी क्रस गरेर भोट हाल्नु भयो । तर फेरि तपाई आफनो गुट चाहिँ पुरानै मानिरहनु भएको छ भिनिन्छ नि, साँचो के हो ?
त्यो एउटा समयको कुरा हो । अहिले समय फेरिएको छ । समय अनुसार समूह पनि फेरिन्छन् । हिजो म कुनै समूहमा थिएँ हुला, तर भोलि नयाँ समूहमा पनि हुन सक्ने छु । राजनीतिमा यसलाई स्वाभाविक मानिन्छ । तर जहाँसम्म म पार्टीको आदर्श र दर्शन भन्दा बाहिर गएर कुनै काम गर्दिन । त्यो भन्दा बाहिरका कुनै गुट उपगुटमा लाग्दिन पनि । फेरि पनि के भन्छु भने मैले काम गर्ने भनेको पार्टीका लागि हो, देशका लागि हो, गुटका लागि हैन ।

तपाईलाई सदाचारी र सहज पहुँच दिने मिलनसार मन्त्रीका रुपमा पनि मान्छन् जनताले । तर तपाई नाताबाद, कृपाबादबाट मुक्त्त हुन सक्नु भएको छैन भन्ने आरोप पनि छ, साँचो के हो ?
मलाई लाग्दैन म कुनै नाताबाद कृपाबादमा फँसेको छु भनेर । मैले त्यस्तो कुनै कामै गरेको छैन । फेरि मन्त्री भएर काम गरेको नै कति भयो र ? म सकेसम्म बिना भेदभाव काम गर्ने प्रयासमा हुन्छु । अब काम गर्दैजाँदा कही त्रुटी भएको भए त्यो चाहिँ जनताले औल्याइ दिए मलाई सच्चिन सजिलो हुनेछ । म आम नागरिकसँग यो अपेक्षा पनि गर्छु ।
(प्रस्तुति ः गणेश लम्साल, विराटनगर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: