विर्तामोड, १४ जेठ । नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापाले मेची अञ्चल अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल बनाउने विषयमा विरोध नगर्न स्थानीयवासीलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन झापाको २९ औं स्थापना दिवसको उपलक्ष्यमा मङ्गलवार विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले नयाँ भवनमा कोभिड अस्पताल बनाउँदा अन्य उपचार सेवा प्रभावित नहुने र वरपरका बासिन्दामा सङ्क्रमण नफैलिने धारणा व्यक्त गरे ।
‘म सुन्दैछु, त्यहाँ कोभिड अस्पताल बनाइयो भने कोरोनाको संक्रमण वरपर फैलिन्छ भनेर स्थानीयवासीले चिन्ता प्रकट गर्नुभएको छ,’ उनले स्थानीयवासीलाई आश्वस्त पार्दै भने–‘अस्पतालको मुख्य भवनभन्दा टाढै रहेको नयाँ भवनमा सञ्चालन हुने हो, आत्तिन पर्दैन ।’
राजनीतिक दलका प्रमुखहरु संलग्न रहेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण, अनुगमन तथा समन्वय समिति झापाका सदस्य समेत रहेका थापाले झापामा रहेका सम्भावित स्थानहरुमध्ये भद्रपुर–८ मा रहेको उक्त भवन उपयुक्त विकल्प भएको बताए । सर्वदलीय स्वरुपमा रहेको समितिले सोही स्थान उपयुक्त ठहर्याएको थियो ।
उनले विराटनगरको कोभिड अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उदाहरण दिदै भने–‘धरानमा एउटै परिसरमा २०० बेडको कोभिड अस्पताल सञ्चालनमा छ, खोई त्यहाँ न अस्पतालको अन्य उपचार सेवा प्रभावित भएको छ न समुदायमा कोरोना सङ्क्रमण भएको छ ।’
भद्रपुरमा कोभिड अस्पताल स्थापना हुँदा त्यसका लागि सरकारबाट पूर्वाधार र उपकरणका लागि आउने करोडौंको सहयोग अस्पतालकै सम्पत्ति हुने हुँदा यस विषयमा कुनै नकारात्मक धारणा नफैलाउन उनले आग्रह गरेका छन् ।
जिल्लाको समितिले अस्पतालको नयाँ भवन, कलबलगुडीको प्रशिक्षण केन्द्र, चन्द्रगढीको खाद्य गोदाम र विर्तामोडको खाद्य गोदाममध्ये अस्पतालको पुरानो भवन नै सबैभन्दा उपयुक्त ठहर गरी कोभिड अस्पताल बनाउन प्रदेश सरकारलाई सिफारिस गरेको हो ।
तर कोभिड अस्पतालका लागि जिल्लास्थित समितिले सिफारिस गरेको खबर सार्वजनिक भए लगत्तै स्थानीयवासीले विरोध जनाएका थिए । विरोध जनाउनेमा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, वडाका अध्यक्ष गौरव सुब्बा, छिमेकी वडाका अध्यक्ष बन्धु कार्की लगायत छन् । वडाध्यक्षद्वय सुब्बा र कार्की नेपाली काङ्ग्रेसबाट निर्वाचित हुन् ।
स्थानीयवासीले अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल बनाएपछि वरपर समुदायमा कोरोना सङ्क्रमण हुनसक्ने, ५० मिटरको दुरीमा रहेका रेडक्रस, ब्लड बैङ्क र अस्पतालको मुख्य उपचार सेवामा नकारात्मक प्रभाव पर्न सक्ने जिकीर गर्दै आएका छन् ।
उनीहरुले कोभिड अस्पताल समुदायभन्दा टाढा रहेको कलबलगुढी प्रशिक्षण केन्द्रमा लैजानेगरी निर्णय पुनर्विचार गर्न समितिलाई दवाव दिदै आएका छन् । स्थानीयवासीले भक्त खवासको संयोजकत्वमा एउटा समिति समेत निर्माण गरेका छन् ।