भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन र चेकजाँचलाई व्यवस्थित बनाउनका लागि मेचीनगर नगरपालिकाले स्वयम्सेवक परिचालन गरेको छ ।
सोमबारदेखि नगरभित्रका विभिन्न संघसंस्थाका ४० जना प्रतिनिधिको टोलीले आलोपालो गरेर विहान ६ बजेदेखि बेलुका १० बजेसम्म भीडभाडलाई व्यवस्थापन गर्ने, अनावश्यक रुपमा भारततिर नजान अनुरोध गर्ने गरेको छ ।
मेची उद्योग बाणिज्य संघको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयम्सेवक परिचालन समिति गठन गरेपछि उनीहरु सोमबारदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् ।
स्वयम्सेवकका रुपमा काम गर्नेहरुलाई मेची उद्योग बाणिज्य संघले पाँच वटा इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, माक्स, टोपी र ग्लोबको व्यवस्था गरेको संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए । उनका अनुसार दैनिक ४० जनाले चार वटा टोली बनाएर दिनको चार–चार घण्टा नाकामा बसेर स्वयम्सेवक काम गर्नेछन् ।
टोलीमा उद्योग बाणिज्य संघ, माइती नेपाल, रोटरी क्वल, ट्राभल्स संघ, जेसीज, होटल व्यवसायी संघ,नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्वल, मानव बेचविखन विरुद्धको क्षेत्रमा काम गर्ने सबै संघसंस्थालगायत १६ वटा रहेको उनले बताए ।
‘दैनिक १० हजार बढीको संख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहेछन्’ संघको अध्यक्ष तिसिम्नाले भने, ‘पूर्वी नाका मुख्य भएको र यहाँ हेल्थ डेक्समा रहेका पाँचजना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौ ।’
उनले मेची उद्योग बाणिज्य संघले खरिद गरेर ल्याएको पाँचवटा र हेल्थ डेक्समा नगरपालिकाले दिएको तीन वटा इन्फोरेट थर्मामिटले समेत अपुग भएका कारण थप १५ वटा इन्फोरेट थर्मामिटर भारतको सिलगुढीबाट मगाइसकिएको बताए ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले पूर्वी नाका प्रदेश नम्बर १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अप्नाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरेको बताए । उनले नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामाग्री खरिद गरेर उपलब्ध गराउने बताउँदै भने, ‘नाकामा आवश्यक काम बाहेक भारततिर ओहोर दोहोर गर्नेलाई समेत समितिले रोक्छ ।’–––