झापा, २ साउन । जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुलाई कोभिड-१९ को संक्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ ।
आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला दैविक प्रकोप विपद् व्यवस्थापन समितिको बैठकले कोभिड १९ को संक्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो ।
बैठकले संक्रमणको शंका लागेमा नजिको स्वास्थ्य संस्थामा गई संक्रमण परीक्षण गर्न, विना काममा भीडभाडमा नजान, र हिंडडुल गर्दा अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ ।
प्रजिअ रिजालले काँकरभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रस सोसाइटी शाखाले आपसमा समन्वय गरी कोडिभ-१९ को परीक्षणलाई प्रभावकारी बनाउने निणर्य गरिएको बताए ।
उनले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोभिड १९ विरुद्धको बुस्टर खोप लगाउन, वर्तमान अस्वस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण किट, भिटीएसलगायत अन्य सामाग्रीहरुको मौज्दात व्यवस्थापन गर्न लगाइएको बताए ।
उनले बैठकमा दुहागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा एक सय बेड नेपाली सेनालाई तयारी राख्ने निर्देशन दिएका छन् ।