कोभिड-१९ पछिको सहकारी अभियान : चुनौति र अवसर

  प्रकाशित मिति
२९ चैत्र २०७६, शनिबार ०७:०९


”विश्वव्यापि मन्दिमा पनि सहकारी व्यवसायमा कुनै कमि नभएको सहकारीमा कसैले रोजगारी गुमाउनु नपरेको इतिहास साक्षी छ । तर सहकारी सहकारी जस्ता हुनुपर्छ । सहकारी साहुकारी जस्ता मात्रै भए तिनले आफुलाई परिवर्तन गर्न सकेनन् भने यो संकटमा नै खुट्टा टेक्न सजिलो छैन ।”

।। रामचन्द्र उप्रेती ।।
विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्ष पछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायती समय भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन् यसको यहाँ चर्चा नगरौं । सहकारी ऐन २०४८ पछि धेरै सहकारी खुले । सहकारी संघसस्थाको संख्या ह्वात्तै बढ्यो । तर राजनीतिक अस्थितरताको फाइदा उठाउदै धेरै सहकारीका सञ्चालकले सहकारीलाई सदस्यको फाइदाका लागि भन्दा पनि आफ्ना फाइदाका लागि सञ्चालन गरेको देखियो । सहकारीलाई असल मनसायले सञ्चालन गर्न चाहनेले पनि ज्ञानको अभावमा सही बाटो हिँडाउन चुकेको देखिएको छ ।

माथिका दुईखाले सहकारी बाहेक समुदायमा आधारित र सदस्य केन्द्रित भएका सहकारीको संख्या उल्लेख्य छन् । यिनै सहकारीले समाजमा सहकारी प्रतिको बुझाई र सहकारीको महत्व विस्तार गर्न सफल हुदै गएका छन् । कोभिड १९ शुरुहुनुभन्दा अगाडिको सहकारी र त्यसपछिको सहकारी अभियानमा कस्तो प्रभाव पर्ला, सहकारीका अगाडि कस्ता चुनौति र सम्भावना छन् भन्ने अनुमान नै यो लेखको मुख्य उद्देश्य रहेकोले यसका बारेमा चर्चा गर्दा अहिले भइरहेका सहकारीको अवस्थाको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक हुन्छ । माथिनै सङ्केत गरियो कि शुसासनका हिसावले अहिले तिन खालका सहकारीहरु सकृय छन् । पहिलो, जानिजानि सहकारीलाई केही सिमित मानिस जो त्यसका हर्ताकर्ता भएका छन् तिनले आफ्नो फाइदाका लागि सञ्चालन गर्ने । दोश्रो, मनसाय गतल थिएन छैन तर सहकारीलाई राम्ररी नबुझि सञ्चालन गरेको अवस्था र तेश्रो समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी ।

अहिले भएका धेरै सहकारी त्यसमा पनि शहर केन्द्रित र बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरु जसमा दुई खालका सदस्यको बाहुल्यता छ तिनमा श्ुसासन निकै कमजोर छ । यस्ता सहकारीले धेरैलाई नाम मात्रको सदस्य बनाउछन् र पैसा संकलन गर्छन्, ऋण लगानि पनि नाम मात्रको सदस्य बनाएर गर्छन् । यस्ता नाममात्रका सदस्य संस्थाको कुनै गतिविधिमा सहभागि हुन पाउदैनन् । संस्थाको अवस्थाको बारेमा कुनै जानकारी दिइदैन । यस्ता सदस्यले संस्थाको राम्रो नराम्रो केही थाहा पाउदैनन् र थाहा दिइदैन । यो कोटीका सहकारीको पैसा कहाँ, कसरी, कसले, कुन काममा, कुन शर्तमा सञ्चालन गरेको छ संस्थाको सानो समुह बाहेक अरु कसैलाई थाहा हुदैन । यस्ता संस्थामा वित्तिय अनुशासन र सन्तुलनको पालना भएको पाइदैन । यस्ता संस्थाको लगानि थोरै समयमा धेरै आम्दानी गर्ने उद्देश्यले लगानि गरेको हुन्छ । जुन संकटको समयमा निकै खतरनाक हुने गर्छ ।

बैंकहरुले समेत छिटो नाफा कमाउने उद्देश्यले केही सिमित घरानिया व्यवसायीलाई लगानि गरेको रकम आर्थिक संकट र मन्दिको बेला खतरामा पर्छ भने सहकारीका सिमित मानिसले अझ आफ्नै र आफन्तको व्यवसायमा यस्तो लगानि गरेका रहेछन् भने त्यो निकै खतरनाक हुन्छ । सहकारीमा स्वनियमन् पद्धति हुनुपर्छ, हुन्छ । तर यस्ता सहकारीमा स्वनियमन नाम मात्रको हुन्छ । अझ मुलुक संघियतामा गएसँगै अहिले यस्ता सहकारीहरुको नियमन गर्ने सरकारी निकायहरु नै अलमलमा छन् । यिनको रिपोर्ट माग्ने, बुझ्ने र विश्लेषण गरेर निर्देशन दिने निकाय मौन छन् । अलमलमा छन् । यस्ता सहकारी तिब्र गतिमा सुशासनको दायरामा आउन जरुरी छ । ल्याउन जरुरी छ । यसो हुन नसके यस्ता सहकारीहरुको संकट कोरोना कहर पछि आउने आर्थिक मन्दीको समयमा लामो समय छोपिन सक्ने छैनन् । यस्तो संकटमा यस्ता सहकारीलाई सबै सदस्य (जो नाममात्रका सदस्य छन्)ले काँध हाल्ने छैनन् भने लाभकारी सिमित सदस्यले यसलाई थेग्न धौ धौ पर्ने छ । यो कोटीका सहकारीले आफ्नो संस्थाको जोखिम कम गर्न तुरुन्तै सुधारका काम शुरु गर्नुपर्छ । लगानिमा रहेको रकम अशुलिमा ध्यान दिने, स्थिर सम्पतिमा तत्काल कुनै प्रकारको लगानि नगर्ने, कर्जा लगानि केही समयका लागि रोक्ने, संस्थाको खर्च कटौति गर्ने, ठुला निक्षेप कर्तालाई विश्वासमा लिने र पैसा अन्यत्र लैजानबाट रोक्ने, सञ्चालकले हरेक दिनको कारोवारलाई चनाखो भएर विश्लेषण गर्ने, सम्भव भएसम्म तरलताको प्रर्याप्त जोहो गर्ने, अभाव हुन नदिने । शुसासन र पारदर्शिताका लागि प्रयाप्त गृहकार्य गर्ने र व्यवहारमा क्रमशः लैजाने गर्नु पर्छ । यो संकटको समाधान पछि संस्थालाई सिमित व्यक्तिको फाइदाका लागि होइन सदस्य र समुदायको फाइदाका लागि सञ्चालन गर्ने बाटो अवलम्वन गर्नुपर्छ । संकटलाई अलिपर सार्न थप संकट निम्त्याउने कदम भुलेर पनि चाल्नु हुदैन । जस्तै धेरै चर्को व्याजमा पैसा लिने, नाफा हुने भयो भन्दैमा स्थिर सम्पति खरिद गर्ने, धेरै व्याज पाइने भयो भन्दैमा भएको पैसा महङ्गोमा जोखिम मोलेर लगानि गर्ने, सस्थाका सञ्चालकले नै पैसा चलाइदिने र चलाएको पैसा तिर्न बुझाउन आलटाल गर्ने आदि । यदि यो संकटमा संस्थालाई टिकाउन सकिएन भने विगतमा सञ्चालकले छुट पाएजस्तो अबका सञ्चालकले छुट पाइने छैन । सहकारी ऐन २०७४ ले सजायको कडा व्यवस्था गरेको छ ।

दोश्रो कोटीका सहकारीहरु जसको नियत सिमित मानिसलाई मात्रै लाभ पु¥याउने थिएन, छैन तर संस्थामा शुसासन कमजोर छ भने त्यस्ता संस्थाहरुले तिब्र गतिमा शुसासन कायम गर्न प्रयास गर्नुपर्छ । सामान्य अवस्थामा जसरी चलियो विशेष अवस्थामा त्यसरी चलेर हुदैन । त्यसैले सञ्चालकहरु चनाखो बन्नुहोस् । समस्याको आँकलन गरेर तुरुन्तै नयाँ र सुधारका कदम चाल्नु पर्छ । तत्काललाई सदस्यको बचत रकम फिर्ता गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर लगानि रोक्ने, लगानि गर्दा पनि सदस्यको आर्थिक औकातलाई ध्यान दिने । सधैभन्दा अलि बढी नै तरलताको जोहो गरेर संस्थाको विश्वसनियतालाई खस्किन नदिने ।

आगामि दिनमा कोराना कहरका कारण धेरै मानिसको व्यवसायमा समस्या थपिने छन् । बैदेशिक रोजगारी गुम्ने खतरा धेरै हुन्छ । स्थानिय रोजगार दाताले पनि कामदार र कर्मचारी कटौति गर्न सक्ने सम्भावना धेरै छ । त्यसैले सदस्यको आम्दानी घटने भएकाले निक्षेपमा कमि आउने र भुक्तानिमा दवाव पर्ने देखिन्छ भने कर्जा अशुलिमा समस्या आउने पक्का जस्तै छ । यो बेलामा मानिसले उद्यम व्यवसाय गर्न नभई आफ्ना दैनिक गर्जोटार्न वा घाटा भएको व्यवसायको खर्च धान्न कर्जा माग्ने धेरै हुने भएकाले यस्तो बेलामा कर्जा लगानि बडी जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसलाई ध्यानमा राख्नु पर्छ ।

शुसासनमा चलेका सहकारीहरुमा पनि जोखिम कम हुने छैन । तर यस्ता सहकारीहरुले अलि सजिलो गरि यस्ता जोखिमको व्यवस्थापन गर्न सक्नेछन् । तर पनि यो आउने संकट सजिलै पार लाग्ने वाला छैन । यो आउने आर्थिक मन्दिको सामना कसरी गर्ने भनेर सकेसम्म धेरै सदस्यका माझबाट छलफल चलाउने, संस्थाको वास्तविक अवस्थाको बारेमा सार्वजतिक गर्ने, आगामि संकटको समाधान गर्न सस्थाले चालेका कदमको सार्वजनिकिकरण गर्ने र सबैभन्दा पहिला सदस्यको सहयोग लिन कोशिस गर्नुपर्छ । सदस्यलाई यो सामान्य अवस्था होइन भनेर बुझाउन सक्दा समस्या समाधानमा सबैले धेरथोर सहयोग गर्नेछन्, बुझ्नेछन् । बुझाउन सजिलो हुनेछ । कोरोना कहर पछिका केही महिना (करिव छ महिना) संस्थालाई टिकाउने र कम क्षतिमा संस्थाको जोखिम व्यवस्थापन गर्ने चुनौति हुनेछ । बैंकहरुको जोखिममा नेपाल राष्ट्र बैंक र सरकारले बढी ध्यान दिने छ । आवश्यक परेमा सापटी र राहतका प्याकेज ल्याउने छ । जनताको विश्वास पनि त्यहाँ धेरै छ । तुलनात्मक रुपमा बंैक बढी शुसासनमा पनि चलेका छन् । पारदर्शी समेत छन् । तर सहकारीमा यो अवस्था छैन । एउटा सहकारीलाई समस्या पर्दा अर्को सहकारीले काँध हाल्ने अवस्था लगभग छैन । यस्ता सहकारीका जिल्ला, प्रदेश र केन्द्रका सङ्घहरुले उद्धार गर्न सक्ने स्थिति बनेको छैन । त्यसैले सबै प्रकृतिका सहकारी संस्थाहरुले यो कहर पछि उत्पन्न हुने आर्थिक संकट कसरी समाधान गर्ने भनेर पहिला अल्पकालिन तयारी गर्नु आवश्यक छ ।

यो अल्पकालिन तयारी गरेर सहकारीलाई संकटबाट उतार्नु पर्छ । त्यसपछि के गर्ने ? कसरी सहकारीको दिगो विकास गर्ने ? कसरी सहकारीको माध्यमबाट सदस्य र समुदायको दिगो विकास हुने काम गर्ने भनेर योजना बनाउन जरुरी छ । यदि हामीले अल्पकालको संकटको मात्रै समाधान गर्ने हो र ढुक्क हुने हो भने यस्ता संकटले हामीलाई निरन्तर पछ्याइरहने छ ।

अहिले धेरै वित्तिय संस्था (बैंक, सहकारी)का लागि कर्जा लगानि गर्दा सजिलो आयश्रोत बन्ने गरेको थियो बैदेशिक रोजगारीबाट हुने आम्दानि । अब यो आम्दानिमा तत्कालका लागि विराम लाग्ने छ । झण्डै एक वर्ष पछि पनि करिव ५० प्रतिशतले(अहिले वैदेशिक रोजगारीमा) विदेशमा रोजगारी नपाउने अवस्था छ । देश भित्र पर्यटन व्यवसायमा लागेका धेरैले रोजगारी गुमाउने छन् । पुरानो अवस्थामा फर्किन लगभग दुईवर्ष लाग्न सक्छ । आयातमा निर्भर भएको हाम्रो जस्तो सानो अर्थतन्त्रमा बैदेशिक मुद्रा आर्जनको श्रोत विप्रेशण (रेमिट) र पर्यटकले ल्याउने विदेशि मुद्राको आम्दानिमा ठुलो गिरावट आउनु भनेको देशको क्रयशक्तिमा गिरावट आउने छ । यस्तो अवस्थामा मुलुकले चाहेर नचाहेर यहाँ जुटाउन सकिने र उत्पादन गर्न सकिने आयातलाई निरुत्साहित गर्नु नै पर्छ । त्यसमा पनि नेपालमा आपुर्ति हुने खाद्य सामग्रि भारतबाट आउने हो । त्यहाँ पनि गम्बिर खाद्य संकट आउन सक्छ । किनकि त्यहाँको हिउदे (रवि) फसल लगाउने यो बेलामा मुलुक लक डाउनमा छ । खाद्यन्न, तरकारी, फलफूल, माछामासु, दुध लगायतका दैनिक उपभोग्य वस्तुको आयातलाई निरुत्साहित गर्दा होस् वा अभावमा आपुर्ति हुन नसक्दा होस् सहकारीले यी र यस्ता बस्तुको उत्पादन, भण्डारण, प्रशोधन र बजारी करणमा कत्तिको प्रभाव बढाउन सक्नेछन् ? विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई यो व्यावसायमा आकर्शित गर्न सहकारीले कत्तिको भुमिका खेल्न सक्छ ? यो अवसर सहकारीलाई छ ।

अहिलेसम्म बैंक तथा सहकारी मध्ये धेरैले कर्जा लगानिका लागि सजिलो बाटो अपनाएको देखिन्छ । जस्तै जुवाडेलाई टन्न धितो राखेर लगानि गर्दा बिग्रिए ऋणी बिग्रिन्छ भन्ने मानसिकता देखिन्छ । घरजग्गाका कारोवारी र दलालले सजिलै ऋण पाउने गरेको कुरा पुरानो भएको छैन । घर बनाउन, घरजग्गा किन्न, गाडि किन्न, सुन किन्न, बैदेशिक रोजगारीमा जाने, विदेशमा पढन जानेले सजिलै ऋण पाए तर गाईभैंसी, बाख्रा, सुँगुर पाल्ने, खेती गर्ने, सानो व्यवसाय गर्ने, उद्यम गर्नेले ऋण पाउन सहज छैन । पैसा हुनेहरु पनि छोराछोरीलाई मोटो रकम खर्चेर विदेश पठाउन तयार भए । उताबाट आएको पैसाले ठुलो घर बनाएर हैसियत देखाउने भए तर उत्पादनमा लाग्ने, व्यवसायमा लाग्ने जाँगर देखाएनन् । अब यहीको उत्पादन र व्यवसायमा नलागि धरै छैन । सहकारीले यो अवसरको उपयोग गर्न पहल गर्नुपर्छ । सहकारीका सदस्य आर्थिक, सामाजिक र संस्कारले बलिया भए दुनियामा आउने कुनै पनि प्रकारका आर्थिक संकट र विपदमा सहकारीले सजिलै पार पाउने छन् । यो विगतको अनुभवले पनि देखाएको छ । सन् २००८ मा भएको विश्वव्यापि मन्दिमा पनि सहकारी व्यवसायमा कुनै कमि नभएको सहकारीमा कसैले रोजगारी गुमाउनु नपरेको इतिहास साक्षी छ । तर सहकारी सहकारी जस्ता हुनुपर्छ । सहकारी साहुकारी जस्ता मात्रै भए तिनले आफुलाई परिवर्तन गर्न सकेनन् भने यो संकटमा नै खुट्टा टेक्न सजिलो छैन ।

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: