भद्रपुर । झापाको कचनकवल गाउँपालिका–६ मा कोराना पुष्टि भएका २३ बर्षीय युवा छ महिना अघि मात्र रोजगारीका सिलसिलमा भारतको मुम्बई गएका थिए ।
मुम्बईमा कोरोना संक्रमण फैलिन थालेपछि आफू सुरक्षित बन्नका लागि उनी शनिबार मात्र भारतीय रेल चढेर फर्किएका हुन् । किसनगञ्ज रेल स्टेसनमा उत्रिएर पाठामारी हुँदै उनी नेपाल प्रवेश गरेका हुन् ।
उनीसँगै नेपाल प्रवेश गर्ने अरु ३२ जना थिए । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले उनीहरुलाई सीमामा रोकेर केही बेर राखेका थिए । सीमामा रोकिएका उनीहरुलाई लिन स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले पुगेका थिए ।
नाकाबाट कब्जा गरेर उनीहरुलाई ट्याक्टरमा भौतिक दुरी कायम गरेर पालिकाकाको वडा नम्बर २ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको उहाँको भनाई छ । उनीहरु सबैलाई एकै स्थानबाट नभएर पाठामारी, केचना र घेराबारीबाट ल्याइएको थियो ।
शनिबार दिउँसो १२ बजे क्वारेन्टाइनमा आइपुगेका उनीहरु सबैको सोही दिन स्वाब सङ्कलन गरी विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको थियो । जसमध्ये १० जनाको परीक्षण रिपोर्ट आइसकेको र त्यसमा ती युवकमा सोमबार कोरोना पुष्टि भएको थियो ।
‘२३ जनाको रिर्पोट आउन बाँकी छ’, उनी मात्रै संक्रमित हुन् वा अरु पनि रिर्पोट आएपछि मात्र भन्न सकिन्छ’, फोकल पर्सन चौंलागाई भन्छन् ।
उनीसहित आउने सबैलाई परिवार वा अन्य कोहीसँग समेत सम्पर्क गर्न नदिई सिधै क्वारेन्टाइनमा राखिएको हुँदा कचनकवल गाउँपालिका कुनै पनि वडामा सिल गर्नु नपरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
झापामा यस अघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा कोराना पुष्टि भएका दुई व्यक्ति निको भएर घर फर्किसकेका छन् ।