झापा, ५ माघ । ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न थालेसँगै झापासहित १३ वटा जिल्ला उच्च जोखिममा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २३ हजार ४०९ जनाको स्वाब परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना देखिएको छ । त्यस्तै ६१३ जना निको भएका छन् ।
नयाँ थपिएका संक्रमितभन्दा निको हुनेको संख्या कम रहेको छ । जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेर ४७ हजार ९२९ पुगेको छ ।
योसँगै ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या पनि बढेको छ । स्वास्थ्य मन्त्रालयले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई उच्च जोखिमको जिल्लामा राखेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रे उच्च जोखिममा रहेका छन् ।
त्यस्तै, गण्डकीको कास्की, लुम्बिनीका बाँके र रुपन्देही तथा सुदूरपश्चिमको कैलाली उच्च जोखिममा छन् ।
झापामा सक्रिय संक्रमित ५६६ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।