मेचीनगर, २१ असोज । कोरोनाबाट मृत्यु भएका भद्रपुरका दुई महिने बच्चाकोे नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको छ ।
मेची प्रादेशिक अस्पतालमा मृत्यु भएका भद्रपुर नगरपालिका–८ का उक्त बच्चाको नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो ।
कोरोना संक्रमित दुई महिने बच्चाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मङ्गलबार मृत्यु भएको थियो ।
अस्पतालमा बच्चाको मृत्यु भएपछि आफन्तले शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको थियो ।
मृतक बच्चामा संक्रमण पुष्टि भएपछि उनको घर तथा छेउछाउमा त्रास बढेको छ ।
उनको निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बच्चामा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो ।
स्वाब लिएको ६ घण्टापछि बच्चाको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, स्वास्थ्य शाखाका टोली लगायतका जनप्रतिनिधिहरु बच्चाको घर पुगेका थिए । परिवारले शव आज दाहसंस्कार गर्ने तयारी गरेको थियो । तर, बच्चाको दाहसंस्कार नेपाली सेनाले गरेको मेची प्रादेशिक अस्पतालले जनाएको छ ।