विर्तामोड, २१ साउन । प्रदेश नं. १ को अग्रणी बैङ्कको रुपमा स्थापित एक्सेल डेभलपमेन्ट बैङ्कले कोभिड १९ को मारमा परेका ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पाँच प्रकारका नयाँ कर्जा योजना ल्याएको छ ।
कोभिड १९ को महामारी र लकडाउनका कारण मानिसहरुको नियमित कामकाज, व्यापार, आयस्रोत र रोजगारीमा परिरहेको भीषण असरलाई मध्यनजर गर्दै एक्सेलले ल्याएको कर्जा योजनाले ग्राहकहरुलाई निकै ठूलो लाभ पुग्ने देखिएको छ ।
बैङ्कले मङ्गलवार विर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी नयाँ कर्जा योजनाको बारेमा विस्तृत जानकारी दिएको छ ।
कर्जा विभागका प्रमुख शिवकुमार गिरीका अनुसार घरायसी प्रयोजनका सामग्रीहरु खरिदका लागि ग्राहकलाई सहज होस् भनेर बैङ्कले बिनाधितो २५ हजारदेखि डेढ लाख रुपैयाँसम्मको ‘कन्ज्युमर लोन’ दिने भएको छ ।
कोभिड १९ का कारण शैक्षिक संस्थाहरु बन्द छन् । यतिबेला विद्यार्थीहरुले घरमै बसेर अनलाइन क्लास लिनु पर्ने भएको छ । तर आर्थिक समस्याका कारण ल्यापटप, कम्प्युटर, टेलिभिजन, मोवाइल, स्कुटी आदि साधन किन्न नसकिरहेका अभिभावकहरुका लागि ‘कन्ज्युमर लोन’ बरदान नै सावित हुने बैङ्कका सीइओ दिनेशकुमार पोखरेल बताउँछन् ।
बैङ्कले ल्याएको दोस्रो कर्जा योजना ‘एजुकेसन लोन’ हो । यसमा सार्क देशका लागि ३० लाख रुपैयाँ र अन्य देशहरुमा ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिने र विद्यार्थीले पढिसकेर कमाई गर्न थालेपछि मात्र सावाको किस्ता भुक्तानी गर्नुपर्ने सहुलियत प्रदान गरिएको कर्जा प्रमुख गिरी बताउँछन् ।
स्नातक र त्योभन्दा माथिको लेभलमा पढ्नका लागि यो कर्जा उपलब्ध हुनेछ । यसअघि विदेशमा पढ्नेले मात्र यस्तो कर्जा पाउने गरेकोमा अब एक्सेल बैङ्कले स्वदेशमै अध्ययन गर्नेलाई समेत ‘एजुकेसन लोन’ दिने जनाएको छ ।
एक्सेलले ल्याएको तेस्रो नयाँ कर्जा हो ‘प्रोफेसनल लोन’ । २५ देखि ५८ वर्ष उमेर समूहका स्वदेशमा कार्यरत पेशा व्यवसाय भएकाहरु र विदेशको राजदूताबास र एनजीओहरुमा कार्यरतहरुका लागि व्यक्तिगत जमानीमा एक लाखदेखि १५ लाख रुपैयाँसम्मको कर्जा ‘प्रोफेसनल लोन’मा उपलब्ध हुने सीइओ पोखरेलले जानकारी दिए ।
उनले चौथो कर्जाको रुपमा ‘साना तथा मझौला उद्यम कर्जा’ रहेको बताए । बैंकले नेपाल सरकारका विभिन्न निकायहरुमा दर्ता भएका एकलौटी फर्म, साझेदार फर्म, प्रा.लि. कम्पनीहरुलाई साविकको तथा नयाँ व्यवसाय सञ्चालनका लागि घरजग्गा तथा स्थायी सम्पत्ति धितो सुरक्षणमा र गैर कोषमा आधारित कर्जा सुविधाहरु रु. १० लाख भन्दा बढी अधिकतम रु. एक करोडसम्म रिभल्विङ कर्जा तथा आवधिक कर्जा दिने योजना ल्याएको छ ।
बैंकले पाँचौ योजनाका रुपमा ‘सवारी साधन कर्जा’ ल्याएको छ । व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म लगानी हुने गरी हाल कोभिड १९ को असहज अवस्थाको कारणले एक बर्ष व्याज मात्र भुक्तानी गरे पुग्ने व्यवस्था गरी नयाँ कर्जा योजना ल्याएको छ ।
त्यसैगरी बैंकले कोरोनाको प्रभावका कारण एक बर्षसम्म साँवा भुक्तानी नगर्ने गरी आवास कर्जामा ८.९९ प्रतिशत बार्षिक व्याजदरमा निर्माण खर्चको शतप्रतिशतसम्म रकम उपलब्ध गराउने जनाएको छ ।
झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीमा गरी ३८ वटा शाखाबाट बैंकले सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले पत्रकारहरुलाई जानकारी दिए । एक्सेल बैंकले चाडै प्रादेशिक बैंकको रुपमा प्रदेशको वित्तीय अभियन्नता बन्ने लक्ष्य लिएको उनले बताए ।