जनकपुरधाम, ३ भदौ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोनालाई जितेका छन् । भोलिदेखि नै मन्त्रालयको काममा फर्किने उनले बताएका छन् ।
मन्त्री यादवमा गत साउन २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित भएको केहिदिन अघिमात्र उनी काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासँगै बैठक बसेका थिए । जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीको समेत पीसीआर परीक्षण गराउनु परेको थियो ।
कोरोना सङ्क्रमित भएको १५ औं दिनमा उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोनामुक्त भएका मन्त्री यादवले बिहीबारदेखि नै मन्त्रालयको टेबलवर्क सुरु गर्ने बताए । उनले भने, ‘अहिले थेरै कामको चाप छ, त्यसैले काममा फर्किन्छु । तर उच्च सतर्कता अपनाउँछु ।’
उनले आइसोलेसनमा बस्दा तातो दुधमा बेसार मिलाएर पिउने गरेको बताएका छन् ।
उनी भन्छन् –‘साँझ र विहान करिब डेढ घण्टा व्यायाम पनि गरें । तातो पानीको वाफ पनि लिन्थेँ ।स्वास्थ्यकर्मीको सल्लाहअनुसार सबै काम गरेकाले मलाई कहिल्यै कमजोरी महसुस भएन । झन ताकत बढ्दै गएको महसुस भयो ।’