‘कोरोना नजाँची’ क्वारेन्टाइनका आधाजति घर फर्किए

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार ०९:४९


भद्रपुर, २५ चैत । झापाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमध्ये करीव आधाजति घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् ।

कोभिड–१९ (कोरोना भाइरस) को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोके बमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर आजसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना व्यक्ति बस्दै आएका थिए । आधाजति फर्किएपछि अब १३८ जना क्वारेन्टाइनमा रहेका छन् ।

झापामा भारतलगायत विदेशी मुलुकबाट हालसम्म ५९४ जना स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

कोरोना भाइरस सङ्क्रमणको शङ्कामा मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएका ७ जनामध्ये खकारको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका ५ जना घर फर्किसकेका छन् । दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

कोरोना रोकथाम, उपचार, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्ममा रोगको कुनै लक्षण नदेखिए घर फर्काउनु बाध्यता भएको बताएका छन् । उनले कोरोना जाँच गर्ने ठाउँ प्रदेश नं. १ भरिमा धरानमा मात्र भएको र त्यहाँ एक दिनमा १२ जनाको मात्र जाँच गरिने हुँदा हाल आइसोलेसनमा रहेकाहरुको मात्र जाँच गरिएको जानकारी दिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वारेन्टाइनको अवधि पूरा गरेर घर फर्किनु अघि कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि हुने गरी उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

‘कोरोना नभएको पुष्टि नगरी क्वारेन्टाइनबाट घर फर्किने अनुमति दिनु परेकोमा मलाई ग्लानी भइरहेको छ,’ नगरप्रमुख पोखरेलले भने–‘धनगढीमा क्वारेन्टाइनबाट फर्किएकी एक महिलामा पोजेटिभ रिपोर्ट आएको खबर आइसकेपछि यस विषयलाई गम्भीर रुपमा लिइनुपर्छ ।’

झापाका सबै स्थानीय तहले पहल गर्ने हो भने कोरोना भाइरस पत्ता लगाउन ल्याव स्थापना गर्न सकिने उल्लेख गर्दै उनले प्रदेश सरकारसँग यस विषयमा ध्यानाकर्षण गराउँदा जाँच्ने किट अभावले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्न नसकिने जवाफ पाइएको बताए ।

जिल्लाका क्वारेन्टाइनहरुको अनुगमन गर्नुभएको नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापाले नेपाली सेनाले व्यवस्थापन गरेको कलबलगुडीको क्वारेन्टाइन र मेचीनगरको एउटाबाहेक झापाका अधिकांश क्वारेन्टाइन समस्याग्रस्त भएको बताए ।

अधिकांश क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण पाउन नसकेको गुनासो सुनाएको उनको भनाई छ ।

घरघरै (होम) क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको निगरानी स्थानीय तहबाटै भइरहेको छ । त्यस्ता व्यक्तिहरु तेस्रो मुलुकबाट समेत आएको हुँदा उनीहरुको स्वाव परीक्षण हुनुपर्ने माग भइरहेको छ ।

(अम्बिका भण्डारी/रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: