मेचीनगर । नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको चिकित्सकसहितको टोलीले मङ्गलबार पूर्वी नाकामा रहेको कोरोना भाइरस परामर्श सहायता कक्षको अवलोकन तथा अन्तरक्रिया गरेको छ ।
विभागका डा. नरेन्द्रकुमार खनालसहितको टोलीले अहिले देशका विभिन्न नाका संवेदनशील रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले त्यहाँ कम भएपनि अन्य मुलुकमा बढ्दै गएकाले नेपालले पनि सावधानी अपनाउनुपर्ने देखिएको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले कोरोना भाइरस नियन्त्रणमा वा सङ्क्रमणबाट बच्न चेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक स्थलमा जथाभावी मानिसको अनावश्यक भीडभाड नगर्न तथा खुला सीमालाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कोरोना भाइरसले सङ्क्रमित व्यक्ति नेपालमा देखिनु धेरै संवेदनशील भएकाले पूर्वी नाकाबाट रोग भित्रिन नदिन हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको बताइन् ।
मेची भन्सार कार्यालयको सभा कक्षमा सम्पन्न अन्तरक्रियामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्निसियन त्रिभुवनप्रसाद साह, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेल, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्मा, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राई, काँकरभिट्टा स्वास्थ्य केन्द्र प्रमुख तालबहादुर खड्का, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्का, सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरालासहित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
पूर्वी नाकाबाट कोरोना भाइरस रोग भित्रिन नदिन १२ घण्टे हेल्थ डेक्समार्फत विशेष सजगता अपनाइएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय झापा र स्वास्थ्य कार्यालय झापाको समन्वय तथा सहजीकरणमा काँकरभिट्टामा गत माघ १४ गते कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना गरिएको मेचीनगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।