मेचीनगरको कोरोना कोषमा ८० लाख, अहिलेसम्म खर्च ४८ लाख

  प्रकाशित मिति
२९ चैत्र २०७६, शनिबार १८:०९


मेचीनगर । मेचीनगर नगरपालिकाले अहिलेसम्म कोरोना भाइरसको रोकथाम र राहत कार्यमा भएको आय व्यय विवरण सार्वजनिक गरेको छ । आपतकालीन अवस्थामा समेत आम्दानी र खर्चको विवरण जनतामाझ सार्वजनिक गर्नेमा मेचीनगर पहिलो स्थानीय सरकार हो ।

नगरपालिकाले राहत कोषमा कति जम्मा भएको हो र के के काममा खर्च भइरहको छ भन्ने पुरै विवरण सार्वजनिक गरेको छ । यस्तो कार्यलाई नगरवासीले सराहनीय मानेका छन् ।

शुक्रबार नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचार कोषमा जम्मा भएको रकमको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
नगरपालिकाका लेखा प्रशासन शाखाका प्रमुख पदमबहादुर कार्कीका अनुसार ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को वजेटबाट २० लाख, नगरपालिकाको अन्य शिर्षकबाट रकमान्तर गरिएको ३५ लाख, १ न. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ आएको थियो ।

त्यस्तै, मेचीनगरका राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिगतबाट आएको १४ लाख ६६ हजार ४ सय ३० रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिए ।

चैत २७ गतेसम्म जम्मा भएको उक्त रकममा ४८ लाख ४९ हजार ७ सय ७७ रुपैयाँ कोभिड-१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको नगरपालिकाले जनाएको छ ।

उक्त खर्च रकम मध्ये रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले १५ लाख पेश्की, राहत सामग्री अन्तरगत सुर्यपल्स एण्ड प्रोसेसिङ प्रालि मेनपा–११ ले ६ हजार केजी मुसुरी दाल खरिद बापत ५ लाख ८८ हजार, सुर्य एग्रो प्रालि मेनपा–११ ले ४५ हजार केजी सोना मन्सुली चामल खरिद बापत १८ लाख रुपैयाँ खर्चको भुक्तानी लगेको नगरपालिकाले  जनाएको छ ।

त्यस्तै, लालीगुराँस ट्रेड एण्ड सप्लार्यस मेनपा–६ ले ९ हजार केजी रातो आलु खरिद बापत २ लाख ९२ हजार ५ सय, दुर्गा स्टोर बिर्तामोडले १५ सय लिटर बाबा ब्राण्डको सनफाल्वर तेल खरिद वापत २ लाख ३३ हजार ९ सय १० रुपैयाँ, साल्ट ट्रेडिङ बिर्तामोडले ३ हजार केजी आयो नुन खरिद बापत ५५ हजार ५ सय रुपैयाँ भुक्तानी लगेको कार्कीले बताए ।

यसैगरी, काँकरभिट्टा बजारमा किटनाषक औषधि छिट्ने क्रममा विरामी भएका अभिनाष सुवेदीको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि ७९ हजार ८ सय ६७ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

भद्रपुर स्थित मेची अञ्चल अस्पताललाई आकस्मिक कोष व्यवस्थापनका लागि ३ लाख रुपैयाँ भुक्तानी दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: