झापा । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
विहीबार बिहान ७ जनामा संक्रमण पुष्टि भएसँगै यो आँकडा पूरा भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा गरिएको परीक्षणमा सर्लाही, धनुषा, महोत्तरीका गरी थप ५ जना संक्रमित भेटिएका हुन् ।
विहीबारै बिहान दुई जना संक्रमित थपिएका थिए ।
पछिल्लो जानकारी अनुसार सर्लाही धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया युवती, महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका क्रमशः १६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
आजै बिहान चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ ।