कोरोना सन्त्रास–एकल कविता र राम प्रसाद खरेल

  प्रकाशित मिति
३ चैत्र २०७६, सोमबार ११:३०


                                                  खगिन्द्रा खुसी

बा !
जीवनका थुप्रै साथहरु तिमीसँगै गए,
आमाका आँखामा तिम्रो तस्वीर खोज्दाखोज्दै
टोहोलाएर थाकिसक्छन् मेरा आँखाहरु
मेरा लागि सिङ्गो धर्ती भएर बाँच्ने
विशाल छातीको छहारी
आमाको ओठहश्रमा खोजिरहेछु,
जहाँ तिमी पनि आफ्नो जीवनका सप्पै खुसीहरु खोज्थ्यौं
……….
त्यसपछि माहोल स्तब्ध थियो, सबका आँखा रसाएका थिए । कविले अन्तिम कविता ‘बा’ वाचन गरिसकेपछिको करिव २० सेकेण्ड हललाई ध्वनी शून्य बनाए कविले । त्यसपछि भने धन्यवाद ।
कुरा गएको फागुन ३० गतेको हो । संसार कोरोनामय भएको समय छ । संसारमा कोरोनाको आवत जावत नहोस् भनेर मान्छेको आवात जावत र भेला सबै रोकिएका छन्, त्यही दिन विहान नेपालमा संसद भवनमा सभासद्हरुको भेला पनि कोरोनाको कारणले स्थगित भएको थियो । वाहिर सभा सम्मेलन गर्न रोकिरहेको थियो सरकारले । तर, लेखनाथ पुस्तकालयको मासिक कार्यक्रम शुक्रबारे भेला गर्ने पहिलादेखिकै योजना भएकाले सबैलाई निम्तो गरिसकिएकोले कार्यक्रम गर्ने तयारीमा जुटिरहेको थियो आयोजक पुस्तकालय परिवार र प्रायोजक डाइनामिक ग्रुप नेपाल । अगाडिदेखि तयारी पूरा हुँदै आएका थिए ।

त्यही दिन विहान दिउँसोको कार्यक्रमका लागि घरको काम छिटो सक्ने ध्याउन्नमा थिएँ । नुहाइ धुवाइ सकेर कोठामा आइपुगेपछि पहिलो काम हुन्छ मोवाइल हेर्ने । मोवाइल अन गर्दा गुरु चूडामणि रेग्मीको मिसकल आएको देखेँ । खोलेर हेरेँ तिन मिसकलसहित एउटा म्यासेज आएको रहेछ “आजको कार्यक्रम रोक्न आवश्यक देख्छु ।’ हस्रक्क भएँ । समय जटिल बनेको बेला गुरुले यसो भन्नु पनि ठिक थियो, म आफैं संयोजनमा थिइन् भने आफैंले पनि गुरुले भनेकै कुरा भन्थेँ होला । तर शुक्रबारे कार्यक्रमका संयोजक हरी न्यौपानेले यस कार्यक्रमको सम्पूर्ण संयोजनको जिम्मा मलाई नै लगाउनुभएको थियो । । कार्यक्रमको धेरै तयारी पनि भइसकेको हुँदा, यस कुराले खल्लो बनायो । गुरुलाई फोन लगाएँ उठेन, पुस्तकालयका अध्यक्ष नवराज घिमिरेलाई फोन लगाएँ उहाँले पनि उठाउनु भएन । फेरि खाना पकाउँदै, खाँदै, फूल टिप्दै, माला उन्दै गर्दा विहानको समय सप्पै सकियो । घरबाट निस्किएर हिँड्दा झण्डै साढे एघार भएछ । पुस्तकालयमा माला राखेर, व्यानर लिएर आएर, कार्यक्रमको सेड्युल बनाउँदा साढे बाह्र भयो । कार्यक्रम ठिक समयमा सुरु गर्ने पुस्तकालयको परम्परा छ, ठिक १ बज्दा सम्ममा लगभग सत्तरी प्रतिशत मान्छेहरु आइसकेका थिए । चूडामणि गुरु, कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो, उहाँ आउँदा २ मिनट ढिलो भैसकेको थियो । उहाँ आइपुग्नासाथ कार्यक्रम सुरु गरेँ । सञ्चालक म आफँै थिएँ ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरे सभापति, गुरु चूडामणि रेग्मी प्रमुख अतिथी, आख्यानकार पुण्यप्रसाद खरेल विशिष्ट अतिथि, अनि आज शुक्रवारे भेलाका नायक एकल कविता वाचक रामप्रसाद खरेल, विशेष अतिथि आख्यानकार भवानी क्षेत्री, इटहरीका लेखनाथ अधिकारी, भानु भण्डारीलगायत हलमा उपस्थित सबैलाई आसन ग्रहण गराएँ । आसन ग्रहण परम्परालाई हटाउने प्रयास भइरहेको छ झापामा तर पुस्तकालयले यस परम्परालाई हटाउने भन्दा पनि छिटो छरितो बनाउने प्रयास गरिरहेको छ । टाढा टाढाबाट दिन माया मारेर आएका स्रष्टा सर्जकहरु सबैलाई सिर्जना वाचनमा तथा मन्तव्यमा राख्न त सकिँदैन, कम्तीमा नाम चैँ लिनुपर्छ भन्ने हाम्रो आशय रहेको हो । तर यसकार्यलाई छरितो पार्ने प्रयास भने भइरहेकै छ । आसन ग्रहणपछिका अन्य कार्यक्रम राष्ट्रगानका लागि स्रष्टा देवीचरण भण्डारीले नेतृत्व लिनुभयो, मौनधारण भयो, पानसमा वत्ती बालेर कार्यक्रमको उद्घाटन भयो । उपाध्यक्ष आरती पोख्रेलले शब्दले स्वागत गर्नुभयो । स्रष्टा, आख्यानकार कृष्ण अविरललाई त्यही दिन विहान फोन गरें । कार्यक्रमका नायक स्रष्टा रामप्रसाद खरेलको पाँचवटा कृतिहरु मध्ये दुईवटा कृति ‘रे’ र ‘जननायक प्रचण्ड’ कृष्ण अविरलको पब्लिकेशन ‘मञ्जरी’बाट प्रकाशित भएका थिए । उहाँहरु अलि नजिकबाटै परिचित भएको बुझेकी थिएँ मैले, त्यसैले विहान फोन गरेँ दाजु कृष्ण अविरललाई । उहाँ आउने कुरा त पक्का थियो तर कुनै जिम्मेवारी थिएन उहाँलाई । मैले फोन गरेर उहाँलाई कवि राम प्रसाद खरेलको परिचय दिने जिम्मा दिएकी थिएँ । त्यसरी परिचयका लागि कृष्ण अविरललाई बोलाएकी थिएँ । उहाँले छोटोमा परिचय गराउनुभयो । हामीले बोलाएका कवि रामप्रसाद खरेल प्रगतिशील लेखक संघ सुनसरीका अध्यक्ष हुनुहुन्छ । दाजु कृष्ण अविरल के हुनुहुन्छ मलाई थाहा छैन, उहाँ स्वतन्त्र रुपमा सबैतिर प्रस्तुत भएको पाएकी हुँ । यस्ता कार्यक्रममा मलाई पनि ‘वाद’ नछिरुन् जस्तो लाग्छ । आस्था फरक भएपनि यस्ता कार्यक्रमहरुमा एक अर्कालाई सम्मान जनक रुपमा स्वागत गर्न सक्नुपर्छ । कृष्ण अविरलले कवि रामप्रसाद खरेलको बारेमा छोटोमा कुरा राख्नुभयो । उहाँले भन्नुभयो, ‘प्रगतिशील हुँ भनेर लेख्नेहरुका सिर्जना चैँ संकीर्ण लाग्छन्, नेपाली लेखक संघका सञ्जीव उप्रेतीका सिर्जना पनि प्रगतिशील नै हुन्छन्, राम प्रसाद खरेल प्रगतिशील भएर पनि संकीर्णताबाट माथि हुनुहुन्छ ।’ अब पालो आयो कविराम प्रसाद खरेलको एकल कविता वाचनको । एक घण्टा समय तोकेर, कविको इच्छामा समय घटाउन, बढाउन सकिने कुरासहित माइक्रोफोन कवि राम प्रसाद खरेलको हातमा थमाइदिएँ ।

कविता सुरु गर्नु भन्दा पहिला उहाँले आफ्नो बारेमा केही कुरा भन्नुभयो । त्यसपछि सुरुभयो एक घण्टाको कविता यात्रा पहिलो कविता “नयाँ भूगोल तर्फ…..” थियो यो एउटा प्रेमिल कविता थियो । दोस्रो तेस्रो गर्दै कविता क्रमशः अगाडि बढ््दै गए । धेरै जसो कविता प्रगतिशील, क्रान्ति र आन्दोलन, कम्युष्टि चेतमा केन्द्रित थिए । केही कवितामा जीवन दर्शन पाइन्थ्यो, कुनै कविता प्रेमील थिए । एक घण्टाको समय निरन्तर बोलिरहन गाह्रो हुने हो कि भनेर आवश्यक परे बिचमा विश्राम लिन सक्नु हुन्छ भन्ने कुराको सल्लाह चिर्कटोमा लेखेर दिएँ । तर “म निरन्तर लामो समय सम्म समाचार भन्न सक्ने मान्छे हुँ, एक घण्टा मेरा लागि गाह्रो कुरा होइन” भन्नुभयो र कविता नै निरन्तर भनिरहनु भयो । हल खचाखच थिएन तर ठिक्क भरिएको थियो । धुलाबारीदेखि दमकसम्मका साहित्यकारहरुको उपस्थिति रहेको थियो भने इटहरीबाट स्रष्टा रामप्रसाद खरेलको साथमा आउनुभएका सातजना अतिथि पनि हुनुहन्थ्यो । इलाम चिसापानीबाट शिव अधिकारी पनि आउनु भएको थियो । कोरोनाको भयबाट मुक्त भएर राम प्रसाद खरेलको एकल कविता वाचन कार्यक्रमलाई सफल पार्नका धेरै तिरबाट उपस्थित महानुभावहरुप्रति मनमनै कृतज्ञ बनिरहेकी थिएँ म । मलाई राम सरको ‘बा’ कविता असाध्यै मन पर्छ । त्यसैले त्यो कविता भनिदिए हुन्थ्यो । दर्शक श्रोताका लागि पनि त्यो कविता उत्कृष्ट ठहरिने लागेर अनि राजनीतिमा आधारित कविता अलि बढी नै भए जस्तो लागेर पनि मैले एउटा चिर्कटोमा ‘बा’ भन्नु न” लेखेर दिएँ । त्यसपछि भने किन हो उहाँले त्यो कविता भन्नुको साटो एकछिन विश्राम लिन्छु भन्नु भयो । त्यही समयको उपभोग गर्दै मैले डाइनामिक ग्रुपका उपाध्यक्ष गायक अर्जुन खरेललाई गीत गाउनका लागि माइक्रोफोनमा बोलाएँ । उहाँले उदय सोताङको “हजार जुनी सम्म …..” बोलको गीत अत्यन्तै सुन्दर रुपमा गाएर सबैलाई मन्त्रमुग्ध बनाउनुभयो । त्यही समयमा नयाँ आउनुभएका केही अतिथिहरुलाई आसनग्रहण गराईहालें । त्यसपछि अन्तिम दुईवटा कविता वाचन गर्नुभयो कविले । सबै भन्दा अन्तिममा भन्नु भयो ‘बा’ कविता ।

सबै कविता वाचन गर्नुभन्दा पहिला अलकति भूमिका बाँध्नु भयो कविले । उहाँका भूमिकाबाट थाहा भयो उहाँले वाचन गरेका केही कविता उहाँको जीवनको यथार्थ घटनामा आधारित थिए । ती मध्ये “बाँकी कविता तिमीले लेख्नू…” शीर्षकको कविता एक हो । केही वर्ष अगाडि कविलाई प्राणघातक रोगको लागेको शंका गरेछ डाक्टरले “मृत्युको नजिक छस्, इच्छाहरु छन् भने पूरा गरिहाल” भनेपछि आफ्नी जीवन संगीनीलाई हेरेर लेखेको कविता । अत्यन्तै मार्मिक र भावुक बनाउने कविता थियो । त्यसपछि भने ‘बा’ कविता । आफ्ना ‘बा’(बुबा)को रोगका कारण निधन भएपछि तिनै बा को सम्झनामा लेखिएको ‘बा’ कविता झन् मन छुने, मर्मस्पर्शी थियो । त्यही कविता भनिसकेपछि त ……. माहोल स्तब्ध थियो, सबका आँखा रसाएका थिए । कविले अन्तिम कविता ‘बा’ वाचन गरिसकेपछिको करिव २० सेकेण्ड ध्वनी शून्य बनाए । त्यसपछि भने –“धन्यवाद” । रामप्रसाद खरेलसँगै आउनु भएका इटहरीका लेखनाथ अधिकारी, भानु भण्डारी र पुण्य प्रसाद खरेलले मन्तव्य राख्नुभयो ।

चूडामणि गुरुले भन्नुभयो, “प्रेमका, भावना परक लेख्ने हो भने त्यस्तै मात्रै लेख्नुपर्छ, प्रगतिशील लेख्ने हो भने त्यस्तै मात्रै लेख्नु पर्छ ।” कवि राम खरेल ओशोको अनुयायी भनेर पनि परिचय दिइएको थियो, त्यस विषयको भने खण्डन गर्नुभयो गुरुले । धर्मलिएर आउने व्यक्तिहरुको पछि लाग्ने परम्पराप्रतिको उहाँको विमती प्रस्तुत गर्नुभयो । कविले पुस्तकालयलाई सुनसरी प्रलेशले प्रकाशन गरेको दुईवटा कृतिहरु प्रदान गर्नुभयो, सभापतिले पनि कविलाई मायाको चिनो प्रदान गर्नुभयो । यसरी झण्डै चार वजिसकेको थियो, सभापतिले मन्तब्यसहित कार्यक्रमको समापन गर्दा ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: