मेचीनगर । कोरोना भाइरसको संक्रमण सारलास् दमाई भन्दै कुटपिट गर्ने श्रेष्ठ परिवारलाई प्रहरीले पक्राउ गरेको छ ।
जातीय भेदभाव गर्दै कुटपिट गर्ने मेचीनगर–१३ स्थित चारआलीका श्रेष्ठ परिवार विरुद्ध मङ्गलबार मुद्दा दर्ता भएको छ ।
जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधान विरुद्ध ईलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी परेको हो ।
उनीहरुविरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियार (निरु), ध्रुब कनाल, रञ्जीत परियार लगायतको अगुवाईमा उजुरी दर्ता भएको छ ।
श्रेष्ठ परिवार पक्राउ परेका छन् । उनीहरुलाई मङ्गलबारै जिल्ला अदालत झापाबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
घटना अनुसार चारआली इलाम रोडका राजन दर्जी दुई महिना अघि भारतबाट आएर शनिशचरे माविको क्वारेन्टिनमा बसेका थिए ।
क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका थिए । उनलाई श्रेष्ठ परिवारले सधै दमाई कोरोना सारलास भन्दै जथाभावी भन्ने गरेको श्रोतको भनाइ छ ।
सोमबार राती पनि त्यसै भनेपछि रिस सहन नसकेर दुवै पक्षवीच घम्साघम्सी परेको थियो । राजन भागेर उनकै घरमा डेरामा बसेकी
चन्द्रकला लामगादे र सागर खातीलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए ।
श्रेष्ठ दम्पतीले राजनलाई जातीय रुपमा होच्याउँदै कुटपिट गरेपछि चन्द्रकलाले प्रतिकार गरेकी थिइन् । उनले यो समयमा जातभातको कुरा नगर्न आग्रह गर्दा उल्टै उनीमाथि श्रेष्ठ दम्पती जाई लागेका थिए ।
चन्द्रकला सात महिनाकी गर्भवती हुन् । उनी अहिले बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत छिन् । उनको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उनका पति सागरले बताए ।
हाल काठमाडौँमा कार्यरत चन्द्रकला महिला प्रहरी हुन् । उनी बहालवाला राष्ट्रिय खेलाडी समेत हुन् । गर्भवती भएकी कारण उनी विदामा घर आएकी थिइन् ।
कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ भने नेपाली सेनाबाट अवकास प्राप्त व्यक्ति हुन् ।