धनकुटा, १ भदौ । सडक भासिएपछि कोशी राजमार्ग आइतवारदेखि अवरुद्ध भएको छ ।
राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा–९ खुरिलामा करीब एक सय मिटर सडक भासिएको छ ।
मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो दिएको छैन ।
सडक करीव ३ मिटरभन्दा बढि भासिएको छ । कमेरे माटो र पानी उम्रिने क्षेत्र भएकाले नियमित वर्षाका कारण सडक भासिएको हो । एक हप्तादेखि सडक भासिदै आएको थियो ।
सडक भासिएका कारण सडक छेउमा रहेका बिद्युतका पोलहरुसमेत ढल्ने लागेका छन् । पोल ढले दुर्घटना निम्तिन सक्ने र धनकुटामा विद्युत आपुर्ति बन्द हुने समेत चुनौति थपिएको जनाइएको छ ।
सडकको भित्तातर्फ माथिबाट जमिन सोहोरिएर आएकाले त्यहाँ भन्दा माथिको बस्तीसमेत जोखिममा परेको हो ।
डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानवहादुर शाक्यले सडकभन्दा माथिल्लो भाग तासेर सडक एकतर्फी रुपमा चलाउने व्यवस्था मिलाइने बताए ।