को बन्लान् शक्तिशाली ?

  प्रकाशित मिति
७ जेष्ठ २०७४, आईतवार ०९:५५


ranjuगणतन्त्रपछिको पहिलो स्थानीय निर्वाचनमा धेरैको ध्यान तानिरहेका छन्, चार प्रमुख महानगरले । ती महानगरमध्ये पनि धेरैको उत्सुकता र चासो छ काठमाडौंका दुई उम्मेदवार–रञ्जु दर्शना र किशोर थापामा ।

राजधानी महानगरमा कसले जित्ला भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । मतगणनाको प्रतिस्पर्धामा मेयर उम्मेदवारद्वय विद्यासुन्दर शाक्य (नेकपा एमाले) र राजुराज जोशी (नेपाली काङ्ग्रेस) छन्। तर रोचक प्रतिस्पर्धा चाहिँ रञ्जु र किशोरबीच नै चलिरहेको छ ।

यो प्रतिस्पर्धा किन रोचक छ भने अब उनीहरू एमाले वा काङ्ग्रेससँग होइन, आपसमा कसले धेरै मत प्राप्त गर्ने भन्ने टकरावको मुडमा देखिन्छन् । विवेकशील वा साझा पार्टीका समर्थक वा सङ्गठकहरू आफ्नो उम्मेदवारले अर्को उम्मेदवारभन्दा धेरै मत पाउनासाथ ट्वीट र स्टाटस लेखिरहेका भेटिन्छ । एमाले र काङ्ग्रेसको मत धेरै अगाडि हुँदा पनि उनीहरू सबैभन्दा अघि आफ्नो दलले कति प्राप्त गर्यो भन्ने कुरा प्रचार गरिरहेका पाइन्छन् ।

?????????????????????????????????????????????????????????

पछिल्लो मतगणनाअनुसार यी दुई पार्टीले महानगरमा एमाले र काङ्ग्रेसभन्दा पछिको तेस्रो र चौथो मत मात्रै हासिल गरिरहेका छन् । तर उनीहरू आपसमा प्रतिस्पर्धा किन गरिरहेका छन् त ? किनभने उनीहरू दुवैको भोट–ब्याङ्क एउटै हो, उनीहरू दुवै झण्डै–झण्डै उस्तै एजेन्डा लिएर गठन भएका पार्टी हुन् । चुनावमा जाँदा पनि यी दुई पार्टीले पुराना ठूला दलका असफलता औंल्याउँदै आफूलाई नयाँ दाबी गरेका थिए । उनीहरूले विकास, समृद्धि, युवा नेतृत्व, पारदर्शिता, भ्रष्टाचारको अन्त्य जस्ता नारा दिएका थिए ।

उनीहरूले एक–आपसमा प्रतिस्पर्धी ठान्नुको अर्को पनि कारण छ । त्यो हो–काठमाडौं महानगरमा उम्मेदवारी दिँदा साझा र विवेकशील दुवै पार्टीबीच आपसमा तालमेलका लागि प्रयत्न भएको थियो । तर, एक अर्काले आफूलाई नै मेयर चाहिने दाबी गरेपछि त्यो सफल हुन सकेन । सामाजिक सञ्जालहरूमा यी दुई पार्टीका शुभचिन्तकहरूले काठमाडौँमा मिलेर चुनाव लड्न सुझाएका पनि थिए ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एक अन्तर्वार्तामा ‘हामीबीच कुरा मिलेन, आफै–आफै लड्दैछौँ’ भनेका थिए । त्यो नमिलेको कुरा एक–अर्काले आफूलाई शक्तिशाली ठान्नु पनि एक थियो ।

चुनावमा आइरहेको मत परिणाम यी दुवै पार्टीका लागि परीक्षाको नतिजा जस्तो भइरहेको छ । जनताले कुन पार्टी वा कुन उम्मेदवारलाई कति मत दिन्छन्, त्यसका आधारमा भविष्यमा पनि यी दुई ‘नयाँ शक्ति’बीच तालमेल वा एकता हुने–नहुने निर्धारण गर्न सक्छ । एकता हुँदा पनि कुन दल शक्तिशाली वा ठूलो भन्ने मापन यही निर्वाचनको मत परिणामलाई लिनुपर्ने भएको हुँदा उनीहरूबीच आपसी प्रतिस्पर्धा अनुमान गर्न सकिन्छ ।

उनीहरूको मत–प्राप्तिलाई अरू दलले पनि रोचक र अप्रत्यासित मानेका छन् । संविधान सभामा तेस्रो स्थान हासिल गरेको र अहिले पनि तीनवटै प्रदेशमा तेस्रो ठाउँमा प्रतिस्पर्धा गरिरहेको माओवादी केन्द्रलाई समेत यी दुई उम्मेदवारले काठमाडौंमा पछि पारिरहेका छन् ।

हजारौं मत गन्न बाँकी रहे पनि यी दुवै उम्मेदवारले निकटतम तेस्रो र चौंथो स्थानबाट पछ्याउनु एमाले र काङ्ग्रेसका लागि पनि आँखा विस्फारित पार्नुपर्ने विषय बनेको छ । कुनै पनि वडामा पुग्दा आफ्ना उम्मेदवारले अग्रता पो लेलान् कि भन्ने कुतूहलता साझा र विवेकशीललाई हुन सक्छ । त्यसरी नै एमाले र काङ्ग्रेसलाई नजिक–नजिकबाट पछ्याइरहनु सुखद सङ्केत होइन भन्ने लागेको हुन सक्छ ।

पुराना पार्टीको असफलतालाई सबैभन्दा बढी ‘चुनावी मसला’ बनाइरहेका यी दलप्रतिको मतदाताको आकर्षण ठूला दलका लागि भविष्यमा पनि चुनौती हुन सक्छ ।

साझा पार्टीका किशोर थापा नामका किशोर छन् तर उमेरले उनले धेरै कार्यानुभव बटुलिसकेका छन् । प्रशासनिक क्षेत्रको उच्च ओहोदामा रहेर काम गरिसकेका थापा विधागत हिसाबले सहरी विकासका इन्जिनियर पनि हुन् । त्यस्तै विवेकशील पार्टीकी रञ्जु उमेरले नयाँ हुन् तर धेरै युवाहरूले उनमा आफ्नो भविष्य खोजिरहेका हुन सक्छन् । उनले लामो राजनीतिक अनुभव हासिल नगरेको भए पनि युवा जमातले उनीबाट अपेक्षा गरेको उनले प्राप्त गरेको मतबाट पनि अड्कल काट्न सकिन्छ ।

केही वर्षअघिदेखि काठमाडौंमा सक्रिय रहेको र दोस्रो संविधानसभाको निर्वाचनमा भाग समेत लिएको विवेकशील पार्टीले डाक्टर गोविन्द केसीको अनसन, भूकम्पपछिको उद्धार–राहत लगायतका अभियानमा सहभागिता जनाइसकेको थियो । पत्रकार रवीन्द्र मिश्रको नेतृत्वमा केही महिनाअघि मात्रै प्रस्तावित पार्टीका रूपमा आएको साझा पार्टी भने ‘हाइ प्रोफाइल’ व्यक्तिहरू एक्कैचोटि जोडिएर गठन गरिएको नयाँ पार्टी हो । उसले काठमाडौंमा पार्टीकै भूमिकामा धेरै कामको अनुभव नै बटुलेको छैन ।

उस्तै–उस्तै नारा र एजेन्डा लिएका यी दुई पार्टी र उम्मेदवारमध्ये मतगणनाको अन्तिमसम्म को अघि हुन्छन्, त्यो त हेर्न बाँकी नै छ । तर, त्यतिन्जेलको प्रतिस्पर्धा पनि आपसमा रोचक भइरहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: