को हुन् यी सेता भेस्टधारीहरु ?

  प्रकाशित मिति
३ असार २०७४, शनिबार ०९:११


seto vestdhariगौरीगञ्ज । ‘झापाको मधेश’ भनेर चिनिएको गौरीगञ्जको बजार क्षेत्रमा केही दिन यता पञ्जा चिह्न अङ्कित सेतो भेस्ट लगाएका युवाको हुल छ्याप्छ्याप्ती देखिन थालेको छ ।

एमाले होस् या काङ्ग्रेस, माओबादी होस् वा राप्रपा, जसले सभा जुलुसको आयोजना गरे पनि त्यही जुलुसको एक कुनामा उपस्थिति जनाउने सेतो भेस्टधारीहरुको गतिविधिलाई स्थानीय दलहरुले पनि के हो भनेर बुझ्न सकिरहेका छैनन् ।

बुधवार अपरान्ह गौरीगञ्ज बजारमा नेपाली काङ्ग्रेसको उम्मेद्वार घोषणा सभा थियो । पार्टीका युवा नेता विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, डा. शेखर कोइराला, जिल्ला सभापति उद्धव थापा लगायतका नेताहरु सहभागी रहेको सभा चलिरहेका बेला हरेक मानिसको ध्यान चाहिँ सेतो भेस्टधारीतिर थियो ।

कार्यक्रमस्थलमा काङ्ग्रेसको तरुण दल लगायतका विभिन्न भ्रातृ सङ्गठनका कार्यकर्ता रुख र चार तारा अङ्कित भेस्टमा ठूलो सङ्ख्यामा थिए । तर आकर्षणको केन्द्र भने सेतो भेस्टधारीहरु नै बनेका थिए ।

seta (2)१८ देखि २५ वर्ष उमेर समूहका को हुन् त यी सेतो भेस्टधारीहरु ? वास्तवमा यी सेतो भेस्टधारीहरु कुनै राजनीतिक दलका कार्यकर्ता होइनन् । न त यिनीहरुले नयाँ दल नै खोलेका छन् ।

अहिलेका राजनीतिक दलहरुप्रति रुचि नजागेको बताउने उनीहरु आफुलाई स्वतन्त्र युवाहरुको समूह भनाउन रुचाउँछन् ।
करीव ५० को सङ्ख्यामा गौरीगञ्ज बजारमा देखिएका उनीहरु गाउँपालिकाभरि डेढ सयको सङ्ख्यामा भएको दावी गर्छन् । जुन पार्टीले सभा र जुलुसको आयोजना गरे पनि उनीहरु सेतो भेस्ट लगाएर निसङ्कोच सहभागी हुन्छन् ।

पाँच औलाको छाप देखिने गरी उनीहरुको सेतो भेस्टमा पञ्जाको चिह्न छ भने नाराको रुपमा लेखिएको छ–‘हाम्रो देश हामी बनाउँछौँ ।’ कुनै पार्टीसँग आवद्ध नरहेको बताउने उनीहरु मधेसी, जनजाति र बाहुन क्षेत्री लगायत सबै जातका छन् । उनीहरुको भेस्टमा ‘युवा शक्ति’ लेखिएको छ ।

‘धेरै मानिसले हामीलाई देखेपछि अचम्म मानेर सोध्नुहुन्छ, तपाइँहरु कुन पार्टीको कार्यकर्ता हो ?’, सेतो भेस्टधारीको नेता बताउने पुष्पबहादुर कार्की लोकतन्त्र पोस्टसँग भन्छन्–‘तर, यथार्थ के हो भने हामीहरु देशको नाजुक अवस्थाबाट बहुतै चिन्तित छौँ र देशलाई बनाउन आफै अघि सर्नु पर्छ भन्ने भावनाले ओतप्रोत भएर हामी छुट्टै समूहमा गाँसिएका हौँ । हाम्रो कुनै पार्टी छैन ।’

seta (1)सेतो भेस्टमा भेटिएका एक युवा हुन् विशाल दास । ‘युवा शक्ति’ लेखिएको भेस्टधारी उनी काठमाडौँको न्यू समिट कलेजमा बीए पढ्दै छन् । उनी जस्तै अर्का युवा सङ्गीत दास पनि काठमाडौँमै कलेज पढ्छन् ।

विशालले केही दिन अघि मात्र काठमाडौँबाट गाउँ आएको बताए । काठमाडौँमा फर्किनासाथ उनीहरुमा केही नयाँ गरौँ गरौँ जस्तो लाग्यो रे । तर उनीहरु विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनाबाट प्रभावित भए झैँ देखिन्छ । बजारको सरसफाई र सामाजिक कार्यमा स्वयम्सेवा गर्दै आएका उनीहरु यो चुनावमा कुनै पार्टीमा पनि नलाग्ने बताउँछन् ।

राजनीति नगर्ने सहमति बनेको बताउने उनीहरु नम्र बोल्छन् । भीड हटाउने र तिर्खाएका बटुवालाई पानी खुवाउने जस्ता काममा पनि उनीहरु जुट्न थालेका छन् । यिनीहरुको सक्रिय उपस्थितिले गौरीगञ्जमा सूर्य र रुख चिह्न अङ्कित दलका भेस्टधारीहरु समेत ओझेल परेका छन् ।

प्रमुख दलका एक जना स्थानीय नेताले सुरु सुरुमा स्वतन्त्र भएको देखाउने यी युवाहरु कि त कुनै दलका छद्म कार्यकर्ता कि त विवेकशील जस्तै नयाँ पार्टीका सङ्गठक भएको अनुमान सुनाए ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: