कौसीमा करेसाबारी

  प्रकाशित मिति
१३ फाल्गुन २०७२, बिहीबार १३:१३


karela
विर्तामोडको व्यस्त कृषिथोक बजार नजिकैको घर । त्यसो त विर्तामोड कङ्व्रिmटहरूको सहर जस्तै छ । खाली जग्गा देख्नै गाह्रो । करेँसा बारीको त कल्पनै नगरौँ । तरकारी खेती गर्ने जमिन नभए के भयो र ? झापाका सहरियाहरूले घरको कौसीमै करँेसाबारी बनाएका छन् ।
साहित्यकार भवानी क्षेत्रीको घरको कौसी हेर्न जाने हो भने तरकारीले ढाकेको छ । करेला, टमाटर, घिउ सिमी र कागती लटरम्यै छन् । लह लह तोरी, रायो, लसुन प्याज, फर्सी, सिस्नो, कुरिलो, खुसार्नी, पदिना, धनियाँ, लसुन र टुसाउँदै गरेको भिन्डीले कौसी नै हराभरा बनाएको छ ।
फुलकी सौखिन क्षेत्री एक दिन छतको फुलदानीमा आफैँ उम्रिएको खुर्सानी फलेपछि छक्क परिन् । त्यसपछि कौसीखेतीतर्फ यिनको नजर तानियो । ‘पहिलेदेखि घरमा जम्मा भएको फोहोर गमलामा राख्थेँ र फुल रोप्थेँ’, क्षेत्रीले कौसीखेतीको रहस्य सुनाइन्,‘आफैँ खुर्सानी उम्रेर फेलेको देखेपछि गमलामा तरकारी पनि फल्दो रहेछ भनेर फुलबाट फलतिर लागेँ ।’ कौसीको तरकारी बारीले घरको सुन्दरतासँगै अक्सिजन पूर्तिको लागि पनि सहयोग गरेको क्षेत्रीको भनाइ छ ।

कौसीको वरिपरि माछाका थर्मकल, प्लास्टिकका बट्टा, बोतल, टिनका बट्टा, आदि काटेर बनाइएका भाँडामा भान्सा र घरबाट निस्किएको फोहोर जम्मा गरेर उनले विभिन्न जातका तरकारी लगाउने गरेकी छिन् । त्यति मात्र होइन उनले सँगै कौसीको एक साइडमा ३ फुट उचाइ डेडफुट गहिराइ र १५ इन्च चौडाइ गरेको पक्की ड्रेन बनाएर सब्जी लगाएकी छिन् ।

् ‘सिजन अनुसारको फल बारे थाहा छैन बजारमा जे देख्छु त्यही रोप्छु ।’ कौसीमा तरकारी फलाउन थालेको १० वर्ष बितिसकेको बताउँदै मौसमी तरकारी खेती बारे बेखबर क्षेत्री भन्छिन् ‘तालिम लिएर गर्न पाए धेरै हुनेथियो ।’ उनले बढ्दो सहरीकरण र विषादी युक्त तरकारीले स्वास्थ्यमा पु¥याइरहेको अवसरलाई मध्यनजर गरेर सरकारले तालिमको व्यवस्था गरे सिजन अनुसारको तरकारी लगाइने र उपलब्धि पनि धेरै हुने बताइन् । बजारमा आउने तरकारीमा रासायनिक मल र विषादीको प्रयोग बढेकाले स्वस्थकर तरकारी खान पनि आजकल आफ्नै कौसीको तरकारीमा बढी भर पर्न गरेको क्षेत्रीको भनाइ छ ।

क्षेत्री मात्र होइन यतिबेला आसपासमा रहेका धेरै घरमा उनकै सिको गरेर लगाइएको तरकारीले कौसी नै हराभरा देखिन्छ । विर्तामोडको मुक्तिचोक दक्षिण २०० मिटरको दुरीमा रहेको प्रगतिमार्ग स्थित उषा राई र सीमा ढुङ्गानाको छत पनि उस्तै हराभरा छ । राई र ढुङ्गानाको कौसी यति बेला घिरौँला, मकै, लौका, झिङ्गना, बैगुन, चटेला, फर्सी, करेला टमाटरलगायतका तरकारीले भरिभराउ छ । उनीहरू आफूकहाँ आउने पाहुनालाई समेत मौसमअनुसारको तरकारी कोसेली दिएर पठाउँछन् । उनीहरू एकै स्वरमा भन्छन् ‘अरू सब्जी किन्न भन्दै बजार धाउँछन् हामी छतमा ।’

उनीहरूले आफूलाई चाहिने सबै खालका तरकारी माछाका थर्मकलमा नै उत्पादन गर्ने गरेको बताउँछन् । घरमै सडेगलेको खानेकुरा र सब्जी गोडमेल गर्दा निकालेको झारपातबाट निस्किने मल बाट नै प्रशस्त मात्रामा तरकारी उत्पादन गरेको बताउँदै ढुङ्गाना भन्छिन् ‘बिहान बेलुका निकालेको आधा घण्टाको समयले नै रासायनि मल हालेको तरकारीको बिगबिगीमा स्वस्थ तरकारी खान पाइएको छ ।’ ढुङ्गाना र राई छिमेकी हुन् । ढुङ्गानाको कौसी खेतीबाट प्रभावित राईले एक वर्षदेखि तरकारी लाउन थालेको बताउँदै भनिन् ‘यस्तो खेतीबाट ताजा तरकारी मात्र पाइँदैन, घरसमेत हरियोपरियो हुन्छ । उनी बिहान बुलेका कौसीमा निस्कँदा रमाइलो लाग्ने बताउँछिन् ।

यति बेला कौसी खेती विर्तामोडमा मात्र होइन काँकरभिट्टामा पनि सुरु भएको छ । विगत ३ वर्षअघि देखि काँकरभिट्टा बजारमा रहेको आफ्नो घरमा कृष्णप्रसाद उप्रेतीले पनि मनग्ये तरकारी उत्पादन गर्न थालेका छन् । उमेरले ७५ वर्ष काटिसकेका उप्रेतीको बिहान र बेलुकाको समय कौसीमा रहेको तरकारीको हेरचाहमै बित्ने गरेको छ ।

घरमा आउने पाहुनादेखि छरछिमेक पनि उनको यो पौरख देखेर छक्क पर्छन् । उनले घरको छतमा डबल ढलान गरी प्लास्टिक ओछ्याएर माटो भरी तरकारी लगाउन थालेको बताए । उनले कौसी खेतीसम्बन्धी तालिम नलिए पनि मौसमी तथा बेमौसमी तरकारी बारे राम्रो ज्ञान भएको बताए । यति बेला उनको कौसीमा उखु, स्कुस, मकै, साग, करेला, फर्सी, लौका, पालुङगोलगायतका तरकारीले हराभरा छ । ‘गरे के हुन्न र’, उनी भन्छन् ‘आफू मात्र होइन छरछिमेक र पाहुनालाई कोसेलीसमेत दिने गरेको छु ।’ घरबाटै निस्कने फोहोर मैलासँगै गोबर मल समेत किनेर तरकारीमा हाल्ने गरेको बताउँदै उप्रेती बताउँछन् । स्वस्थ र ताजा तरकारी खानका लागि घरकै छतमा सजिलै उत्पादन गर्न सकिने हुँदा कौसी खेतीतिर लाग्न उनी सहरियाहरूलाई सुझावसमेत दिन्छन् ।

जिल्ला कृषि कार्यालयले बढ्दो सहरीकरणलाई मध्यनजर गरेर कौसी बारे तालिम दिन थालेको छ । सरकारले यस बारेमा कुनै योजना नपठाए पछि जिल्लाले आफैँ तालिमको व्यवस्था गरेको बताउँदै कर्मचारी फडीन्द्र भट्टराईले भने ‘विषादी न्यूनीकरणमा सहयोग पुग्ने हुँदा आगामी आर्थिक वर्षमा सरकारसँग कौसी खेतीका बारेमा प्रस्तावना नै पठाउने छौँ ।’ उनका अनुसार झापाका चन्द्रगढीमा कौसीदेखि सम्बन्धी तालिम स्थानीय साई मन्दिरमा ३० जना महिलालाई दिइसकिएको छ । उनले कौसी खेतीको बारेमा प्रोत्साहन दिनका लागि चाँडै विर्तामोड र दमकमध्ये एक ठाउँमा फेरि पनि तालिमको आयोजना गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: