क्यान्सरका बिरामी झापामा धेरै, एक वर्षमै २७८३ जना संक्रमित

  प्रकाशित मिति
२७ माघ २०७७, मंगलवार १३:३५


।। अम्बिका भण्डारी ।।
झापा, २७ माघ (रासस) । झापामा क्यान्सर रोगीको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौति बनेको छ ।

प्रदेश नं. १ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका रोगी ओपीडीमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

एक वर्ष अघि विर्तामोडमा स्थापना भएको यो अस्पतालमा सोही अवधिमा १८ हजार ४४५ जनाले क्यान्सरकै उपचार गराएका छन् । जसमध्ये दुई हजार ९४५ जना क्यान्सरका नयाँ बिरामी थिए ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार एक वर्षको अवधिमा अस्पतालमा ५८० जना क्यान्सरका विरामीको शल्यक्रिया र ६५४ जनाको रेडियोथेरापी बिधिबाट उपचार गरिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर एवम् क्यान्सर रोग विशेषज्ञ डा. बीरेन्द्र यादवले नेपालभरिकै तथ्यांकलाई हेर्ने हो भने झापामा सबैभन्दा बढी क्यान्सरका बिरामी रहेको बताए । उनका अनुसार काठमाडौं, भक्तपुर, चितवन र भारतको विभिन्न सहरमा उपचारमा जाने क्यान्सरका बिरामीहरुमा झापाकै धेरै भएको बताए ।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा देशभरिकै जिल्लाबाट बिरामी आउने गरेको जानकारी दिदै झापामा बढिरहेको क्यान्सर संक्रमण न्यूनीकरणका लागि व्यापक जनचेतना अभियानको जरुरत रहेको बताए ।

गत एक वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दुई हजार ९४५ जना नयाँ बिमारीमध्ये आधा झापाकै छन् । अस्पतालले जनाए अनुसार सो अवधिमा एक हजार ४६२ जना क्यान्सरको उपचारका लागि आएका नयाँ बिरामी झापाकै थिए । मोरङबाट ४३१ र सुनसरीबाट २९६ जना नयाँ बिरामीले क्यान्सरको उपचार लिएका छन् ।

‘‘क्यान्सरका जति बिरामीहरु आउनुहुन्छ, तीमध्ये धेरैजसो महिला र त्यसमा पनि स्तन क्यान्सरका बिरामी हुनुहुन्छ,’’ डा. यादवले भने –‘‘विषादीयुक्त खानपान, चुरोट–मदिराको सेवन र बेलैमा स्वास्थ्य परीक्षण नगराउने आदतले गर्दा क्यान्सर फैलिरहेको छ ।’’

उनी कार्यरत रहेको अस्पतालले एक वर्षमा १४९ जनाको स्तन क्यान्सर, १०७ जना फोक्सो क्यान्सर र ८४ जना पाठेघरको मुखको क्यान्सरको उपचार गरेको छ । पाठेघरको मुख, डिम्बाशय र स्तन क्यान्सर महिलालाई लाग्ने रोग हो ।

नेपालमा हरेक वर्ष ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन् । सरकारले विपन्न बिमारीका लागि उपचारमा सहायता पुर्याउन कोष खडा गरी एकपटकका लागि स्थानीय तहको सिफारिसमा रु. एक लाखको उपचार सहयोग गर्दै आएको छ ।

झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालसहित नेपालमा क्यान्सर अस्पतालको संख्या पाँच मात्र छ । क्यान्सरको उपचार प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या १२ छ भने मुलुकभरिमा क्यान्सर रोग विशेषज्ञको संख्या ६० मात्र छ ।

आर्थिक वर्ष २०७६/०७७ मा झापामा एक हजार ३२१ जना क्यान्सरका बिरामीले जनही रु. एक लाखको विपन्न कोषबाट उपचार सहायता लिएका छन् । बिरामीले एक पटक मात्र यस्तो सहायता पाउँछन् । उक्त अवधिमा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न उपचार कोष लागू भएको थिए ।

सो अस्पतालमा उपचार गराएका एक हजार ४६२ र अन्य अस्पतालमा उपचार गराउँदा सहयोग पाएकाहरुको संख्या जोड्दा झापामा गत वर्ष दुई हजार ७८३ जना क्यान्सरका नयाँ बिरामीको पहिचान भएको देखिन्छ । मुलुक बाहिर गएर उपचार गराउनेको संख्या यहाँ सामेल छैन ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई झापामा क्यान्सर रोगको संक्रमण भयावह रुपमा फैलिरहेको बताए । रोग लागेर उपचार गर्न धेरै धनराशी खर्च गर्नुभन्दा रोग लाग्नै नदिने रोकथामको उपायमा लाग्नु राम्रो हुने उनको धारणा छ ।

चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले बताए ।

खानपान र व्यायाममा ध्यान दिने हो र तनावबाट मुक्त रहने हो भने क्यान्सरको मात्र होइन, धेरै प्रकारका रोग लाग्नबाट जोगिन सकिने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: