क्यान्सर उपचारमा सरकारी सहयोग पाँच लाख पुर्याउनु पर्ने माग

  प्रकाशित मिति
१ श्रावण २०७८, शुक्रबार १२:१०


।। अम्बिका भण्डारी ।।

झापा, १ साउन । क्यान्सर, मिर्गौला रोग, मुटुरोग आदिको उपचारमा नेपाल सरकारले विपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराउँदै आएको सहयोग रकम बढाएर रु. पाँच लाख पुर्याउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

स्थानीय पालिका र अस्पतालको सिफारिसका आधारमा सरकारले स्वास्थ्य सेवा विभागमार्फत त्यस्ता विरामीलाई कोषमार्फत हाल रु. एक लाखसम्म उपचार सहयोग प्रदान गर्दै आएको छ ।

“मेरी आमाको पाठेघरको मुखको क्यान्सरको उपचार गराइरहेको छु, डाक्टरहरुले रु. तीन लाख ५० हजार सुरुमै लाग्छ भन्नु भएको छ,” झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालले विहीवार विर्तामोडमा आयोजना गरेको क्यान्सरको रोकथाम तथा न्यूनीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय लोकचन्द्र श्रेष्ठले भने–“शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र औषधि गर्दै जाँदा खर्च कति लाख पुग्ने हो टुङ्गो हुँदैन । तर, सरकारले रु. एक लाख मात्र दिने रहेछ ।”

विरामीका आफन्त मात्र होइन, स्वास्थ्यमा सरोकार राख्ने संघ संस्था, सञ्चारकर्मी र चिकित्सकहरुले पनि क्यान्सरको उपचार जटिल र महँगो हुने भएकाले सरकारले विपन्नलाई उपचारमा सघाउने रकम बढाउनु पर्ने धारणा राखेका छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले विपन्न नागरिक उपचार कोषले रु. पाँच लाख उपलब्ध गराउने हो भने पीडितले उपचारमा राहत महसुस गर्ने बताए ।

“प्रायः बिरामीहरु तेस्रो वा चौथो चरणमा पुगिसकेपछि ढिलो गरेर अस्पतालमा आउनु हुन्छ, त्यस्तो अवस्थामा उपचार निकै जटिल हुन्छ,” गिरी भन्छन्–“विपन्न बिरामीसँग उपचारका लागि पर्याप्त रकम हुँदैन । अस्पतालका तर्फबाट हामीले सर्जरी निःशुल्क पनि गरिदिने गरेका छौं । तर औषधिको स्रोत जुटाउन उहाँहरुलाई मुस्किल पर्ने गरेको छ ।”

अत्याधुनिक प्रविधियुक्त पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भएपछि पूर्वी नेपालमा क्यान्सरको उपचारका लागि विदेश जानु पर्ने बाध्यता हटेको उल्लेख गर्दै विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले राज्यले क्यान्सर जस्तो रोग लागेका नागरिकको उपचारमा सहयोग बढाउन कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।

“राज्यले स्वास्थ्य, शिक्षा र रोजगारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो, तर त्यसो हुन सकेको छैन,” कार्कीले भने–“अहिले दिइरहेको रु. एक लाख रकम क्यान्सरको उपचारमा थोरै भएको हुँदा बढाएर रु. पाँच लाख पुर्याउनु उचित हुन्छ ।”

पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जनचेतनाका कमीका कारण क्यान्सरका बिरामीहरु अन्तिम अवस्थामा पुगिसकेपछि मात्र अस्पतालमा आइपुग्दा उपचार खर्च बढी हुने गरेको बताउँछन् ।

नेपालमा सबैभन्दा बढी नाक, मुख र घाँटीको क्यान्सरका बिरामी हुने गरेको बताउँदै उनले हरेक वर्ष पाँच हजारको संख्यामा नयाँ बिमारी थपिने गरेको जानकारी दिए ।

“भरसक क्यान्सर लाग्नै नदिने उपायहरु गर्नुपर्यो, यदि लागिहाल्यो भने पूर्ण उपचार पाउने अवस्था सिर्जना हुनुपर्छ,” डा. यादव भन्छन्–“उपचार गर्ने पैसा छैन भन्दै बिरामीहरु धुरुधुरु रुँदै हामीकहाँ आइपुग्नु हुन्छ । पहिलो स्टेजमै उपचारमा आउनुभएको भए कम खर्च लाग्थ्यो । तर तेस्रो वा चौथो स्टेजमा पुगिसकेपछि उपचारमा जटिलता र खर्च बढेर जान्छ ।”

विपन्न नागरिकलाई रु. एक लाख उपचार सहयोग थोरै भएको र बढाएर रु. पाँच लाख बनाउनुपर्ने मागमा समर्थन जनाउँदै उनले विपन्नको नाममा धनी व्यक्तिहरुले पनि कोषको सहयोग लिने विकृति चाहिँ रोकिनु पर्ने बताए ।

राजधानी बाहिर क्यान्सरको सबैभन्दा राम्रो उपचार गर्ने पूर्वाञ्चल क्यान्सर अस्पतालले सरकारले दिएको रु. एक लाख सहयोगले विपन्न विरामीको पूर्ण उपचार नहुने भएकै कारण त्यस्ता विरामीले उपचारबाट बञ्चित हुन नपरोस् भनेर अस्पतालको तर्फबाट उपचार ट्र«स्ट स्थापनाको अवधारणा अघि बढाइएको उनले बताए ।

ट्रस्टमा अस्पतालका सबै चिकित्सक तथा कर्मचारीले पारिश्रमिकको निश्चित रकम जम्मा गर्ने र स्वेच्छिक रुपमा संघ संस्था एवम् व्यक्तिहरुलाई सदस्य बनाउने योजना रहेको उनले सुनाए ।

विश्वसनीय नागरिक समाजका अगुवाहरुकै समिति गठन गरेर निष्पक्ष रुपमा विपन्न क्यान्सर विरामीको पहिचान गरी तिनको उपचारमा सहयोग पुर्याउने ट्रस्टको लक्ष्य रहने डा. यादवले बताए ।

गरीव, असहाय र विपन्न विरामीको उपचार क्रममा औषधि अभाव हुन नदिन नेपाल औषधि व्यवसायी संघ, रोटरी क्लब र जेसिज जस्ता संस्थाहरुले सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“हामी विपन्न अवस्थाका क्यान्सरका बिरामीलाई औषधि सहयोग पुर्याउन तयार छौं,” रोटरी क्लव अफ विर्तामोड मिडटाउनका पूर्व अध्यक्ष सन्तोष अग्रवालले भने–“दुर्गम र ग्रामीण क्षेत्रमा अस्पतालसँग मिलेर निःशुल्क स्वास्थ्य शिविर चलाउने रोटरीको योजना छ ।” उनले अहिले झापामै सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि भारत वा काठमाडौं धाउने पुरानो झन्झट सकिएकोमा खुशी व्यक्त गरे ।

विकाससँगै मानिसको जीवनशैलीमा आउने परिवर्तनले पनि क्यान्सर रोग बढाइरहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी विर्तामोडका अध्यक्ष सजेश शिवाकोटीले कोही पनि नागरिकले क्यान्सर लागेपछि आर्थिक अभावले उपचारबाट वञ्चित हुन नपरोस् भन्नाका लागि सरकार, अस्पताल र नागरिक समाज सचेत हुनुपर्ने बताए । उनले सरकारले विपन्न नागरिक उपचार कोषको सहयोग बढाउन आवश्यक भएको समेत धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तावित बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञहरु डा. बजरंग साह, सर्जन डा. मुक्ति देबकोटा र प्याथोलोजिस्ट डा.उज्ज्वल राईले क्यान्सर रोगको परिचय, पहिचान, उपचार र अवस्थाका बारेमा विस्तृत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज