खुदुनाबारी । खुदनाबारी –७ निवासी क्यान्सर पीडित नरेन्द्र चेम्जोङको उपचारार्थ गाविसका पूर्व उपाध्यक्ष नरबहादुर कन्दङ्वाको संयोजकत्वमा समिति गठन भएको छ ।
आर्थिक अवस्था कमजोर भएका नरेन्द्रको उपचारमा १५ लाख रुपैयाँ खर्च लाग्ने डक्टरले बताएपछि उपचार खर्च जुटाउन समिति गठन गरिएको विहीबार शनिश्चरेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
केही महिना अघि उपचारका लागि विर्तामोडस्थित मनमोहन अस्पताल पुगेका ३९ वर्षीय चेम्जोङलाई क्यान्सरको शङ्का गरी अस्पतालले वीपी मेमोरियाल अस्पताल धरान पठाएको थियो ।
तर, वीपीले पनि भरतपुर क्यान्सर अस्पताल पठाएर चेक जाँच गर्दा चेम्जोङमा बोनम्यारो क्यान्सर नै भएको उपचारमा संलग्न चिकित्सक डा. जय श्रेष्ठले बताएको परिवारजनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भरतपुर क्यान्सर अस्पतालको बेड नम्बर ७ मा रहेका चेम्जोङको उपचारमा हालसम्म ३ लाख बढी खर्च भइरहेको छ । उपचारको लागि आफ्नो जयाजेथाले नभ्याउने भएपछि उनकी श्रीमती इन्द्रकुमारी चेम्जाङले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।
चेम्जोङको उपचारमा आर्थिक सङ्कलनका गर्नका लागि कन्दङ्वाको संयोजकत्वमा समिति गठन गरेर काम सुरु गरिएको छ ।
समितिले नरेन्द्रको उपचारमा सहयोग गर्न चाहने सरकारी तथा गैर सरकारी सङ्घसंस्था र व्यक्तिसबैलाई एकसेल विकास बैंकको खाता नम्बर ००७१०७०००५७१८१०००००१ मा रकम सङ्कलन गरी दिन अनुरोध समेत गरेको छ ।
चेम्जोङलाई सेल, वोनमेरोको ३ वटादेखि ६२ वटासम्म किमो दिँदै भारतको दिल्ली पठाउनु पर्ने उपचारमा संलग्न डाक्टरले बताएको श्रीमती इन्द्रकुमारीले बताइन् ।
चेम्जोङका १२ वर्षीया छोरा सन्दीप कक्षा ४ मा न्युप उच्च मावि खुदुनाबारी र छोरी लासा आङवा कक्षा ११ मा देवी उच्च मावि विर्तामोडमा अध्ययनरत छन् ।
पीडित चेम्जोङ जुकेखाडी सामुदायिक वनका पूर्व सदस्य, चुम्लुङ समितिका सदस्य, फाल्गुन्द मेङ्सो माङहिमको सदस्य लगायत थुप्रै सामाजिक सङ्घसंस्थामा आवद्ध छन् ।