क्वारेन्टाइन र अस्थायी प्रहरी पोष्टको निरीक्षण

  प्रकाशित मिति
२० बैशाख २०७७, शनिबार १४:०९


मेचीनगर । प्रदेश नम्बर १ का प्रदेश सभा सदस्यसहित जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले शुक्रबार मेचीनगर नगरपालिका क्षेत्रभित्रका क्वारेन्टाइन उनीहरुकोे अवस्था र सीमाक्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगम गरेकोे छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा रहेको सुरक्षा निकायका उच्च अधिकारी सहभागि टोली नगरपालिकाले मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा सञ्चालनमा ल्याएको विशेष क्वारेन्टाइनको स्थलगत अवलोकन गरेको हो ।

मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले विशेष कवारेन्टाइन सञ्चालनमा ल्याउनुपर्ने कारणका बारेमा टोलीलाई जानकारी गराइन् । उनले कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको अनुगमन टोलीलाई जानकारी गराइन् ।

पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीको भनाई थियो ।

अनुगमन टोलीलाई क्वारेन्टाइनका बारेमा जानकारी दिदैं सुरक्षाकालागि खटिनु भएका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाले सामाजिक दुरी कायम गरेर उनीहरुलाई राखिएको बताए ।

शुरुमा लागूऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा राख्न ल्याउदा उसको शरीरभरि स्प्रे गर्ने, सावुन पानीले राम्ररी हात धुन लगाउने तथा सेनीटाइजर प्रयोग गरेरमात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

सापकोटाको कमाण्डमा नौ जना सुरक्षाकर्मी क्वारेन्टाइन सुरक्षार्थ खटिने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलका अनुसार लागूऔषध प्रयोग गरेको सूूचना पाए वा प्र्रहरीलाई शंका लागे घरबाटै नियन्त्रणमा लिने गरिरएको छ ।

यसका लागि मेचीनगर नगरपालिकाका तर्फबाट एउटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ । कहि कतैबाट सूचना प्राप्त भए प्रहरीको गाडी र एम्बुलेन्ससँगै जाने गरेका छन् । प्रहरीले पक्राउ गर्छ र एम्बुलेन्समा हालेर क्वारेन्टाइनसम्म पुर्याउने टोलीलाई जानकारी गराएको छ ।

उनीहरुलाई क्वारेन्टाइनमा राखेर विभिन्न रचनात्मक काम सिकाउने नवयात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीम लुईटेल क्षेत्रीले अनुगमन टोलीलाई बताए ।

यसैगरी टोलीले मेचीनगर र इलामको रोङ गाउपालिकाको उत्तरी सिमाक्षेत्र भद्रपुर नगरपालिकासँग सीमा जोडिएको दक्षिण क्षेत्रसम्मको ४४ किलो मिटरमा खडा गरिएका अस्थायी प्रहरी पोस्टको समेत स्थलगत निरीक्षण गरेको थियो ।

कोभिड–१९ को संक्रमण नियनत्रणका लागि नेपाल सरकारले घोष्णा गरेको लकडाउनका अवधिमा खुला सीमाका कारण अबैधरुपमा मानिसको आवतजावत नहोस भन्ने उद्देश्यले सीमाक्षेत्रमा सशस्त्र प्रहरीका २५ वटा अस्थायी पोष्ट खडा गरिएको छ ।

त्यति नै संख्यामा नेपाल प्रहरीको पनि पोष्ट रहेको छ भने जनपद तथा सशस्त्र प्रहरीको संयुक्त टोली बस्ने डिएसपी पोखरेलले अनुगमन टोलीलाई जानकारी गराए ।

टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली, १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेकपा १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेकपा झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेसका झापा सभापति उद्घव थापा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष कमलप्रसाद खरेल, राजपाका झापा जिल्ला अध्यक्ष अनुतसिहं राजवंशी, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, जिल्ला समन्वय समितिका नायव सुब्बा भानु भट्टराई लगायतको सहभागिता थियो ।

(श्रोत ः लक्ष्मी उप्रेती)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: