खड्गपथको राजनीतिक अपराध

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार १०:२४



नेपाली जनताले दिएको बिश्वास, प्राप्त प्रचण्ड बहुमत र प्रतिपक्षले प्रदान गरेको सहज राजनैतिक वातावरण बावजुद प्रधानमन्त्री खड्गप्रसाद ओली असफल भए । उनकै क्रियाकलापले यो सत्य प्रमाणित गरिसक्यो । यो सत्यलाई स्वीकार गर्न लामो समयदेखि नचाहिरहेका उनी बरु आफ्नो अक्षमता र असफलतालाई ढाकछोप गर्न अनेक प्रपञ्च रच्नमै व्यस्त छन् । ‘महेन्द्रीय’ शैलीमा गरिएको प्रतिनिधि सभा बिघटनले प्रधानमन्त्रीको अलोकतान्त्रिक, सर्वसत्ताबादी र अधिनायकबादी चरित्रलाई सबैले बुझ्नेगरी प्रकट गरेको मात्रै हो । ‘ताजा जनादेश’ झुठहरुको लामो श्रृङ्खलाको पछिल्लो तुरुप मात्रै हो । खड्गप्रसादका भक्तहरु स्वयम्ले यो झुठ पत्याउन सकिरहेका छैनन् ।

संसद् बिघटनका घटना नेपाली राजनीतिमा नौलो नभए पनि बर्तमान घटना फरक संवैधानिक ब्यवस्था अन्तर्गत भएको हुनाले यो मौजुदा संविधान पूर्णतया विपरीत छ । त्यसैकारण यो कदम आफैमा दण्डनीय अपराध समेत हो । यसको अलावा, ०६२÷०६३ को जनआन्दोलनको भावना अनुरुप स्थापित भएका केही अग्रगामी उपलब्धिहरुको जगमा खडा बर्तमान राजनैतिक परिवेशसँगै केही राजनैतिक संस्कारहरु पनि परिष्कृत हुँदै जालान् भन्ने आम आशालाई यो कदमले धुलिसात पारेको छ । लोकतन्त्रको प्राण मानिएको संसदको असंवैधानिक अन्त्य भनेको उत्तिकै ठूलो राजनीतिक अपराध पनि हो ।

तर सबैभन्दा पेचिलो प्रश्न अर्को छ ः के प्रधानमन्त्रीको यो आपराधिक कदम अप्रत्यासित थियो ? कदापि थिएन । नेपालको संविधान २०७२ मार्फत पछिल्ला आन्दोलनहरुका उपलब्धि संरक्षण र सम्बर्धन गर्नका निम्ति खड्गप्रसाद ओली उपयुक्त पात्र थिएनन् । प्रधानमन्त्री बन्नु अघिदेखिकै उनका अभिव्यक्ति, कार्यशैली र समग्रमा उनको विश्व दृष्टिकोण पछिल्ला राजनीतिक परिवर्तनको सख्त विरोधमा थियो । दोस्रो जनआन्दोलनताका गणतन्त्रको मागलाई हाकाहाकी ‘बयलगाडा’को यात्रासँग तुलना गर्ने ओली समानुपातिक समावेशि लोकतन्त्र, संघीयता र धर्म निरपेक्षताको सदा बिरोधी रहे । मधेसलाई गाली गरेरै पहाडिया अहंकारले बशिभूत बहुसंख्यक नेपालीको मत बटुल्न सफल भएका बर्तमान कामचलाउ प्रधानमन्त्रीलाई सत्तासम्म पुर्याउने मुल अस्त्र राष्ट्रबादको विभाजनकारी एवं विषाक्त राजनीति थियो ।

नेपालको प्रधानमन्त्री भइसकेपछि बैचारिक रुपमा स्खलित भइसकेका ओलीसँग मुलुकलाई शान्तिपूर्ण, बाँच्नलायक र गर्व गर्नलायक बनाउने कुनै सपना, योजना, आकांक्षा केही थिएन । प्रधानमन्त्री भएको पहिलो दिनबाटै उनी र उनका कोटरीबाट श्रृङ्खलाबद्ध झुठका गुब्बार वर्षिन थाले । भ्रष्टाचारका एकपछि अर्का काण्ड सबै नेपालीलाई कण्ठस्थ छ । नागरिक स्वतन्त्रता हनन गर्ने प्रकृतिका बिबादास्पद बिधेयकहरु ल्याउन गरिएको प्रयासले उनको मूल राजनीतिक ध्येय स्पष्ट गरिसकेको थियो । कोरोना महामारीको ब्यवस्थापनमा पूर्ण असफल भएका ओलीले आफ्नो सत्ता जोगाउन ठोरीलाई रामजन्मभूमि भएको अनर्गल दाबी गरेर रमिता सुरु गरे । एकपछि अर्को धार्मिक, साँस्कृतिक र राजनीतिक तुरुप फालेर आम नागरिकको आक्रोशलाई मत्थर पारे । तर आफ्नै पार्टिभित्रको बिबाद झन् बढाए । सत्ता छोड्नु परे कुर्सिनै भाँचिदिने धम्कि पटकपटक दिदै आएका ओलीले अन्ततः कुर्सी भाँचे । यस्ता सबै प्रवृत्ति धेरै पहिलेदेखि प्रदर्शन गरिरहेका प्रधानमन्त्रीको देवत्वकरण भने सदैव जारी रह्यो ।

संसद् विघटन अघिका उनका अत्यन्त हास्यास्पद र लोकतन्त्र विरोधी हरेक कदमलाई उनका पार्टीका नेता र कार्यकर्ताले गलत भन्न सकेनन् । नागरिकका नाममा गरिएका हरेक भद्दा र क्रुर मजाकलाइ थपडी बजाएर सदर गर्ने त्यो जमात अहिलेका संकटप्रति जिम्मेवार छ कि छैन ? खड्गप्रसाद मात्रैलाई दोषी करार गरेर हिजो उनलाई उचाल्ने, फुक्र्याउने र देवत्वकरण गर्नेहरुलाई प्रश्नको कठघरामा उभ्याइएन भने, अर्को उस्तै नाटक दुईचार वर्षमै दोहोरिने पक्का छ ।

खड्गप्रसादले सृजना गरेको अरिंगाल सेनाको बलमा उनी अहिले फूर्ती गर्दै देश दौडाहामा निस्केका छन् । यो केही दिनको चुरीफुरी हो, उनी सयौं संकटको घेराबन्दीमा परिसकेका छन् । एक पात्रको रुपमा उनको पतन जति निश्चित छ, प्रवृत्तिको रुपमा ‘ओलीपथ’को निरन्तरता उति नै अवश्यम्भावी छ । खड्गपथ र अरिंगालपन्थको सम्मिश्रणले एउटा घातक सामाजिक आधारको निर्माण गरिसकेको छ । यो प्रवृत्ति सधैं एउटा मसिहा खडा गरेर त्यसको महिमामण्डन गर्दै आफ्नो राजनैतिक यात्रा निर्दिष्ट गर्न चाहन्छ । यस्ता स्वार्थी झुण्डले ओलीको अवसान पश्चात पनि ओली प्रबृतिलाई निरन्तरता दिनेछ । गलत प्रबृत्ति स्थापित भए र त्यो प्रवृत्तिले अलोकतान्त्रिक नजिर स्थापित गरे अनि तिनले वैधता पाउने प्रपञ्च सफल भए, समाज कालान्तरसम्म दुष्प्रभावित भइरहन्छ । भर्खरै अमेरिकाको क्यापिटोल हाउसमा ट्रम्प समर्थकहरुले गरेको बितन्डाले वैधता पाउँदैनन्, भोलि ट्रम्पलाई सजाय पनि भयो भने, त्यो घटना प्रवृत्तिका रुपमा स्थापित नहुने सम्भावना हुन्छ । तर त्यसो हुनुअघि ट्रम्पले आधारभूत गोरा जनताबाट वैधताले उनलाई नश्लीय राष्ट्रबादको भर्याङ प्राप्त भयो । त्यसैमार्फत सत्ता हासिल गरेको ‘ट्रम्प’ प्रबृति उत्कर्षमा पुगेर ‘क्यापिटोल’ ताण्डव घटित भयो । तिनलाई ‘मसिहा’ ठान्ने ७४ लाख मतदाता अझै अमेरिकामा छन् र त्यो जमातले त्यँहा खतरनाक सामाजिक आधार निर्माण गरेको छ जो पटकपटक असहिष्णु राजनीतीलाई मुखर गर्न प्रयत्नशिल रहनसक्छ ।

यता हाम्रो घरेलु राजनीति पनि त्यसतै बिद्रुप बनेको छ र यस बिद्रुप राजनैतिक जटिलताको एक मात्र हल हो संसदको पुनस्र्थापना । साथै, पुनस्र्थापित संसदबाट विघटन जस्तो राजनीतिक एवं संवैधानिक अपराध गरेको कसुरमा प्रधानमन्त्री खड्गप्रसाद र राष्ट्रपति विद्या भण्डारीलाई सजाय । त्यो अवस्था सृजना नहुँदासम्म आम नागरिक आन्दोलित भइरहनुको विकल्प छैन । बर्तमान राजनैतीक गतिरोधलाई निकास प्रदान गर्न ओलीलाई पतन जति आबश्यक छ, ओलीको दवत्वकरणमा लागि परेको पश्चगामीहरुको जत्थालाई बैचारिक रुपमा परास्त गर्न उति नै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: