खबर खोज्ने खुवी राम्रो

  प्रकाशित मिति
२१ श्रावण २०७३, शुक्रबार १४:१६


raju 1यी हरफहरू पाठकको हातमा पुगिरहँदा ‘मेची खबर’ बिस वर्षको लक्का जवान भइसकेको हुने छ । विगतमा भद्रपुरका राजबाबु शङ्करले सम्पादन गर्दै आउनु भएको ‘मेची खबर’को पहिलो अङ्कदेखि नै म एउटा पाठक हुँ । विचमा लामो समय यो बन्द अवस्थामा रह्यो । खुशीको कुरा, एक वर्ष यता मेरा प्रिय सहकर्मी राजु पाठकको स्वामित्वसहितको सम्पादकत्वमा ‘मेची खबर’को पुनरोदय भएको छ ।

मैले ‘पूर्वाञ्चल दैनिक’मा पहिलोपटक राजुजीसँग चिनजानको अवसर प्राप्त गरेको थिएँ । त्यो समय मलाई लाग्छ १४ वर्ष अघिको हो । विर्तामोडतिरै घर भएको र दाइ गोपीकृष्ण खनालको सम्पादकत्वमा प्रकाशित ‘नयाँकामना साप्ताहिक’मा रिपोटिङ अनुभव प्राप्त राजुजीलाई मदन सरकै सिफारिसमा पूर्वाञ्चलमा समाचार लेख्न अनुमति थियो । राम्रो हेन्डराइटिङ भएको र ‘६ क’ को भाँती पुर्याएर समाचार लेख्ने उहाँमा पत्रकारिताप्रतिको एउटा बेजोड आकर्षण मैले त्यसबेलै पाएको थिएँ । मदन सरले ‘इन्टर्नशिप’का लागि नै होला शायद राजुजीलाई पूर्वाञ्चल प्रवेश गराउनु भयो । तर खोइ किन हो, राजुजीले पूर्वाञ्चलमा लामो समय काम गर्नु भएन । उहाँ नयाँ कामनाको डेस्कतिरै रमाउनु भयो । एकराज गिरी चाहिँ पूर्वाञ्चलमा डेग लागेर लेख्न थाल्नु भयो ।

त्यसबेला झापामा गोमेन्द्र कलेजले पहिलोपल्ट उच्च माध्यमिक तहमा पत्रकारिता विषय पढाउन थालेको थियो । पढाउनेमध्ये एक जना पूर्वाञ्चलकै प्रधान सम्पादक मदन ढकाल हुनुहुन्थ्यो । पढ्नेहरू सबैका बारे मलाई सम्झना छैन । तर राजु पाठक, एकराज गिरी, मनोज तपस्वी र रमेश चुडाल मात्र मसँग चिनजानमा थिएँ । पत्रकारिता पढाउन पाउँदा मदन सर जति फुरुङ्ग हुनुहुन्थ्यो, पढ्न पाउने विद्यार्थी पनि उस्तै मख्ख थिए । कलेजको पठनपाठनका बारेमा मदन सरले हामीलाई पूर्वाञ्चलको न्यूजरुममा विभिन्न किस्सा सुनाइरहनु हुन्थ्यो ।

अहिले त थुप्रै पत्रकारले पत्रकारिताको कलेज पढ्न पाएका छन् । मनकामना, कोहेड, इस्ट होराइजन लगायतका थुप्रै कलेजमा उमावि तहको पत्रकारिता पढाइ हुन्छ । मानविकी सङ्कायमा नेपाली विषय लिएर पढ्ने विद्यार्थीले स्नातक तेस्रो वर्षमा एक सय पूर्णाङ्कको पत्रकारिता विषय पढ्न पनि पाएका छन् । तर त्यसबेला पत्रकारिता पढाइ हुने कलेज नै थिएनन् । यस मानेमा गोमेन्द्र कलेजप्रति झापाली प्रेस जगतले अनुगृहित हुनै पर्छ । त्यही कलेजबाट दीक्षित राजु पाठक, एकराज गिरी र मनोज तपस्वी पत्रकारिता जगतमा अहिले पनि सक्रिय छन् ।

राजुजीले पूर्वाञ्चलमा लामो समय काम गर्नु भएन । पछि विवेचना दैनिकको विर्तामोडमा मुख्यालय रहँदा राजुजीसँग निरन्तर जस्तै भेटघाट हुन्थ्यो । विवेचनामा उहाँले काम त गर्नु भएन, तथापि हामीलाई सहयोग भने गरिरहनु हुन्थ्यो । नयाँ कामना पनि छाडेर उहाँ कोरियातिर फड्किएको खबर पछि सुनियो । लामो प्रवासपछि जब राजुजी झापा फर्किनु भयो, उहाँलाई जनसंसद् दैनिकमा आउन मैले नै प्रस्ताव गरेँ । किनकि, मैले उहाँमा पत्रकारिताप्रतिको मोह र लगन पहिल्यै देखेको थिएँ । अवसर दियो भने उहाँ कुशल पत्रकार बन्नु हुन्छ भन्ने मलाई भित्रैदेखि विश्वास थियो । मैले उहाँप्रति गरेको विश्वास खेर गएन ।

मैले राखेको प्रस्ताव स्वीकारेर उहाँ जनसंसद् दैनिकमा आउनु भयो । त्यसपछि हामी काँध र हात मिलाएर पत्रकारितामा जुट्यौँ । सुखभन्दा दुःख बढी झेल्यौँ । किनभने मोफसलको पत्रकारिता सङ्घर्ष र अभावै अभावले पिल्सिएको छ । हिजो साइकलमा हिड्थ्यौँ, वस् आज भुटभुटेमा हुइँकिन पाएका छौँ । तर दुःख र सास्ती अहिले पनि उस्तै छन्, जुन हामीले पहिले पनि भोग्थ्यौँ । सबैलाई पेटभरि खान पुग्ने जोहो पत्रकारिताले गर्न सकेको छैन । जनसंसद्मा उहाँसँगका सहकार्यका दिनहरू पसिनाका मसीले इतिहासमा लेखिएका छन् । जनसंसद् पहिलो वर्षदेखि नै प्रेस काउन्सिलको मूल्याङ्कनमा ‘क’ श्रेणीको बनायौँ । झापाको सबैभन्दा लोकप्रिय अखवारको रुपमा जनसंसद्लाई सुरुतिर स्थापित गर्ने भूमिकामा राजु पाठकसहित राजु अधिकारी, पर्वत पोर्तेल, मुक्ति पौडेल, मनोज तपस्वी, गोपाल गड्तौला, तारामणि सापकोटा, दिपेन्द्र भट्टराई, दिपीन राई, दिपेन्द्र कटुवाल, देबु बानियाँ, पुष्प बराल, कोकिला ढकाल, उमानाथ भण्डारी, खिलाराज ढकाल, अम्बिका भण्डारी लगायतका पत्रकारहरूको नाम स्मरणीय छ ।

पत्रकारमा राम्रो लेख्ने शीप अति आवश्यक हुन्छ । राजुजीमा त्यो शिप तिखारिएको छ । उहाँ विषयवस्तुको गहिराइमा पुगेर त्यसलाई समाचार कथाको रुपमा अभिव्यक्त गर्न अत्यन्त सिपालु हुनुहुन्छ । ‘भन्नु भयो, गर्नु भयो, आउनु भयो र जानु भयो’ प्रकृतिका समाचार लेख्न सजिलो हुन्छ । तर ‘के भएको थियो, किन भएको हो, के गर्नु उचित हुन्छ’ जस्ता प्रश्नको जवाफ भेटिने खोजमूलक समाचारको कथा लेख्न गतिलो शिप र लामै मिहेनत चाहिन्छ । मैले खोजमूलक समाचार सङ्कलन र लेखनमा राजुजीको जस्तो खुवी अरु पत्रकारमा कमै देखेको छु । उहाँसँग जनसंसद् पछि लोकतन्त्र पोस्ट दैनिकमा अहिलेसम्मै सहकार्य भइरहेको छ । लोकतन्त्र पोस्टको स्थापना र सञ्चालनमा राजुजीको भूमिका महत्वपूर्ण रहेको सर्वविदितै छ ।

राजुजीमा द्रुत गतिमा समाचार खोज्ने र लेख्ने अनौठो क्षमता छ । पत्रकारसँग सबैसँग घुलमिल हुन सक्ने स्वभाव चाहिन्छ । राजनीतिक आस्था आफ्नै जस्तो होस् कि नहोस्, जोकोहीसँग सम्पर्कमा रहने र समाचार फुत्काउने मिलनसार चरित्र राजुजीको अर्को विशेषता हो । उहाँमा पूर्वाग्रही र प्रतिशोधी बन्ने स्वभाव मैले कहिल्यै पाइन । समाचारसहित विज्ञापनको स्रोतसँगको सुमधुर सम्बन्ध मोफसलको पत्रकारितामा उत्तिकै आवश्यक हुँदोरहेछ । समाचार र विज्ञापन स्रोतसँग पत्रकारको सम्बन्ध व्यावसायिक हुनु पर्छ । त्यो सीमा राजुजीले कहिल्यै नाघेर अघि बढ्नु भएको छैन । उहाँ निर्विवाद, साँच्चिकै निष्पक्ष र व्यावसायिक पत्रकार हो ।

राजुजीले विगत एक वर्षमा ‘मेची खबर’मा आफ्नो क्षमतालाई पूर्णरुपमा उपयोग गर्नु भएको छ भन्ने चाहिँ म मान्दिन । मोफसलमा आठ पेजको पत्रिका हप्तैपिच्छे निकाल्न लगभग चार पेजको दैनिक पत्रिका निकाल्न लाग्ने जत्तिकै सकस झेल्नु परिहाल्छ । त्यसमाथि पनि मेची खबरले जहिल्यै पनि स्थानीय घटना र विषयमाथि आफ्नो खोजलाई केन्द्रित गरेको पाएको छु । राजुजीलाई बोझ पुगेन कि भन्ने मेरो ठम्याई छ । मेची खबरले दुई वटा काम तत्काल थालोस् भन्ने मेरो सुझाव छ । पहिलो–अनलाइन संस्करण सुरु गरोस् । दोस्रो–झापाको पहिलो रङ्गीन पत्रिका बन्ने इतिहास कोरोस् ।

धेरैले उहाँलाई म्यानपावरका विषयमा बढी लेखेको भन्न सक्छन् । तर उहाँ वैदेशिक रोजगार विषयमा झापाको सम्भवतः एक मात्र सञ्चारविज्ञ हो । उहाँले यसै विषयमा पुस्तक नै प्रकाशित गरिसक्नु भएको पनि छ । जुन देशका हरेक ४ घरमध्येबाट कम्तीमा २ जना युवा वैदेशिक रोजगारीमा गएका छन् भने त्यो विषय सबैभन्दा जनसरोकारको विषय बन्नु स्वाभाविकै हो । उहाँले म्यानपावर विजनेसका सकारात्मक र नकारात्मक दुबै पाटो डोजरले माटो उधिने जसरी नै उधिन्ने गर्नु भएको छ । पैसा धुत्ने गलत नियतले विना दर्ता सञ्चालित म्यानपावर व्यवसायीको उहाँले आफ्नो पत्रिकाबाट धतुरो झार्नु भएको देखिन्छ । जिम्मेवार भएर व्यवसाय चलाउनका लागि उहाँको कलम असल मित्र अर्थात सहयोगी भएर चलेको देखिन्छ ।

अबको पत्रकारिताको लक्ष्य मुलुकको समृद्धि नै बन्नु पर्छ । आर्थिक पत्रकारिताले त्यो लक्ष्य पूरा गर्ने छ । मेची खबरले एक वर्षमा पत्रिकाको मूल बाटो आर्थिक पत्रकारिताकै रोजेको हो कि जस्तो देख्छु । अर्का मित्र रोहित काफ्लेले लामो समयदेखि निर्माण लहर साप्ताहिकलाई आर्थिक पत्रिकाको रुपमा सफलतापूर्वक स्थापित गरिसक्नु भएको उदाहरणले पनि अब समृद्धिका लागि पत्रकारिता गर्ने तर्फ अरुलाई घच्घच्याएको छ । राजुजीको लेखाइमा अलि खरोपन पाइन्छ । खरो प्रस्तुतिले कहिलेकाहिँ कोही कोही रिसाउलान् पनि । तर पत्रकारले को रिसाउला र को खुसाउला भनेर कलम चलाउनु हुन्न । साँचो र तथ्य जे हो त्यहीँ प्रस्तुत गरिदिनु पर्छ । कसैसँग रिस उठेको छ, कोही व्यक्ति वा संस्था मन पर्दैन भन्दैमा कलम र पत्रिकालाई व्यक्तिगत अह्म पूरा गर्ने हतियार बनाउनु हुँदैन । यस दृष्टिबाट मेची खबर र राजुजीलाई सँधै सचेत पाएको छु ।

राजुजीले साप्ताहिक पत्रिका प्रकाशित गर्न थाल्दादेखि नै मेरो एउटा कुरामा उहाँसँग असहमति छ । त्यो के हो भने उहाँसँग जुन क्षमता छ, त्यो दैनिक पत्रिका चलाउन पर्याप्त छ । आफै पत्रिका चलाउने सोच राखिसके पछि दैनिक नै किन नचलाउने ? मेरो उहाँलाई पहिल्यैदेखिको प्रश्न हो यो । अहिले मेची खबरलाई सम्पादकीय नेतृत्व गरेको पहिलो वर्ष पूरा भएको अवसरमा बधाइसँगै म राजुजीलाई त्यही प्रश्न तेस्र्याउन चाहन्छु–तपाई जत्तिको डेढ दशक पत्रकारिताको अनुभव भएको र लेखन क्षमता उर्वर भएको सक्षम पत्रकारले पत्रिका चलाउने सोच राखिसके पछि दैनिक नै किन नचलाउने ?

(२०७३ साउन २१ गते मेची खबर साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: