खयरडाँगीमा सांसद् कार्कीको डेरा

  प्रकाशित मिति
१७ माघ २०७४, बुधबार १०:३६


मेचीनगर । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राम कार्की नयाँ डेरामा सरेका छन् ।

भूमिगत राजनीतिमा लामो समय विताएका बाम गठबन्धनका सांसद कार्कीको झापामा स्थायी घर छैन । उनी चुनाव यता काँकरभिट्टास्थित भतिजको घरमा बस्दै आएका थिए ।

मेचीनगर–१० खयरडाँगीस्थित कुमार खड्काको घरमा सांसद कार्कीले डेरा लिएका छन् । सोमवारदेखि कार्की दम्पति सो डेरामा बस्न थालेका छन् ।

धुलावारी मोडबाट ७ सय मिटर दक्षिणको दुरीमा कार्कीको डेरा रहेको छ ।

चुनावका बेला विपक्षीहरुले कार्कीलाई घर र डेरा केही पनि नभएको भन्दै ‘टुरिस्ट’को संज्ञा दिएका थिए ।

त्यसबेला उनले आफु सँधैका लागि झापा क्षेत्र नं. १ मा आउन चाहेको र यतै स्थायी बास बनाउने बचन दिदै आएका थिए ।

नेकपा माओबादी केन्द्रका पोलिट्व्यूरो सदस्य समेत रहेका सांसद कार्की बाम गठबन्धनको केपी ओली सरकारका भावी मन्त्री हुन् ।

मन्त्री बन्न सक्ने नेता भएका कारण उनको डेरा अलि व्यवस्थित हुनु पर्छ भनेर डेरा खोज्न माओबादी र एमाले दुबै दलका स्थानीय नेताहरु लागिपरेका थिए ।

धुलावारी क्षेत्रमै बस्न रुचाएका कार्कीका लागि चुनावताकाका प्रतिष्पर्धी विश्वप्रकाश शर्माको घर छेउछाउ नै डेरा खोज्न केही बाम नेताहरु लागेका थिए ।

तर कार्कीले थुप्रै विकल्प मध्ये खयरडाँगीस्थित कुमार खड्काको घरलाई नै रोजे ।

कार्कीको डेरा रहेको घर कम्पाउन्ड भएको तीन तलाको छ । कार्की चढ्ने गरेको सेतो गाडी पनि डेरामै राख्न थालिएको छ ।

डेरा सर्ने बन्दोबस्तमा सघाउनका लागि सिक्किमबाट कार्कीकी पत्नी शेराप शेङ्गा पनि आएकी छन् ।

सांसद पत्नी शेङ्गाको बोलीबचन र व्यवहार अत्यन्त शालीन र हितैषी अनुभूति भएको स्थानीय बाम कार्यकर्ताहरु बताउँछन् ।

ओखलढुङ्गा पुख्र्यौली घर भएका कार्कीले ताप्लेजुङ र सिन्धुलीबाट यस अघि चुनाव लड्दै आएका थिए । कहिले यता र कहिले उता जाने भएकाले उनलाई झापा–१ मा चुनावका बेला विपक्षीहरुले ‘टुरिस्ट’ भनी नकारात्मक प्रचार गरेका थिए ।

झापाको बुद्धशान्ति गाउँपालिकामा घडेरी भएका कार्कीको काठमाडौँमा पनि आफ्नो घरजग्गा छैन । काठमाडौँमा उनी ससुरालीतिरका नातेदारको घरमा डेरा बस्दै आएका छन् ।

भूमिगत कालमै उनले सिक्किमको खान्दानी परिवारकी शेराप शेङ्गासँग जनवादी विहे गरेका थिए । शेङ्गालाई विहेपछि कार्कीले मेचीनगरकै चुल्ठेस्थित एक कार्यकर्ताको घरमा भित्र्याएका थिए ।

स्रोतका अनुसार साथमा एक पैसा पनि नभएका कार्कीले भगाएर ल्याउँदा शेङ्गासँग भने केही पैसा थियो । त्यही पैसाले भूमिगत रुपमै उनीहरुले विहे भोज खुवाएका थिए ।

सांसद कार्की निकट एक नेताका अनुसार उनले यही कार्यकालमा झापा–१ मा आफ्नै जग्गा र त्यसमा घर बनाउने योजना बनाइसकेका छन् ।

सांसद्ले आफ्नै टोलमा डेरा लिएकोमा खयरडाँगीबासी हर्षित भएका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: