भद्रपुर, ३२ जेठ । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु. ५० लाख आर्जन गरेका छन् ।
विगतमा प्राय खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो । तर खुट्टेडाँगीका अगुवा किसान डिल्ली उप्रेतीले गतवर्ष धान र मकै खेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिए पछि टोलबासीहरु खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।
यसवर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयको आम्दानीको स्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैंले पनि रु. १५ लाखको खरबुजा विक्री गरेको बताए । हरेक घरले कम्तीमा एक लाख र बढीमा दश लाखसम्म नाफा आर्जन गरेको किसानहरुको नेतृत्व गरेका उप्रेती बताउँछन् ।
डीएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौं आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यसवर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट रु. ५० लाख आम्दानी भएको छ ।
डीएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलबासीले खरबुजाको विरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकै खेती हुने गरेको जग्गामा यसपाली खरबुजा लहराएको थियो । किसानहरुलाई प्राविधिक सहयोग समेत उप्रेतीले नै प्रदान गरेका थिए ।
रोपेको ९० दिनमै खरबुजा फल्छ । गतबर्ष प्रतिकेजी रु. ५० मा विक्री भएको खरबुजा यसपाली बन्दाबन्दीको कारण रु. ३० प्रतिकेजी विक्री गर्नुपरेको थियो । तैपनि किसानहरु नाफामै रहे । बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानहरुको भनाई छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा विक्री भएको थियो ।
उप्रेतीले यसवर्ष ६० हजार खरबुजाको विरुवा विक्री गरेका थिए । उनको नर्सरीमा उत्पादित खरबुजाको विरुवा चितवन, बारा, सिराहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लैजाने गरेका छन् ।
(रासस)