खानेपानीमा दलीय भिडन्त हुने निश्चित

  प्रकाशित मिति
४ माघ २०७४, बिहीबार ११:२३


काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन नजिकिँदै जाँदा चुनावी चहलपहल पनि बढ्न थालेको छ ।
फागुन ४ गते हुने निर्वाचनमा दुईपक्षीय गठबन्धनका बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जसमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बीच प्रतिस्पर्धा हुने भएको हो ।

खानेपानी संस्थामा विगतदेखि नै दलीय भागबन्डाको आधारमा निर्वाचन हुँदै आएको छ । राजनीतिक दलहरु आ–आफ्नो प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रने गरेका छन् ।

गत निर्वाचनमा नेपाली काङ्ग्रेस, माओवादी, राप्रपा तथा मालेको लोकतान्त्रिक गठबन्धन थियो भने एमाले, संघीय समाजवादी फोरम, बैद्य माओवादी र लिम्बुवान बीचको गठबन्धन चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो । जसमा नेपाली काङ्ग्रेसका तर्फबाट सूर्यप्रकाश उप्रेतीको नेतृत्वले विजय हासिल गरेको थियो ।

तर, यसपटक भने यो गठबन्धनले अर्कै मोड लिएको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रदेखि नै बाम गठबन्धन भएपछि त्यसको प्रत्यक्ष प्रभाव यस संस्थामा पनि स्पष्ट देखा पर्ने अनुमान गर्न थालिएको छ ।

जसमा एमाले, माओवादी र राप्रपा एक हुने प्रवल सम्भावना छ भने काङ्ग्रेस एक्लै मैदानमा उत्रने छ । यता, संघीय समाजवादी फोमरले कसलाई समर्थन गर्ने हो त्यसको आधिकारिक निर्णय आउन बाँकी छ ।

उसले शुक्रवार नगर समितिको बैठक राखेर निर्णय गर्ने संघीय समाजवादी प्रदेश नम्बर १ का आर्थिक संयोजक केवलराम राईले बताए । संघीयले लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेर जान सक्ने सम्भावना बढी रहेको राईले बताए ।

‘हामी कुन रुपमा सहभागी हुन्छौँ, त्यो नगर बैठकको निर्णयले गर्नेछ,’ संयोजक राईले भने–‘लोकतान्त्रिक गठबन्धनलाई समर्थन गरेर संस्थामा सहभागी मात्र हुने हो या कुनै पदमा रहेर जाने हो त्यससका लागि बैठकले निर्णय गर्नेछ ।’

नयाँ नेतृत्वका लागि काङ्ग्रेसका तर्फबाट सूर्यप्रकाश उप्रेतीको नाम अध्यक्षको प्रत्यासीमा चर्चामा छ । उनी वर्तमान समितिको पनि अध्यक्ष हुन् ।
‘पार्टीको निर्णय हुन बाँकी छ,’ उप्रेतीले भने९‘यदि पार्टीले मलाई फेरि तपाईले नेतृत्व गर्नुपर्छ भनेर अघि सार्यो भने म त्यसलाई स्वीकार गरेर जान्छु । तर, पार्टीको निर्णयले जसलाई उम्मेद्वार बनाउँछ, त्यसमा म एउटा कार्यकर्ता भएको हैसियतले मान्न तयार छु ।’

नेपाली काङ्ग्रेसले केही दिन भित्रमा नगर समितिको बैठक राखेर आधिकारिक उम्मेद्वार छनोट गर्ने नगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताए ।

‘अहिले नै यो उम्मेद्वार हो भन्न सक्ने अवस्था छैन,’ सभापति बुढाथाकोकीले भने–‘हामी केही दिनमा नगरको बैठक बसेर सबै साथीहरुको सुझाव र राय अनुसार उम्मेद्वारको तय गर्नेछौँ । अहिले नै को उम्मेद्वार भन्न सकिन्न ।’

बाम गठबन्धनका तर्फबाट माओवादीका मेचीनगर–६ का वडा अध्यक्ष ज्ञानेन्द्र घिमिरेको नाम अध्यक्षको प्रत्यासीका लागि चर्चामा छ । उनी संस्थाको वर्तमान सचिव हुन् ।

घिमिरेले आफू अध्यक्षमा उठ्ने मनसाय रहेको बताए । ‘पार्टीको मात्र होइन, सिङ्गो गठबन्धनको आधिकारिक निर्णय आउन बाँकी छ,’ लोकतन्त्र पोस्टसँगको कुराकानीमा घिमिरेले भने–‘यही संस्थामा रहेर विभिन्न जिम्मेवारी सम्हालेको अनुभवको आधारमा अध्यक्ष पदमा उठ्ने तयारी गरिरहेको छु । तर, पार्टीले निर्णय गरेर आधिकारिक उम्मेद्वार जसलाई बनाए पनि म त्यो मान्न तयार छु ।’

साथै, उनले संस्थामा सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए । ‘म चुनाव नै हुनुपर्छ भन्ने पक्षमा छैन,’ घिमिरेले भने– ‘यदी मेचीनगरका सबै राजनीतिक दलहरुको सहमति अनुसार सबै दलको सहभागिता हुनेगरी सर्वसम्मतको प्रस्ताव आए म नै अध्यक्ष हुनुपर्छ भन्ने छैन । सबैको भावना अनुसार सहमति भए त्यो नै संस्थाको हितमा हुनेछ ।’

चुनावको मिति नजिकिँदै गएपछि मेचीनगरका राजनीतिक दलहरु आफ्नो पक्षमा नेतृत्व हत्याउन सक्रिय रुपमा लाग्न थालेका छन् । दलहरु एक अर्को पार्टीसँग सहमतिको वार्तामा बस्दै आएका छन् ।

सकेसम्म उनीहरु सर्वसम्मतका लागि पहल समेत गरिरहेका छन् । तर, मुख्य प्रतिस्पर्धीका रुपमा रहेका दुई दलबीच नेतृत्वकै लागि सहमति हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।

लोकतान्त्रिक गठबन्धन विगतकोे विरासतलाई बचाउँदै प्रतिनिधि सभाको हारको पीडालाई कम गराउने दाउमा छ भने त्यही प्रतिनिधि सभामा भएको गठबन्धनको आधारमा रहेर अगाडिका निर्वाचनमा बेहोरेको हारलाई बदला लिने र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विजयलाई बचाउने दाउमा देखिन्छ ।

यो संस्थामा यसअघि एमाले नेता बुद्धिनाथ पौडेलले बाहेक सबै नेतृत्व काङ्ग्रेसले जित्दै आएको छ । २०५४ र २०५८ सालमा पौडेल सर्वसम्मत रुपमा अध्यक्ष बनेका थिए । त्यसपछि भएका सबै निर्वाचनमा काङ्ग्रेसले बाजी मार्दै आएको छ ।

अघिल्लो निर्वाचनमा करिब ३ हजार मत रहेको यस संस्थामा ३ वर्षको अवधिमा बढेर ५ हजार ४३ सय मतदाता पुगेका छन् । संस्थाको कार्यक्षेत्र पनि बढेर गएको छ ।

साबिकको मेचीनगर९७ देखि १३ वडासम्म पानी वितरण भएको थियो । पछिल्लो समय साविकको बाहुनडाँगी९३ दोकानडाँडालाई पनि कार्यक्षेत्र बनाइएको छ । जहाँ ६२ जना मतदाता छन् ।

गत कात्तिक ११ गते सम्पन्न समितिको २४ औँ साधारणसभाले चुनावको मिति तय गरेको थियो । जुन साधारणसभाले लक्ष्मी उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति निर्माण गरेको छ ।

त्यस समितिमा मेचीनगरका सबै राजनीतिक दलहरुको प्रतिनिधित्व हुने गरी निर्वाचन समिति तयार गरिएको छ । समितिको सदस्यहरुमा हेमकुमार खड्का, केवराम राई, राजु पौडेल, सुमित्रा अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: