काँकरभिट्टा खानेपानीले गर्यो पूर्व अध्यक्ष र कर्मचारीलाई सम्मान

  प्रकाशित मिति
९ मंसिर २०७५, आईतवार १८:०८


काँकरभिट्टा । प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्न सवै पक्षलाई आग्रह गरेका छन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै सदस्य कार्कीले खाना खान नपाए मानिस अलिक दिन बाँच्न सके पनि पानी नखाई एकछिन पनि बाँच्न नसक्ने भएकाले पानीको प्रयोगमा सवैले सावधानी अप्नाउनुपर्ने बताएका थिए । अहिले ३ प्रतिशत मात्र पानी शुद्ध र स्वच्छ पिउन योग्य रहेको बताउँदै उनले ९७ प्रतिशत पानी स्लाइनबाट बन्ने गरेको नुनिलो रहेको प्रष्ट पारे ।

नेपाल जलस्रोतका लागि धनी भएपनि शुद्ध र स्वच्छ पिउन योग्य पानी भने पर्याप्त नभएको उनको भनाई थियो । यसकारण पनि पानीको महत्वलाई बुझेर जगेडा गर्न उनको सुझाव थियो । उनले यस संस्थाले पानी वितरणका लागि उपभोग गरेको विद्युत वापतको महशुल घटाउन सरकारसँग आग्रह गर्ने विश्वास समेत दिलाए ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्व अध्यक्षहरुकातर्फबाट सुर्यप्रकाश उप्रेती, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, नेपाली काँग्रेसका झापाका कार्यवहाक सभापति राम कट्टेल, नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले संस्थाले खानेपानीको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझै पनि खानेपानी नपुगेको ठाउँमा पानी वितरणका लागि काम गर्न सुझाव दिएका थिए ।

रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभाकै अवसरमा संस्थाको रजत स्तम्भ समेतको उद्घाटन गरिएको छ । यसैगरी संस्थापक अध्यक्ष पदमबहादुर निरौलाई मृत्युपरोणान्त सम्मान गरिएको छ भने पूर्व अध्यक्षहरु बुद्धिनाथ पौडेल, भवानी केरुङ, सुर्यप्रकाश उप्रेती र गोपाल तामाङलाई ताम्रपत्रसहित दोसल्लाले सम्मान गरिएको थियो ।
यसैगरी २५ वर्षसम्म अनवरत सेवा दिएको भन्दै कर्मचारीहरु केशवप्रसाद पोखरेल,कृष्ण विश्वकर्मा, लक्ष्मीनारायण माझी, जीवन काफ्ले, नरबहादुर खड्कालाई जनही नगद ५÷५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

वर्ष उत्कृष्ट कर्मचारीका रुपमा माली कमलप्रसाद दाहाललाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नियमित पानी महशुल बुझाउने चक्रबहादुर तामाङ, लक्ष्मी अधिकारी काफ्ले र रेश्मा आङदेम्बेलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष हर्क फ्याकले हालसम्ममा ५५ सय धारा जडान भइसकेको बताएका थिए । उनले संस्थाको आर्थिक अवस्था मजबुद नै रहेका कारण आगामी पुस महिनादेखि पानीको सेवा शुल्क घटाइने बताए । हाल संस्थाको तर्फबाट १ देखि ३० यूनिटसम्मका लागि १५ रुपैयाँ र ३० देखि माथि प्रयोग गरेरमा उपभोक्तासँग २५ रुपैयाँ लिँदै आएको थियो ।
संस्थाकी उपाध्यक्ष शारदा पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: