चारआली । मेचीनगर वडा नं. १३ का वडाध्यक्ष कृष्ण सिग्देलले चारआली साना तथा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई महसुल काउन्टर खोल्नका लागि वडा कार्यालयले सहयोग गर्ने बताएका छन् ।
महसुल काउन्टर बनाउने ठाउँको खोजीमा रहेको समितिलाई चारआलीस्थित सार्वजनिक शौचालय अगाडिको सामुदायिक बनको स्वामित्व भएको र सडक बिभागको सीमाङ्कनले छुने जग्गामा काउन्टर नराख्न समेत वडाध्यक्ष सिग्देलले सुझाव दिएका छन् ।
‘आफ्नै भवन बनाउने हो भने चारआली वरपर पायक पर्ने ठाउँमा हामी जग्गा उपलब्ध गराउने छौँ’, वडाध्यक्ष सिग्देलले चारआलीको फ्रेन्डिसिप कर्नरमा शनिवार पत्रकार सम्मेलन गर्दै भने–‘काउन्टर राख्न कोठा मात्र चाहिएको हो भने एउटा निवेदन लिएर आएमा उपयुक्त कोठा उपलब्ध गराइने छ ।’
चारआली चोक र त्यस वरपरका उपभोक्ताको हितलाई ध्यानमा राखी वडा कार्यालयले खानेपानी समितिलाई जग्गा वा कोठा दिने सिग्देलले बताए ।
प्रगति सामुदायिक बनले रोकी पाउँ भनी माग गरेको विवादास्पद जग्गामा वडा कार्यालयसँग समन्वय नै नगरी काउन्टर बनाउने कुनै पनि गतिविधि नगर्न वडाध्यक्ष सिग्देलले वडा कार्यालयको तर्फबाट खानेपानी समितिलाई चेतावनी दिएका छन् ।