खालिङ सरको दार्जीलिङमा अन्त्येष्टि

  प्रकाशित मिति
२३ भाद्र २०७३, बिहीबार १४:४९


20150101_114418_resized 20150101_115638_resized_1 20150101_121727_resized_1

दार्जीलिङ । दुई दिन अघि निधन भएका नेपालका प्रजातन्त्र सेनानी एवम् साहित्यकार दान खालिङको बुधवार दिउँसो दार्जीलिङको सिङमारीमा अन्त्येष्टि गरिएको छ ।

सात सालको क्रान्तिमा प्रत्यक्ष होमिएका र क्रान्तिको सफलतापछि शिक्षा एवम् साहित्य सेवामा विशिष्ट योगदान पुर्याएका खालिङको सोमवार साँझ भारतको दार्जीलिङमा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

कान्छो भाइ एनसी खालिङको दार्जीलिङस्थित घरमा विगत डेढ महिनादेखि बस्दै आएका उनको त्यही निधन भएपछि पारिवारिक सल्लाहमा यतै अन्त्येष्टि गरिएको हो ।

‘खालिङ सर’ भनेर चिनिएका उनी मधुमेह, नशा लगायतको रोगबाट पीडित थिए । सिलगढीस्थित दाजुको घरमा लामो समयदेखि रहेका उनी विरामीले अझ थलिएपछि उपचारका लागि सजिलो हुने भन्दै डेढ महिना अघि दार्जीलिङ आएका थिए ।
बुधवार विहान दार्जीलिङको रेल्वे स्टेशन नजिक रहेको सेन्ट कोलम्वस चर्चमा केही घण्टा उनको पार्थिव शरीरलाई राखिएको थियो ।

चर्चमा राखिएको बेला उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिन स्थानीय राजनीतिक दलका नेता, साहित्यकार, नातागोता, शुभचिन्तक र क्रिश्चियन धर्मावलम्वीहरूको घुइँचो लागेको थियो ।

दार्जीलिङ टेरेटोरियल एडमिनिस्ट्रेसनका प्रमुख एवम् गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले कोलम्वस चर्चमै पुगेर खालिङको पार्थिव शरीरमा पुष्प गुच्छा अर्पण गरेका छन् ।

नेता गुरुङले खालिङको निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकाकूल परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।
चर्चमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएपछि शव यात्रासहित सिङमारीस्थित कब्रस्थानमा उनको शवलाई जमिनमुनि समाधिस्थ गरिएको थियो ।

उनको अन्त्येष्टि क्रिश्चियन धर्मको विधि अनुसार गरिएको छ । क्रिश्चियन धर्मगुरूले बाइवलको विभिन्न भनाई वाचन गरेपछि उनको शबलाई कब्रस्थानमा गाडिएको थियो ।

धर्मगुरुहरूले उपदेश दिने क्रममा दान खालिङले दार्जीलिङ भारतमा जन्म लिए पनि जीवनको अधिकांश समय नेपालको राजनीति, साहित्य र शिक्षाको सेवामा लगाएको बारेमा चर्चा गरेका थिए ।

सो कार्यक्रममा स्व. दान खालिङका भाइ डीके खालिङ, बहिनी नओमी खालिङ, विर्तामोडस्थित लिटल फ्लावर्स इङलिश स्कुलका प्रिन्सिपल देवकुमार दास, बाल्मिकी एजुकेसन फाउन्डेसनका प्रिन्सिपल आनन्द बस्नेत, वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटी, युवा उद्यमी आदित्य पराजुली, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी, गोरखकाली सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक दिपेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

स्व. खालिङले नेपालमा रहँदा लिटल फ्लावर्स इङ्लिश स्कुलमा प्राचार्यको रुपमा सेवा गरेका थिए भने धुलावारी क्याम्पस, मनकामना क्याम्पस लगायत थुपै्र शिक्षण संस्थामा सेवा गरेका थिए ।

अन्त्येष्टी कार्यक्रममा लिटल फ्लावर्सका कोअर्डिनेटर टिकाराम पोखरेल, शिक्षकहरू नाराद न्यौपाने, विज्ञान खड्का, सुशिल बुढाथोकी र अभिभावक गणेश पराजुली समेतको उपस्थिति रहेको थियो ।

क्रिश्चियन धर्म अनुसार खालिङको शुद्ध्याई कार्य सकिएको छ । सो धर्ममा १३ दिनसम्म काजकिरिया गर्ने र आफन्तहरू कोरामा बस्ने चलन छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: