खुल्यो केशवराज भण्डारी फाउन्डेसन

  प्रकाशित मिति
९ बैशाख २०७५, आईतवार ११:१४


धुलाबारी । एकल महिला, अनाथ बालबालिका र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने गरी मेचीनगरको धुलाबारीमा केशवराज भण्डारी फाउन्डेसन नामक संस्था शनिवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

तत्कालीन शान्तिनगर गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च स्वर्गीय केशवराज भण्डारीको स्मृतिमा सामाजिक अभियान सञ्चालन गर्ने गरी संस्थाको स्थापना गरिएको स्वर्गीय भण्डारीकी छोरी तथा फाउन्डेसनका अध्यक्ष सविता भण्डारी भेटवालले बताइन् ।

शनिवार आयोजित भव्य कार्यक्रमका बीच अध्यक्ष सविता भण्डारीले संस्थाले एकल महिला, अनाथ बालबालिका र युवा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने गरी संस्थाले पाँच लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरिन् ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वर्गीय केशवराज भण्डारीका सहयात्रीहरु शान्तिगर गाउँ पञ्चायतका पूर्व वडा अध्यक्ष बिष्णुलाल गौतम, पूर्व गाउँ पञ्चायत उपाध्यक्ष शिवलाल शर्मा चापागाई, बुधबारे गाउँ पञ्चायतका पूर्व अध्यक्ष दिनानाथ ढकाल र धुलाबारी गाउँ पञ्चायतका पूर्व उपाध्यक्ष माया गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले इतिहास पुरुषको नामबाट सञ्चालन भएको संस्थासँग नगरपालिकाले सहकार्य गर्ने बताए ।
कार्यक्रममा सम्मानितहरु माया गुरुङ, शिवलाल शर्मा चापागाई, बिष्णुलाल गौतमलगायत शांसक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले शुभकामना मन्तव्यका क्रममा स्वर्गीय केशवराज भण्डारीसँगका स्मृतिहरु सुनाएका थिए ।

जिल्ला प्रशासन कार्यालय झापामा २०७४ माघ १० गते दर्ता भएको तथा समाज कल्याण परिषद काठमाडौँमा २०७४ माघ १५ गते आबद्धता भएको केशवराज भण्डारी फाउन्डेसनको उपाध्यक्षमा रुद्रबाबु भण्डारी, सचिव गोपाल बस्नेत, सहसचिव सरस्वती सिटौला, कोषाध्यक्ष शर्मिला तिखत्री खतिवडा रहेका छन् ।
सदस्यहरुमा बन्दनकुमार मुण्डा, लेखनाथ पराजुली, लता प्रसाई, अनिलकुमार भेटवाल, लेखनाथ खतिवडा र भारती गौतम थपलिया रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा स्वर्गीय केशवराज भण्डारीका भाई तथा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले स्वागत मन्तव्य तथा स्वर्गीय भण्डारीको जीवनीका बारेमा जानकारी गराएका थिए भने सदस्य बन्दनकुमार मुण्डाले धन्यवाद मन्तब्य राखेका थिए ।

संस्थाकी अध्यक्ष सविता भण्डारीले संस्था स्थापनाको उद्देश्य र आगामी कार्यक्रमका बारेमा जानकारी गराएको कार्यक्रम संस्थाका सचिव गोपाल बस्नेत र सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: