‘खुशी बन्न सकिरहेकी छैन म’

  प्रकाशित मिति
३ चैत्र २०७४, शनिबार २०:५९


 

अम्बिका भण्डारी

राजनीतिक, सामाजिक र पत्रकारिता जगतका शिखर व्यक्तित्वहरुको गरिमामय उपस्थितिमा आज हामीले नारी सञ्चारगृह झापाको अत्यन्त भव्यतापूर्वक सम्मान तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छौं । अग्रजहरुबाट महत्वपूर्ण मार्गदर्शन लिन पाएका छौं । यसका लागि म तपाई सम्पूर्ण अतिथिहरुप्रति सम्मानपूर्वक नमन गर्दछु र तपाईहरुले दिनुभएको मार्गदर्शनलाई सदैव शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

झापाको पहिलो पत्रकार सम्पादक÷प्रकाशक आदरणीय गुरुआमा बेदकुमारी रेग्मी सम्मानित व्यक्तित्व हुनुहुन्छ । पत्रकारिताको विकासमा महिलाहरुले विगतमा के कस्तो सङ्घर्ष गर्नुभएको थियो भन्ने कुराको त्यति धेरै खोज अनुसन्धान हुन सकेको छैन । हामीले झापाको सन्दर्भमा एउटा कालखण्डमा अखबारको फोलियोमा सम्पादक र प्रकाशकको रुपमा नाम लेखाउने एउटा ऐतिहासिक व्यक्तिलाई फेला पार्यौं । त्यो व्यक्ति गुरुआमा नै हुनुहुन्छ । तसर्थ, गुरुआमालाई अभिनन्दन गरेर हामीले ओझेलमा परेको इतिहासलाई प्रकाशित गरेका छौं । म श्रद्धेय गुरुआमा बेदकुमारी रेग्मीलगायत सङ्घर्षशील तमाम पत्रकारहरुप्रति गौरवबोध गर्दछु । उहाँहरुप्रति कृतज्ञता अर्पण गर्दछु ।

माया पकुवाल

पत्रकार साथीहरुले नारी सञ्चार गृहको नेतृत्व गर्ने जिम्मेवारी तपाईको है भन्दै यसपटक मलाई अध्यक्षको जिम्मेवारी सुम्पिनु भयो । मेरो गलामा खदा लगाईदिनुभयो । निधारमा टीका लगाईदिनुभयो । यद्यपि म मनैदेखि खुशी बन्न सकिरहेकी छैन । म सम्झिरहेकी छु–हाम्रो संस्थाकी संस्थापक सदस्य माया पकुवाल दिदी मृगौला ड्यामेज भएर यतिबेला प्रत्यारोपणको प्रक्रियामा हुनुहुन्छ । प्रिय साथी सुभद्रा अधिकारी क्यान्सरसँग लड्दै किमो पर्खिरहनु भएको छ । पत्रकारिताका अग्रज व्यक्तित्व नकुल काजी विरामी भएर ओछ्यानमा हुनुहुन्छ ।

आज राज्य समृद्ध भएको भए उहाँहरुको उपचारको दात्यिव सरकारले लिने थियो । आज हामीले उहाँहरुको उपचारमा पर्याप्त सहयोग जुटाउन सकिरहेका छैनौं । आर्थिक अभावबाट गुज्रिरहेका हामी पत्रकारहरुले उपचारको पर्खाईमा रोगसँग पराजित हुने नराम्रा दिनहरु नआउन् भनेर गम्भीर विमर्श गर्नुपर्ने अवस्था आएको छ । म यही मञ्चबाट श्रद्धेय अभिभावक नकुल काजी, प्रिय साथीहरु माया पकुवाल र सुभद्रा अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै, पितृशोकमा पर्नु भएका नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

मैले पत्रकारिताका विषयमा बोलेँ भने इन्द्रका सामु स्वर्गको बखान गरे जस्तो हुनेछ भन्ने मलाई हेक्का छ । श्रद्धेय चुडामणि रेग्मी सर, अग्रज पत्रकार चन्द्र भण्डारी, पञ्चायतका काला रातहरुमा गणतन्त्रको राँको बोकेर बन्दुक र सङ्गीनहरुसँग जुध्दै भिड्दै आउनुभएको श्रद्धेय मेनुका काफ्लेज्यूलगायत हाम्रा सामु हुनुहुन्छ । तपाईहरुले खनेका बाटोहरुमा हामीहरु हिंड्न पाइरहेका छौं । यसैमा हामी खुशी छौं ।

सुभद्रा अधिकारी

पदभार ग्रहण गरिरहेका क्षणमा मबाट केही प्रतिवद्धताहरु सुन्ने तपाईहरुको चाहना हुनसक्छ । मसँग प्रतिवद्धताको लामो सूची छैन । हामीसँग बजेट छैन । कार्यालय छैन । नियमित कार्य तालिका केही पनि छैन । म यति चाहिँ भन्छु कि हामी कार्य समितिको बैठकबाट कार्य योजना बनाउने छौं र नारी सञ्चारगृहलाई संस्थागत रुपमा अघि बढाउने छौं । यसका लागि तपाईहरु सबैको आशिर्वाद, सहयोग र सद्भाव पाउने हाम्रो दृढ विश्वास छ ।

नारी सञ्चार गृह कुनै राजनीतिक उद्देश्य बोकेको संस्था होइन । यहाँ राजनीति घुस्नु हुँदैन र घुसाउन दिइने छैन । पत्रकारिता क्षेत्रमा भविष्य बनाउन आउनु भएका पत्रकार महिलाहरुको पेशागत सुरक्षा र दक्षता अभिवृद्धिका लागि हामीले प्राथमिकतामा राखेर पैरवी गर्नेछौं ।

सूचना अर्थात समाचार लिन गएकी महिलालाई ‘यो आइमाई हो’ भन्ठानेर कुनै कार्यालयमा हेपियो भने नारी सञ्चार गृह त्यहाँ नारीहरु के हुन् भन्ने शबक सिकाउन पुग्नेछ । काम बराबरी लगाएर तलब दिने बेलामा ‘यो महिला हो’ भन्दै श्रम शोषण गरियो भने त्यो सञ्चारगृहमा पनि हामी श्रमजीवी महिलाका पक्षमा उभिनेछौं । तर, अब जागिर दिने, तलब दिने काम त नारी सञ्चारगृहले गरिदिन्छ भनेर हात बाँधेर पत्रकार साथीहरु बसिदिन थाल्नु भयो भने चाहिँ अप्ठेरो पर्छ हामीलाई । निष्ठा, दक्षता र मिहनेतपूर्वक लागेर कार्य क्षेत्रमा खरो उत्रिन हामी महिलाहरुलाई थुप्रै तालिम र अवसरको खाँचो छ । हामी साथीहरुलाई दक्ष बनाउन हरसम्भव प्रयत्न गर्नेछौं ।

हाम्रो संस्थालाई हुर्काउन र आजको अवस्थासम्म ल्याउन मेरा अध्यक्ष सावित्रा दाहालले ठूलो योगदान गर्नुभएको छ, थुप्रै सङ्घर्ष गर्नु भएको छ । उहाँले खन्नु भएको गोरेटोलाई हामी अझ फराकिलो र चिल्लो बनाउनेछौं । उहाँमा भएको क्षमता र सोचलाई हामी उपयोग गर्नेछौं । उहाँप्रति म कृतज्ञता व्यक्त गर्दछु । धन्यवाद ।

(नारी सञ्चारगृहको पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा २०७४ चैत्र ३ गते प्रस्तुत नवनिर्वाचित अध्यक्ष अम्बिका भण्डारीको प्रतिबद्धता मन्तब्य)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: