‘खेतीमा मेशिनको प्रयोगले क्रान्ति ल्याउँदैछ’

  प्रकाशित मिति
११ पुष २०७३, सोमबार १४:२६


sandip-bhujel-2झापाको महेशपुरमा जन्म भई विराटनगरबाट शिक्षा प्राप्त गर्नु भएका, निष्ठावान र कर्मशील युवा व्यक्तित्वको रुपमा परिचित छन् सनिपकुमार भुजेल । कृषि व्यवसायप्रति देखिएको उदासिनताप्रति सधैं चिन्तित रहने भुजेलले पहिलो पाईला कृषि सहकारी संस्था लि. भद्रपुर झापाको संस्थापक व्यवस्थापकदेखि हालको अध्यक्ष भएर सहकारीको माध्यमले कृषिमा यान्त्रिकीकरण गरी उत्पादकत्व वढाउन अभियान सञ्चालन गरिरहेका छन् । कृषि यान्त्रिकीकरणका अभियन्ता सनिपकुमार भुजेलसँग लोकतन्त्र पोस्टका रेवतीराज घिमिरेले लिएको अन्तरवार्ता प्रस्तुत छ–
कृषि सहकारीमा यसरी समर्पित भएर लाग्नुको उद्देश्य के हो ?
उर्वरभूमि नेपालमा कृषिप्रतिको भइरहेको उदासिनतालाई मेटाउँदै कृषिमा नयाँ उत्साह र जाँगरलाई प्रेरणा पुर्याउनु मेरो खास उद्देश्य हो । अचेल सुनका दाना जस्ता धान फल्ने हरावरा उर्वर खेतहरू घडेरीको जथाभावी प्लटिङले खोलाको बगर जस्ता भएका छन् । युवा जनशक्ति वेरोजगार भएर खाडीका वाफिला मरुभूमिमा भौतारिन पुगिरहेका छन् । यस्तो अवस्थाले मलाई असाध्य विझाउँछ । खेतीयोग्य जमिनलाई बाँझो राख्ने र जथाभावी घडेरी प्लटिङलाई नरोकिने हो भने हाम्रो मुलुक मरुभूमि बन्न सक्छ । यहीकारण म कृषिमा यान्त्रिकीकरण गर्दै नयाँ आशा जगाउन यस क्षेत्रमा लागेको हुँ ।
तपाइँँ जस्तै अरु कयौ युवा कृषि छाडेर अन्यत्रै क्षेत्रमा रमेका छन् । तपाइँलाई कृषिमा लाग्न कसले प्रेरणा दियो ?
मेरो प्रेरणाको श्रोत भनेको वुद्ध एयरका मेनेजिङ डाइरेक्टर वीरेन्द्रबहादुर वस्नेत हुनुहुन्छ । वुद्ध एयरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उहाँले खोलेको कृषि कम्पनिप्रति म प्रभावित छु । नेपाल कृषि कम्पनिले सहकारीहरुको माध्यमबाट यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्न कृषिमा ऋण उपलव्ध गराएको देखेर मलाई इच्छा शक्ति आएको हो ।

पहिलो पाइला कस्तो संस्था हो ?
२०७० सालमा पहिलो पाइला कृषि सहकारी संस्था झापाको महेशपुरमा स्थापना गरियो । यसले सहकारीकै मध्यामबाट कृषिमा काम गर्न अभिप्रेरणासहित विभिन्न सहयोग गर्दै आएको छ । यो सहकारी हो, हाल ४ सयभन्दा बढी शेयर सदस्य छन् । कृषकहरुलाई यान्त्रिकीकरण र आधुनिकीकरणको माध्यमले खेती गर्न सिकाउँदै वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमै कृषि व्यावसायप्रति पे्ररित गर्नु पहिलो पाइला कृषि सहकारी संस्था लि. को मुख्य उद्देश्य हो ।
पहिलो पाइला सहकारीसँग कस्ता कस्ता कृषि आधुनिकीकरण तथा

यान्त्रिकीकरणका औजार छन् त ?
हाम्रो पहिलो पाइला सहकारीसँग धान, मकै, तोरी, गहूँ आदि काट्ने कृषि यान्त्रिकीकरण मेशिनहरु छन् भने वाली रोप्ने र गोड्ने पनि औजारहरु छन् । यसको सहायताले वालीलाई काटेर गोडेर सिधै घरमा लगेर थन्काउन सकिन्छ । कृषकहरुको माग र चाहना बमोजिम जिल्लाका अधिकांश गाविस र नगरपालिकाहरुमा यान्त्रिकीकरण सेवा उपलव्ध गराएका छौँ । झापामा गहूँ खेती कम हुने भएकोले गहुँ खेतीको लागि चाहिँ सुनसरी र सप्तरी जिल्लासम्म गएर सहकारीले सेवा प्रवाह गरिरहेको छ ।

यस्ता औजारहरु कहाँबाट पाउनु भयो ?
कृषि मेशिनरी औजारहरु नेपाल कृषि कम्पनिको सहयोगले र वैंक अफ काठमाडौँको लगानीमा नेपाल सरकारको २ लाख ६५ हजारको अनुदानमा सहकारीको ७० लाखको लगानीमा किनिएको हो । २०७० सालमा ट्याक्टरवाट हामीले सुरु गरेको यान्त्रिकीकरण हाल आएर धान काट्ने हार्वेस्टर मेशिन र धान रोप्ने मेसिन समेत उपलव्ध छ । कृषकहरुको माझ सेवा पुर्याइरहेका छौँ ।
झापाका अरु कृषि सहकारी र पहिलो पाइलामा के अन्तर छ ?
कृषि सहकारीहरु झापामा धेरै छन् । तर उनीहरुले कृषिमा खासै महत्व दिनु भन्दा पनि केवल वचत गर्ने र ऋण उपलब्ध गराउने मात्र गर्ने गरेका छन् । यो राम्रो होइन । किनभने कृषिको नाम लिएर मात्र हँुुदैन, कृषिमा केही योगदान पनि पुग्नु पर्छ भन्ने हाम्रो मान्यता छ । यान्त्रिकीकरण मेशिनको माध्यमले कृषिमा वास्तविक अभियान नै चलाउने झापामा पहिलो सहकारी नै पहिलो पाइला कृषि सहकारी संस्था हो भन्ने म दावी नै गर्न सक्छु ।

पहिलो पाइलाले मेशिनहरु कसरी कृषक सामु पुर्याउने गरेको छ ?
कृषकहरुको चाहना बमोजिम हामी मेशिनलाई जहाँ आवश्यक पर्छ त्यही पुर्याउँछौँ । आवतजावत ढुवानीलाई सहकारीले निःशुल्क गराउँछ । हामी तेल र मेशिन उपलव्ध गराउँछौँ र काम गरेको शुल्क सामान्य मात्र लिन्छौँ । कृषकले विषेश छुटमा सामान्य खर्च मात्र तिर्दा सेवा पाउँछन् ।

खेतीमा मेशिन प्रयोग गर्दा कृषकहरुलाई के फाइदा हुन्छ ?
खेतीमा मेशिनको प्रयोगले क्रान्ति ल्याउँदैछ । कृषकहरुलाई मजदुर नपाउने झन्झट छ । आवश्यक परेको बेला छिटो र सरल तरिकाले वाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकहरुले मेशिनप्रति बढी चासो र रुचि देखाएको मैले अनुभव गरेको छु । यसमा मल विउमा कम लागत लाग्छ, बाली गोड्न सजिलो, सिञ्चाई पनि कम लाग्ने र शतप्र्रतिशत उत्पादन भित्र्याउन पाइने भएकाले कृषकहरुको आकर्षण बढ्ने गरेको मैले पाएको छु ।

भावी योजना र सोच के कस्तो रहेको छ ?
आफै श्रमिक आफै मालिक भन्ने मूल मन्त्रका साथ सहकारीले निकट भविष्यमा नै डिजिटल लेजर लेबलर मेशिन उपलब्ध गराउने र भाडामा जमिन लिएर कृषि अनुसन्धान केन्द्र खोल्ने योजना बनाएको छ । हाल यस संस्थाले इजरायलबाट अध्ययन गरेर नेपाल फर्किएका नेपाली युवकहरुलाई एकीकृत गरेर सहकार्य गरी रोजगार उपलब्ध गराई सामूहिक सहकारी खेती सञ्चालन गर्ने कार्य सुरु गरिसकेका छौँ । अन्न भण्डारण निकट भविष्यमा नै सुरु गर्ने योजना रहेको छ । झापा जिल्लालाई कृषि पर्यटकीय क्षेत्र वनाउने उदेश्यले यस्तो अभियानको सुरुवात गरिएको र आगामी दिनहरुमा पनि कृषकहरुको माग वमोजिम अघि वढ्न चाहेकोले सहज वातावरणमा काम गरिएको हो ।

मेशिनको प्रयोगले खेती गर्दा के कस्तो चुनौती आउने रहेछ ?
मेशिन प्रयोग आफैमा चुनौतिपूर्ण रहेको छ । परम्परागत पुरानो सोचलाई परिवर्तन गर्नु आजको आवश्यकता रहेको छ । पूर्ण रुपपमा मेशिन प्रयोगवाट खेती लगाउन चेतनामा विकास गर्न जरुरी रहेको छ । यसका लागि समय लाग्नु स्वाभाविक हो । यान्त्रिकीकरण मेशिनलाई पुरानो भन्दा पनि नयाँपुस्ताले स्वीकार गरेको अवस्था छ । कृषकहरुको सोचमा परिर्वतन आजको आवश्यकता हो ।

पहिलो पाइलाको मुख्य कार्य क्षेत्र कहाँसम्म रहेको छ ?
पहिलो पाइला कृषि सहकारीको कार्य क्षेत्र झापाको जलथल, पथरिया, पृथ्वीनगर, महेशपुर र भद्रपुर रहे पनि जिल्लाका सवै क्षेत्र र जिल्ला वाहिर समेत पछिल्लो पटक कार्य क्षेत्रको रुपमा विस्तारित भइरहेको छ । सहकारी नाफामुखी नभएर कृषकमुखी र सेवामुखी भएको हुँदा हाम्रो सेवा लिन तोकिएको कार्यक्षेत्र भन्दा बाहिरवाट पनि कृषकहरु आउने गरेका छन् ।

सहकारीमा लामो समय नेतृत्व गरिरहँदा तपाईले पाएको अनुभव ?
धेरैजसो सहकारीहरुले मूल्य र मान्यता भन्दा बाहिर गएर काम गर्ने गरेको मैले अनुभव गरेको छु । सहकारी सञ्चालकहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुलाई कहिल्यै भुल्नु हँुदैन । सहकारी नाफामुखी नभएर सेवामुखी हुनु पर्छ भन्ने मेरो भनाई हो । कृषिको नाममा देशमा थुप्रै सहकारीहरु दर्ता गरिए पनि केवल पैसा बचत गर्ने र ऋण मात्र उपलब्ध गराउने वाहेक खासै काम गरेको पाइन्न । यसलाई सुधार्न जरुरी छ ।
कृषिलाई प्रोत्साहित गर्न राज्यलाई के सुझाव दिनु हुन्छ ?
कृषि अभिमुखिकरण कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गर्नु पर्छ । युवा शक्तिलाई कृषिमा हौसला प्रदान गर्न विभिन्न सिपहरु उपलव्ध गराइनु पर्छ । कृषिमा कम्तिमा पनि ५० प्रतिशतसम्म अनुदानमा कर्जा उपलव्ध गराउनु पर्छ । नेपाल सरकारले कृषकहरुलाई कि त भाडामा कृषि यन्त्रहरु उपलब्ध गराउनु पर्यो या ८५ प्रतिशतसम्मको सहुलियतमा कृषकहरुलाई सरकारले यान्त्रिकीकरण मेशिनको व्यवस्था गर्न सक्नु पर्छ ।

अन्त्यमा, केही भन्नै पर्ने कुरा छुट्यो कि ?
कृषिलाई पहिलो प्राथमिकता दिनु पर्छ । देशलाई कृषिमा पुर्णरुपमा आत्मनिर्भर बनाउन सकाँै । विदेशमा गएर बगाउने पसिनालाई स्वदेशमै बगाऔँ । त्यसमा पनि कृषिमै पसिना बगाऔँ र विकसित देशको रुपमा विश्वसामु नेपालको पहिचान दिन सकौँ । यहि कुरा सबै नेपालीहरुलाई भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: