खेलाडीदेखि कोचसम्म

  प्रकाशित मिति
२१ पुष २०७३, बिहीबार ११:२८


काँकरभिट्टा । केही वर्ष अघिसम्म झापाली फुटबल क्षेत्रमा पहिलो रोजाइका खेलाडी हुन् सचिन्द्र धिमाल । आधा दर्जन बढी ए डिभिजनका क्लबहरूमा आवद्ध भएर लामो समय खेल खेलेका मेचीनगर–६ धुलावारीका धिमालको यतिबेला परिचय फेरिएको छ । अब उनी फुटबल खेलाडी भएर ग्राउण्डमा होइन, प्रशिक्षक भएर खेलाडी उत्पादन गर्ने धाउन्नमा लागि परेका छन् ।

कञ्चनजङ्गा फुटबल क्लब सिलगुढीको टिममा रहेर प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका धिमाल केही दिनयता आफ्नै नगरमा भइरहेको मेची नेत्रालय गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । ‘मेरो फुटबलको यात्रा यहीँबाट सुरु भएको हो’ मङ्गलवार बिहान काँकरभिट्टा माविको खेल मैदानमा खेलाडीलाई प्रशिक्षण दिइरहेका धिमालले भने–‘यही मैदानमा आज राष्ट्रिय स्तरको प्रतियोगिता भइरहेको छ । यो प्रतियोगितालाई सफल बनाउन र आयोजकको टिममा थप सहयोग गर्न केही दिनका लागि आएको हुँ ।’

उनी प्रशिक्षकसम्म आउनुको पनि बेग्लै कथा छ । विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) मा १ वर्षको खेल खेलेपछि २०७० सालमा कन्ट्रयाक सकिएर घरमै थिए धिमाल । त्यहीबेला राष्ट्रिय लिग खेलका लागि झापा–११ को टिम छनोट गरियो । तर, अफसोच उनी ती खेलाडीको नेमलिस्टमा पर्न सकेनन् । आफ्नै गृह जिल्लाबाट फुटबल खेल्ने ठूलो सपना बोकेर झापा आएका धिमाल टिममा पर्न नसक्दा खेल जीवनबाट बिरक्तिए । तर, प्रतिभाको जहाँ पनि कदर हुन्छ भन्ने कुरा सावित भयो । झापाको टिमबाट लिग खेल्ने सोचे बनाएका उनले आफ्नै जिल्लाले नपत्याएपछि भारतको सिलगुढीमा रहेको कञ्चनजङ्गा फुटबल क्लबले खेल खेल्न आग्रह गर्यो । सुरुमा त जाने नजाने दुविधामा रहे उनी । तर, सम्पूर्ण जीवन त यसैमा लगाइयो । किन खाली बस्ने भनेर उनी त्यो प्रस्तावलाई सहर्ष स्वीकार गरी हानिए सिलगुढीतर्फ ।

कञ्चनजङ्गाबाट ६ महिना खेल खेलका उनले ५ वटा खेलमा टिम फाइनल पुगेको थियो । जसमा ३ जित २ हार भएको थियो । ४ नम्बर जर्सीमा सधैँ मैदानमा देखा पर्ने धिमालको मुख्य भूमिका भनेको नै डिफेन्स हो । मुख्य डिफेन्सको भूमिकामा रहेर सबै खेलाडीलाई परिचालन गर्न सक्ने क्षमता भएका धिमाललाई उक्त क्लबले खेलाडी भन्दा पनि कोच बनाउन उपयुक्त ठान्यो । उनले क्लबमा कोच सम्हालेपछि ९ खेलमा टिम फाइनल पुग्यो । जसा ५ जित ४ हार भएको छ ।

उनले कोच गर्नका लागि ‘एएफसीको सी’ लाइसेन्स समेत प्राप्त गरेका छन् । एन्फाले ६ महिना कोच गरेर लाइसेन्स प्राप्त गरेका धिमाल अब ‘एएफसी बी’ को लाइसेन्स लिने तयारीमा छन् । व्यावसायिक रुपमा प्रशिक्षण गरिरहेका उनलाई क्लबले सबै सुविधा दिएको छ । ‘प्रशिक्षण गर्नमा आनन्द छ’ ३५ वर्षीय धिमालले भने ।

उनले यो ठाउँसम्म आइपुग्न थुप्रै सङ्घर्ष गर्नु परेको छ । उदीयमान खेलाडीका रुपमा चिनिएका धिमालले भने– ‘मेरो प्रतिभा देखेर धेरैले अवसर पनि दिए तर, अफसोच केही ठाउँमा हामी जस्ता खेलाडीको कुनै मूल्याङ्कन नगरिँदा दुःख लागेको छ । झापामा खेलाडीलाई जसरी भेदभाव गरिन्थ्यो अहिले क्लबहरूमा पनि गर्न थालिएको छ । यो खेलका लागि राम्रो होइन ।’
धिमालले २०५५ सालबाट काँकरभिट्टा क्लबबाट फुटबलको केरियर सुरु गरेका थिए । सोही साल भएको वडास्तरीय फुटबल प्रतियोगितामा यस क्लबमा डेब्यु गरेर खेल्न थालेका उनी पहिलो खेलमै उदीयमान खेलाडीको रुपमा पुरस्कृत भए । जसले उनलाई फुटबल केरियरको यात्रालाई अघि बढ्न हौसला प्रदान गर्यो ।

काँकरभिट्टा क्लबमा रहँदा क्लबका अध्यक्ष योगराज गुरुङले नेपालको प्रतिनिधित्व गराउँदै एन्फाको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराएको कहिलै बिर्सदैनन् । जुन खेलमा टिमले गोल्ड मेडल प्राप्त गरेको थियो । त्यपछि उनी जिल्लाबाट खेल्ने अवसर पाउन थाले । यो स्थानसम्म ल्याई पु¥याउनका लागि सधैँ हौसला र प्रोत्साहन दिने पूर्व खेलाडी तथा रेफ्री एकराज पोखरेलको योगदानलाई सधैँ उनी सम्झिरहन्छन् ।

साथै उनले परिवारको माया र खेलप्रतिको हौसलाले खेल यात्रालाई अघि बढाउन सहज भएको बताए । झापाको टिमबाट विभिन्न जिल्लामा गएर खेल खेलका धिमालले पाएका मेडल र ट्रफीले उनको कोठा भरिभराउ छ । जिल्लास्तरीय टिमबाट २०६० सालमा बुढासुब्बा गोल्डकपमा डेब्यु गरेका थिए धिमालले । झापाको टिममा मिन बस्नेत, रोशन सुब्बा, मानबहादुर कार्की, लाक्पा लामा, टिकाराम कार्की, प्रवेश कटुवाल उनका सहयात्री खेलाडी हुन् ।

अन्डर–१६ मा राष्ट्रिय टिममा समेत उनी पर्न सफल बने । जुन खेलमा पनि उनले गोल्ड मेडल प्राप्त गरेका थिए । झापाको नाइटचेस क्लब, धुलावारीको रोलिङ क्बल हुँदै उनी ए डिभिजनका क्लबहरूमा आवद्ध भएर खेल खेल्न थाले । उनले एनआरटी काठमाडौँ, जावलाखेल, हिमालयन शेर्पा, एपिएफलगायतका क्लबहरूमा व्यावसायिक फुटबलको यात्रा तय गरिसकेका छन् ।
१८ वर्षको फुटबल यात्रामा आइपुगेका धिमाल खेलकुदमा भविष्य भएको बताउँछन् । मेचीनगर फुटबलको उर्वरभूमि भएको बताउँदै उनले निरन्तर यसमा लाग्ने हो भने यस क्षेत्रबाट थुप्रै खेलाडी उत्पादन गर्न सकिने बताए । २०३७ साल फागुन ११ गते बुबा कृष्णलाल र आा साम्री धिमालका छोरा सचिन्द्रका श्रीमती सुनिता र छोरा प्रनिश छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: