खोई राष्ट्रिय दिवस ?

  प्रकाशित मिति
२४ फाल्गुन २०७५, शुक्रबार ०९:४१


मीरा पोखरेल

नेपाली महिलाको इतिहास विश्वका चर्चित महिलाको भन्दा कम छैन । वैदिक, दैविक, पौराणिक कालमा त अझ उँचो थियो । समय परिस्थिति अनुसार आफ्ना स्वार्थीय भावलाई अगाडि सार्दै जाँदा महिलालाई घटाउने, होच्याउने खालका नीति नियम बन्न गए । तिनै नीति नियम प्रथा बने, हाल आएर ती कुप्रथा हुन पुगे ।

आफ्नो राज्य सञ्चालनमा सती नगई मायादेवीले सहयोग गरिन् । यो लिच्छवी कालको कुरा थियो । शिलालेख महिलाद्वारा लेखियो, विजयावतीले लेखिन् । राजल्लदेवीले आफ्नै माइतको घर छोरालाई दिइन् । जलसमाधिद्वारा शहिद बनिन् । योगमाया ससुराको एकीकरण अभियानमा राजेन्द्रलक्ष्मीले भरपुर सघाइन् ।

नेपालको सिमाना पूर्वमा विजयपुरसम्म ल्याइन् । नेपालका राजनीतिक बन्दीलाई समाचार ल्याउने÷लैजाने काम गरिन् राममायाले । उनी दरबारकी कुचीकार थिइन् । द्वारिकादेवी पहिलो मन्त्री बनिन्, मङ्गलादेवी सहाना प्रधानहरुले मताधिकारका लागि लडे । राजा महेन्द्रलाई कालो झण्डा देखाइन् शैलजाले । जेल गइन् । यी त भए राजनीतिक क्षेत्रका महिलाका कुरा । शैक्षिक, सामाजिक, आर्थिक क्षेत्रमा पनि नेपाली महिलाको उल्लेख्य सहभागिता छ ।

पछिल्लो कालखण्डमा साहित्यमा विद्यावारिधी गरिन् वानिरा गिरी, डा. प्रभा बस्नेतले । प्रजिअ बनिन् उषा नेपाल । त्यस्तै न्यायाधीश, पाइलट, डीआडी, एसएलसी बोर्ड फस्ट, उपसभामुख, सभामुख, राष्ट्रपति, नर्स, हिरोइन, रिक्साचालक, टेम्पोचालक, राजदुत, प्राध्यापिका, सिएनएन हिरो, सम्पादिका, तेक्वान्दो खेलाडी, पौडीवाजहरु सबै नेपाली महिलाले ठाउँ लिइसकेको अवस्था हो । तर, बिडम्बना ! नेपाली महिलाको राष्ट्रिय दिवस नै छैन । खाली हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च ८ लाई नारी दिवस भन्दै मनाउन गइरहेका छौँ । विश्वबन्धुत्वको आधारमा ठीकै छ, यो मनाउन पनि । पहिचान र महत्वको आधारमा न नेपाली तिथि मिति भएको दिवस भए पो हाम्रो गौरव र अपनत्व पनि हुने थियो । विश्वका महिलाहरुले १७ औँ शताब्दीबाट नै महिला स्वतन्त्रताका कुरा उठाएका हुन् भने आजभन्दा १ सय ९ वर्ष अघि मात्र अधिकार पाएर त्यही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालियो । इतिहासको हिसाबले हेर्ने हो भने नेपाली महिला विश्वका अन्य महिला भन्दा स्वतन्त्र थिए ।

खाने र बस्नेसम्म अधिकार थिएन । भोकाएकी युरोपकी एक महिलाले पाउरोटी कारखानामा ढुङ्गा हानेपछि त्यही आगोको फिलिङ्गो हुँदै विश्वभर फैलिएर अधिकारप्राप्तीको माध्यम बन्यो । क्लारा जेट्किन लगायत विभिन्न देशका महिलाहरुको अग्रणी भूमिका रहेको छ । विभिन्न घटिया उपाधि दिन तत्कालीन शासकहरु महिला मात्रै थुपार्न सफल छन् । कतै देउकी कतै भुमा, वैकल्या जस्ता महिला शोषित उपाधी सिर्जना गरे भने झन् सतिप्रथा, बोक्सी, छाउपडी, सुत्केरी, कमलौरी, विधवा जस्ता घृणित उपाधीले महिलालाई जहिले पनि उपेक्षित बनायो । नेपाली महिला राष्ट्रिय दिवस पनि सुरुवात होस् भन्नु नै हाम्रा अग्रणी नेतृत्व वर्गलाई सम्झाउनु हो । वहाँहरुको कदर गर्नु हो ।

त्यसैले हाम्रा लागि तत्कालीन परिवेशमा जताततै अप्ठ्यारा परिस्थितिलाई पनि सहदै स्वतन्त्रताका लागि लड्ने हाम्रा विरङ्गनालाई सम्झने एउटा दिन तोक्नुपर्छ भन्ने हामीलाई लागेको छ । पदम शमसेरको पालामा नेपालको काठमाडौँ उपत्यका (नगरपालिका) को पहिलो चुनावमा महिलाहरुले मताधिकारका लागि लडेर अधिकार लिएका थिए । त्यहाँभन्दा अगाडि प्रमाणित अधिकार पाएको भेटिन्न । त्यसैले यही दिनको निक्र्यौल गरी अब अन्तर्राष्ट्रिय साथै राष्ट्रिय दिवस मनाउने हो कि ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: