खोजी आदर्श पात्रको

  प्रकाशित मिति
३ असार २०७३, शुक्रबार २२:२४


gn

राजनीतिक दलको लेपन लगाएर भन्नुपर्दा उनी काङ्ग्रेसका कार्यकर्ता हुन् । काङ्ग्रेस पार्टी भनेर मात्रै होइन वीपीले विचार गरेर जन्माएको काङ्ग्रेसको आदर्श र सिद्धान्त भनेपछि उनी हुरुक्कै र मरिहत्ते पनि गर्छन् । त्यस्तै अर्का एकजना मेरा मित्र छन् । उनी आफुलाई कम्युनिष्ट किनारमा राख्छन् र कम्युनिष्ट शब्दप्रति नै उनको आत्मिय प्रेम छ । अक्सर यस्ता युवा कार्यकर्ता कहिले काँही भेट्ने गर्छु म र आफैले आफुलाई सोध्ने गर्छु–यो सपना त होइन नि ?

जो आजका दिनमा पनि जनपक्षीय, कर्मठ र निःस्वार्थका नेताको खोजीमा लागेका छन् अर्थात पार्टी नेतृत्वमा आदर्श पात्रको खोजीमा छन् । म आफैलाई गर्व लाग्छ र मनमनै गद्गद् हुन्छु– अझै पार्टीमा यस्ता युवाहरु रहेछन् जो आ–आफ्ना आफ्ना पार्टीका नेताहरू विचार र सिद्धान्तको यात्राबाट कोसौं टाढा पुगिरहेको देखेर पनि आफु भने आदर्श पथकै यात्रामा छन् ।

हिजोदेखि आजसम्मको दलगत दर्पणलाई हेर्दा आफ्ना पार्टीका युवालाई प्रयोगमा ल्याउन प्रलोभनको भ्रामक छारो हाल्नु शिवाय केही गरेको पाइँदैन । विचार, सिद्धान्त र आदर्शको खुल्ला मार्गभन्दा आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि एउटा अमुक गुटको चौघेरोमा कैद गरिएको छ । नेपाली युवाहरूलाई यहाँका पार्टी नेताले पार्टीका भावी नेतृत्वको रुपमा नभएर गुट स्वार्थलाई बलियो बनाउने दासका रुपमा प्रयोग गर्दै आएको तथ्य भनिरहनु पर्दैन ।

गुटगत हतियारको रुपमा युवाहरूलाई उक्साउने अनि आफु वैचारिक र सैद्धान्तिक पथबाट च्यूत भए पनि आफु नै कथित सिद्धान्त र विचारनिष्ठ नेता भएको भ्रमरुपी नाटक गरेर सचेतहरूलाई अचेत बनाउने र आफु शक्तिशाली रहिरहने खेलनै युवाहरूलाई भुल्याईदैछ ।
म माथि उल्लेख गरिएका ती युवाहरूलाई भेट्दा भन्ने गर्छु– तपाईहरूका पार्टीका नेताहरू नै पथभ्रष्ट बन्ने लहरमा देख्छु अनि तपाईहरू आदर्शको राजनीति र राजनीतिमा आदर्श पात्रको खोजीमा हुनुहुन्छ, यो सम्भव होला ?

उनीहरूले हारेका छैनन् र हार्न पनि चाहँदैनन् र भन्छन्–कालो बिना सेतोको अस्तित्व पनि त हुँदैन । अनि आफैले आफैलाई सोध्छु– आदर्श पात्रको महाअनिकालमा, राजनीतिमा अब आदर्श पात्रको जन्म र उपस्थिति सम्भव छ ? मेरो मनले भन्छ–छ, किन छैन, हिजोका आदर्श पात्र लाग्नेहरू नै आज कुरुप, विरुव र बौरुपी हुनसक्छन् र बन्छन् भने नयाँ आदर्श पथमा राजनीतिलाई हाँक्ने पात्रको जन्म पनि त असम्भव छैन ।
इतिहासलाई अलिकति फर्केर हेर्दा नेपालको समुच्च परिवर्तनका सम्वाहक युवा नै थिए । पटके आन्दोलनबाट त्यो पङ्तिले फगत पायो आश्वासन, वेरोजगारी, दिशाहीन गन्तव्य र नेतृत्वको जाली भाषण । नेतृत्वले पायो पटके सत्ताको स्वाद । पार्टीको नेतृत्व केही नेताको पिताजीको अंश जस्तो भयो । गुटगत स्वार्थको सेन्डिकेटमा पार्टीको नेतृत्व चल्ने विकृति कुसंस्कारको विकास भयो । र, युवाहरूलाई चुनावी हतियारको रुपमा प्रयोगमा मात्र ल्याइयो, उनीहरूको नेतृत्व गर्ने नयाँ सोच र चिन्तनलाई नेताहरुको खल्तीमा राखियो । क्षमता र अवसरलाई सदाका लागि नाकाबन्दी गरियो र युवा नेतृत्वलाई हनुमान बनाइयो ।

त्यतिमात्र होइन सचेत र नविन सोच भएका युवाहरूलाई सङ्गठित हुन दिइएन । उनीहरूलाई विभिन्न अवसर र प्रलोभनको सकुनी पासा फ्याँकेर आ—आफ्ना गुट र झुण्डमा कैद गरियो । विगतको आदर्शलाई चितामा पोलियो र शब्दजालद्वारा उनीहरूको तिखो विचारमाथि मन्दविष घोप्ट्याइयो । फेरि पनि माथिका दुई प्रतिनिधि पात्रहरू जस्तै एउटा युवा समूह निस्पट्ट अन्धकारमा उज्यालोको खोजीमा छ । निरासा भित्रबाट आशा जगाइरहेछ, अन्त्यबाट सुरु खोज्दैछ । भनौन–एउटा उराठिलो अक्करे भीरमा सुन्दर बगैचाको परिकल्पनामा जुटिरहेको छ एउटा तप्का ।

एकातिर हिजो आदर्शका पात्र ठानेर नतमस्तक राजनीतिको दहमा होमिएको एउटा तप्का सम्पूर्ण राजनीतिबाटै निरासा, कुण्ठा र आव्रmोसको भूँमरीमा हराइरहेको छ भने त्यसैभित्रबाट अर्काे तप्का आदर्शका पात्रको खोजीमा छ अनि विगतमा आदर्श पात्र ठानिएको नेतृत्व पथभ्रष्ट राजनीतिको जाली बाटो दौडिरहेको छ । विचार, सिद्धान्त र सादा जीवन बोकेको नौटङ्गी रचेर दुनियाँलाई भ्रमको तुवाँलोमा जाल हानिरहेकाहरु सुस्तरी घृणाका पात्र प्रतित हुँदैछन् ।

राजनीति अर्थात पार्टी नेतृत्वमा आदर्शताको पक्षमा रहेर नेतृत्व तहमा आदर्श पात्र खोज्ने मैले नजिकबाट चिनेका काङ्ग्रेस भनिने मित्रसँगको भेटमा भर्खरै उनले भनेका थिए–हिजो, अस्ती म नेविसङ्घको राजनीति गर्दा नेता र नीतिबीचको तादम्यता देख्ता गर्व लाग्थ्यो । मुख्यतः नेताको बोली र व्यवहारले नै आदर्श पात्रको परिचय बन्दो रहेछ । हामी आफ्नो कार्यव्रmम आफ्नै पकेट खर्चबाट गथ्र्याै, नेताहरूसँग खर्च माग्न जाने कुरै हुँदैनथ्यो तर अहिले स्थिति ठ्याक्कै उल्टो छ, एउटा सानो कार्यव्रmमका लागि पनि नेतामै भर पर्ने र नेताले दिनुपर्ने परिपाटी बन्न पुग्यो ।
काङ्ग्रेसका मित्र मात्रै होइन कम्युनिष्ट मित्रको भनाई पनि समान छ । हिजो अस्ती एउटा भेटमा उनले भनेथे–नेताले कार्यकर्तालाई दिने खर्च नेतालाई कहाँबाट आउँछ ? कुनै नेताले आफ्नो अंशबाट त कार्यकर्ता खर्च दिदैनन् होला, यो तात्कालिक रुपमा समस्याको समाधान भए पनि यसलाई निको मान्न सकिदैन ।

यी दुई कथनबाट यो बुझिन्छ कि उपल्लो नेतृत्वको प्रलोभनको एउटा तल्लो तहसम्म विद्यमान छ । जसरी हरेक पार्टीमा माथिदेखि तलसम्म गुटको खेती छ, दलका नेताहरूको जब आदर्श विचलन हुन्छ अनि निजी स्वार्थको जगजगी हुन्छ तब नेतृत्व भ्रष्टिकरण उन्मूख हुन्छ र त्यो पार्टी, पार्टी नभएर चाटुकारहरूको चौतारो हुन्छ । फेरि पनि हारभित्रै जीत खोज्ने जिउँदा पात्रहरू त कतै न कतै रहन्छन् नै ।

बेइमानहरूको भीडमा पनि ईमानजमान हुनेहरू रहन्छ । यसर्थ दुई मित्रहरू जो अहिले पनि राजनीतिमा आदर्श पात्र खोजिरहेका छन् र स्थापित गर्न चम्केका छन् । निजी स्वार्थ र मस्तीका लागि राजनीतिको बर्काे ओडेर विचार, सिद्धान्त र आदर्शको जामा देखाउँदै अन्ततः हुने नै घृणाको पात्र हुन् । परन्तु, नविन स्रोत, नयाँ चिन्तन र सादा जिवनको समुच्च रुप नै राजनीतिमा आदर्श पात्रको सक्कली परिचय हो । यसर्थ आज र अहिले नै त यो संभव नहोला तर एकदिन फेरि ती नै आदर्शको पथ पछ्याउनेहरूनै नेपाली राजनीतिमा सतिसाल झैँ उभिनेछन् । त्यसैले त शब्दका बेर्नाहरूबाट जन्मनेछन् ।
तिनै आदर्श वाक्यहरू–
‘नथाकौँ साथी कुनै साँझमा
आउने छ त्यो दिन हाम्रै माझमा’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: