खोलाको ठेक्का सम्झौता रद्द गर्न ठेकेदारको माग

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार १५:५५


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगरमा नदीजन्य पदार्थ संकलन तथा बिक्री व्यवस्थापनको ठेक्का लिएको विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रालि इटहरीले लकडाउनको बहाना देखाएर ठेक्का सम्झौता रद्द गर्न माग गरेको छ ।

शुक्रबार मेचीनगर नगरपालिकामा प्रालिका सञ्चालक भीमबहादुर पौडेलको हस्ताक्षरित निवेदन दिएर लकडाउनको बहाना देखाएर ठेक्का सम्झौता रद्द गर्न माग गरेको हो ।

ठेकेदार पौडेलको हस्ताक्षरित निवेदनमा लकडाउनका कारण सवारी साधान चलाउन नसक्ने भएकाले ठेक्का सम्झौता रद्द गर्न अनुरोध गरेका छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले ठेक्का सम्झौता रद्द गर्न नसकिने बताइन् । उनका अनुसार यहि जेठ १५ मा ठेक्काको म्याद सकिदैँछ ।

‘लकडाउनका कारण ठेक्काको म्याद १५ दिन अर्थात जेठ महिनासम्म कायम गर्न सकिन्छ’, उपप्रमुख उप्रेतीले भनिन्–‘तर, त्यो भन्दाबढी बढाउन मिल्दैन ।’

मेचीनगर नगरपालिकाले २०७६ मङ्सीर २ गते नदीजन्य पदार्थ संकलन तथा बिक्री व्यवस्थापनको ठेक्का विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रालि इटहरीका सञ्चालक पौडेललाई ४ करोड ३३ लाख ३३ हजार रुपैयाँमा दिएको थियो ।

उक्त मुल्यमा जिल्ला समन्वय समिति झापाले आईई गरेको मेची, टिमाई, निन्दा र हडीया खोलाबाट २ लाख १६ हजार ६ सय ६५ घन मिटर नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का सम्झौता भएको थियो ।

२०७६ मङ्सीर ५ गतेको नगर कार्यपालिकाको वैठकले ठेक्का दिने स्वीकृत गरेको थियो ।

नगरपालिकाले ठेकेदारसँग २०७६ मङ्सीर १७ गते पहिलो किस्ता १ करोड ४४ लाख ४४ हजार, दोस्रो किस्ता १ करोड ४४ लाख २०७६ माघ मसान्तमा र तेस्रो किस्ता बापतको २०७६ चैत मसान्तमा १ करोड ४४ लाख ४३ हजार रुपैयाँ लिने गरिको सम्झौतामा उल्लेख छ ।

तर, ठेकेदार पौडेलले सम्झौताको आधा रकम मात्र बुझाएको छ ।

ठेकेदार पौडेलले लकडाउनका कारण खोलामा ट्रक, टिपर चलाउन नसक्ने भएकाले ठेक्का रद्द गर्न निवेदन दिएको बताए ।

उनले २ करोड ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको र अब २ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको दावी गरे ।

‘जेठ १५ गते ठेक्का सकिदैँछ’, ठेकेदार पौडेलले भने–‘८५ हजार घन मिटर मात्र खोलाबाट नदीजन्य पदार्थ निकालेको छु ।’ त्यसैले जति निकाले त्यतिकै हिसाव गरेर ठेक्का रद्द गर्न आग्रह गरेको हो ।’

अर्को वर्षको ठेक्कामा मिलाउने गरिको अहिलेको सम्झौता रद्द गरे लकडाउनले मलाई पनि राहत मिल्ने उनको भनाई छ ।

गतवर्ष पनि करिव ५ करोडको सम्झौतामा ३ करोड जति घाटा लागेको उनले बताए ।

उपप्रमुख उप्रेतीका अनुसार खोलाको ठेक्काको प्रदेश र स्थानीय सरकारको ६०÷४० दररेट छ । ठेकेदारबाट प्राप्त भएको रकम मध्ये प्रदेश सरकारले करिव डेढ करोड रुपैयाँ लगिसकेको उनको भनाई छ ।

‘ठेकेदारलाई केहि दिनको समय दिन्छौँ’, उपप्रमुख उप्रेतीले भनिन्– सम्झौता रद्द नगर्न आग्रह गछौँ । यति गर्दा समेत मानेनन् भने कानुन अनुसार हुन्छ ।’

यसै विषयमा आज दिउसो ५ वजे ठेकेदार र उनका प्रतिनिधिसँग नगरपालिकाको छलफल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: