खोलाको पानी पिउँछन् तिम्सिनेबासी

  प्रकाशित मिति
२३ चैत्र २०७४, शुक्रबार १०:५५



मेचीनगर । खानेपानी संस्थाहरुले सर्वसुलभ रुपमा स्वच्छ पानी पुर्याउने योजना आफ्ना प्रतिवेदनमा समेटेका हुन्छन् । अझ खानेपानी विस्तारलाई संस्थाहरुले प्रमुख प्राथमिकतामा राखेका छन् । तर, मेचीनगरकै एक वडाका बासिन्दा खानेपानीबाट बञ्चित छन् । मेचीनगर–३ तिम्सिनेका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य छन् ।

उनीहरु विकट जिल्लाको नागरिक भन्न बढी रुचाउँछन् । त्यसको कारण हो, पिउने पानीको चरम अभाव । वर्षौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका उनीहरु खोलाको पानी खान पिइरहेका छन् ।

‘१५÷१६ बर्ष अगाडि भालुखोप खानेपानीबाट पानी बहुत दुःखले आउँथ्यो, अहिले बन्द छ,’ स्थानीय तिलक राईले भने, ‘अहिले हामी खोलाको पानी खाँदैछौँ ।’
स्थानीय करिब तीन किलोमिटर टाढा रहेको निन्दा खोलाबाट गाग्रीमा पानी भरेर ल्याउने गरेका छन् । निन्दा खोला लास जलाउने घाट पनि हो । ‘पानी दूषित त छ नि,’ उनले भने, ‘वारि लास जलाउँदा पारिबाट अनि पारि लास जलाउँदा वारिबाट पानी ल्याएर पनि खानु परिरहेको छ ।’

शुद्ध पिउने पानीको व्यवस्था नहुँदा तिम्सिनेका १४ घर परिवार खोलाको दूषित पानी पिउन बाध्य भएका हुन् । तिम्सिनेका स्थानीयले यो समस्या भोगेको बर्षौँ भइसक्यो । तर, समस्याको समाधान भने आजसम्म हुन सकेको छैन । न त साविक बाहुनडाँगी गाविसले नै समस्या समाधान गरिदियो न त अहिले मेचीनगर नगरपालिकाले समस्या समाधानमा तदारुकता देखाएको छ । दूषित पानीले हामीहरुको आयु छोट्याउँदै लगेको स्थानीय देव नेपालले बताए ।

पानी ल्याउने ठाउँ वरपर लास जलाएको दाउराहरु छरपस्ट छरिएका छन् । तर, विडम्बना उनीहरुसामु लास जलाउने स्थान भनेर जान्दाजान्दै पनि त्यो दूषित पानी पिउनेभन्दा अन्य विकल्प छैन । ‘चुरे क्षेत्र भएकाले ट्युबेल समेत गाड्न सकिदैन,’ नेपालले भने, ‘हामीलाई जतिसक्दो चाँडो शुद्ध खानेपानीको व्यवस्था गरिदिनु प¥यो ।’

मेचीनगर उपप्रमुख मीना उप्रेतीले समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिएकी छन् । मेचीनगरले यसलाई गम्भीर रुपमा लिएको भन्दै उनले भालुखोप खानेपानी आयोजनालाई विस्तार गरेर त्यहाँ खानेपानी पु¥याउने प्रतिबद्धता जनाएकी छन् ।

आफुहरुले खानेपानीसँग सम्बन्धित व्यक्तिहरुलाई बोलाएर अन्तरक्रिया गरेको र सो भालुखोप खानेपानी आयोजनालाई स्तरोन्नति गरेर त्यहाँ खानेपानी पु¥याउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: