‘खोलानाला जिससको पेवा हो ?’

  प्रकाशित मिति
१६ जेष्ठ २०७५, बुधबार १०:१७


मेचीनगर । मेचीनगरका खोलानालामा जिल्ला समन्वय समिति (जिसस)ले नगरपालिकालाई उत्खनन गर्न रोक लगाएको भन्दै मेचीनगरका राजनीतिक दल आक्रोशित भएका छन् ।

‘के सबै खोलानाला जिससको पेवा हो र ?’, नगरका प्रमुख दलका नेताहरुको साझा सोधाई छ–‘नत्र भने जिससले नगरपालिकालाई खोलाबाट निस्कने गिटी बालुवा उत्खनन गर्न किन बाधा पुर्याउँछ ?’

कानूनतः खोला उत्खननको अधिकार जिसस झापाले पाएको छ । यो अधिकार जेठ मसान्तसम्मलाई कायम छ । जेठ मसान्तपछि सरकारले खोला उत्खनन बन्द गर्दै आएको छ ।

तर आफुलाई पुग्दो ढुङ्गा बालुवा निकालिसकेको जिससले जेठ १५ गतेदेखि मेचीनगर नगरपालिकालाई उत्खननका लागि अख्तियारी पत्र प्रदान गर्ने आश्वासन दिदै आएको थियो ।

त्यो आश्वासन जिसस झापाले पूरा गरेन । बरु जेठ ११ गतदेखि लागू हुने गरी भन्दै जिससले लोकतन्त्र पोस्ट दैनिकमा सूचना प्रकाशित गरी कसैलाई पनि खोलामा उत्खननका लागि नपस्न उर्दी जारी गर्यो ।

जिससले पूर्व सहमति विपरीत मेचीनगरलाई हेप्ने खालको काम गरे पछि मङ्गलवार नगरका प्रमुख विमल आचार्यले सर्वदलीय बैठक डाके ।

बैठकमा सहभागी स्थानीय दलका प्रतिनिधिहरुले ‘जिससले दादागिरी शैलीमा मेचीनगरका खोलानालाको दोहन गरेको’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसै साता जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगर नगरपालिकाको कार्यालयमा आयोजित सर्वदलीय बैठकमै आएर मेचीनगर नगरपालिकालाई जेठ १५ देखि खोला उत्खनन गर्न पाउने गरी अनुमति पत्र दिने प्रतिबद्धता जनाएको नगर प्रमुख विमल आचार्य बताउँछन् ।

‘नगरपालिकालाई अधिकार पत्र दिने सहमति गरेर जानु भएका जिसस प्रमुखले केही दिनपछि कसैले पनि उत्खनन नगर्नु भन्दै सूचना जारी गर्दा हामी छक्क परेका छौँ’, सर्वदलीय बैठकमा जिससप्रति कडा रुपमा प्रस्तुत हुँदै प्रमुख आचार्यले भने–‘मेचीनगरका जनताको निर्माणको काम रोकिन दिदैनौँ, अब नियम बनाएर आफै उत्खनन थाल्छौँ ।’

‘नगरका बाटो र नगरवासीका घर निर्माणका काम रोकिन्छन्, खोला उत्खननको अधिकार दिनु पर्यो नि भनेर मैले एलडीओ सावलाई अनुरोध गरेको थिएँ’, नगर प्रमुख आचार्यले जिल्ला समन्वय अधिकारी खेम ओझासँग भएको कुराकानीको प्रसङ्ग सुनाउँदै भन्नु भयो–‘उहाँले सीधै भन्नु भयो–खोलामा गएर उत्खनन गर्न पाउनु हुन्न, ठेकेदारहरुले स्टक राखेको माल किनेर लैजाँदा भैहाल्यो नि ।’

सर्वदलीय बैठकमा सहभागी प्रदेश सांसद गोपाल बुढाथोकीले ठेक्काको बहानामा मेचीनगरका खोलानालामा भएको दोहन रोक्न गुहार माग्दा आफुले प्रशासन र मिडिया समेतबाट सहयोग नपाएको गुनासो व्यक्त गरे ।

नगरकी उपप्रमुख मीना उप्रेतीले तोकिएको मात्रामा उत्खनन भइसकेको हुँदा नगरपालिकाले फेरि त्यही ठाउँमा उत्खनन गर्यो भने अख्तियारले समात्छ भनेर जिससले नगरपालिकालाई डर देखाएको बताइन् ।

दलका नेताहरुले जिससको आशा नगरी स्थानीय सरकारको रुपमा अधिकार प्रयोग गरेर नगरपालिका आफैले नियम बनाएर खोला उत्खनन खुलाउन मेचीनगरलाई सुझाव दिएका छन् ।

‘घर र बाटो निर्माणको बेलामा ठेकेदारले स्टक राखेका सामान तेब्बर दाममा किन् भन्नु जिससको दादागिरी हो’, सङ्घीय समाजबादी फोरमका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले बैठकमा प्रश्न गर्दै भने–‘सीडीओ, एलडीओ र एसपी को हो हाम्रो स्थानीय सरकारलाई रोक्ने ? तपाईहरु स्थानीय सरकारको अधिकार प्रयोग गर्नुहोस्, जेल जानु पर्यो भने पब्लिक पनि तपाइँहरु सँगै जान तयार छन् ।’

नेकपा मेचीनगरका नेता माधव अर्यालले जिससले नगरपालिकालाई उत्खनन अधिकार पत्र नदिएर गल्ती गरेको बताए ।

‘स्थानीय सरकार भनेको के हो, हामी आफ्नो अधिकार प्रयोग गर्न डराउने कि अघि बढ्ने ?’, नगरपालिकालाई खोला खुलाउन आग्रह गर्दै राप्रपा मेचीनगरका अध्यक्ष सुशिल आचार्यले भने–‘द्वन्द्व निम्ताइएको हो भने सामना गर्न सबै राजनीतिक दलहरु एकजुट भएर तयार हुनु पर्छ ।’

नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति मणि उप्रेतीले खोला खुलाएर उत्खनन गर्नका लागि निश्चित ठाउँ तोकिदिनु पर्ने र त्यसको अनुगमन नगरपालिका आफैले गर्नु पर्ने सुझाव दिएका छन् ।

बैठकमा नेकपा मेचीनगरका नेता डिल्लीराम घिमिरेले नगरपालिकाले खोला खुलाएर उत्खनन गर्दा कसैले अवरोध खडा गर्यो भने त्यसको साझा प्रतिकार गरिने चेतावनी दिए ।

वडाध्यक्षहरुले समेत नगरपालिकाले आफ्नै नीति बनाएर खोला उत्खनन गरेर नगरको विकास निर्माण र नगरवासीको सुविधाका लागि कदम चाल्नु पर्ने आवश्यकता औल्याएका छन् ।

वडा नं. १३ का वडाध्यक्ष कृष्ण सिग्देलले खारेज हुन लागेको जिल्लाका कार्यालयहरुको पछि लुरुलुरु कुद्न जरुरी नरहेको भन्दै स्थानीय सरकारको हैसियत जिल्लालाई देखाइदिनु पर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश सांसद् गोपाल बुढाथोकीले जिल्ला प्रशासन, प्रहरी र जिसससँग समन्वय गरेर काम गर्दा सहज हुने सुझाव दिए ।

सर्वदलीय बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी र विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: