खोला उत्खनन अधिकार अब नगरपालिकालाई

  प्रकाशित मिति
११ जेष्ठ २०७५, शुक्रबार १५:३०


मेचीनगर । मेचीनगर नगरपालिकाले स्थानीय खोलाहरुको ढुङ्गा र बालुवाको उत्खनन अधिकार आफ्नो हातमा लिने भएको छ ।

हालसम्म जिल्ला समन्वय समिति झापामा जिल्लाभरिका सबै खोलाको ढुङ्गा र बालुवाको उत्खनन गरी विक्री गर्ने अधिकार थियो ।

‘हाम्रो नगरभित्रको खोलानालाको स्रोतमाथि अब आफै उपयोग गर्ने नीति लिएका छौँ’–मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले भने ।

विहीवार जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र संविधान सभाका सदस्य रविन कोइरालाको उपस्थितिमा मेचीनगर नगरपालिकामा सर्वपक्षीय बैठक बसेको थियो ।

सो बैठकले जिल्ला समन्वय समितिसँग खोलाको स्रोत साधन उपयोगको सम्पूर्ण अधिकार हस्तान्तरण गर्न नगरका तर्फबाट माग गर्ने निर्णय भएको थियो ।

नगर प्रमुख आचार्यका अनुसार सम्भवतः शुक्रवार जिल्ला समन्वय समितिले मेचीनगरलाई खोला उपयोग गर्न पाउने अधिकार प्रत्यायोजन सहितको पत्र दिने भएको छ ।

‘जिससको पत्र आइसकेपछि हामी बैठक बसेर खोलाजन्य बस्तुको उत्खनन र विक्री सम्बन्धी नयाँ नियम लगाउने छौँ’–नगर प्रमुख आचार्यले लोकतन्त्र पोस्टसँग भने ।
‘मेचीनगरको खोलाहरुको रेखदेख र संरक्षण अब नगरपालिका आफैले गर्ने’ भनेर विहीवारको बैठकले गरेको निर्णयमा उल्लेख छ ।

बैठकले वुधवार पक्राउ परेका ट्याक्टर, ट्रि«पर र स्काभेटर न्यूनतम प्रक्रिया पूरा गरेर छाडिदिन जिससलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।

नगर उपप्रमुख मीना उप्रेतीले हाल ठेकेदारहरुले विभिन्न स्थानमा थुपारेका ढुङ्गा र बालुवाको बैधानिकता सम्बन्धमा नगरपालिकाले छानविन गर्ने बताएकी छन् ।

‘जिससबाट प्रक्रिया पूरा गरेको रहेछ भने ठिकै छ’, उपप्रमुख उप्रेतीले भन्छिन्–‘यदि विना अनुमति ढुङ्गा बालुवा थुपारिएको हो भने कार्वाही गरिने छ ।’

नगरपालिकाले विभिन्न स्थानमा स्टक गरिएका ठूलो मात्राको खोलाजन्य वस्तुमा समेत कर लगाउने तयारी गरेको छ ।
विगतमा नेपाल सरकारले नै असारदेखि भदौसम्म खोला उत्खनन बन्द गराउँदै आएको थियो । नगरपालिकाले आफुले उत्खनन अनुमति दिए पनि अब जेठभरि मात्र त्यस्तो उत्खनन गर्न पाइने छ ।

तर नगरपालिकाले आम्दानी बढाउन र नगरका कतिपय विकास निर्माणका परियोजनमा अवरोध पुग्न नदिन बर्खामा पनि खोला उत्खनन खुलाउने सम्भावना पनि छ ।

अबदेखि नगरपालिकाको अनुमति बेगर कसैले पनि खोला उत्खनन गर्न नपाउने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: